site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
लोगो फेरिएर ‘एक्स’ बन्यो ट्विटर : अब ‘सुपर एप’

काठमाडौं । एलन मस्कले ट्विटरको लागो परिवर्तन गरेका छन् । ट्विटरको ट्विटर ह्यान्डलमा चराको ठाउँमा एक्स राखिएको हो । ट्विटरमा रहेको चराको फोटो पनि आजै परिवर्तन गरिने मस्कले ट्विट गर्दै जानकारी दिएका छन् ।

मस्कले एक्स डटकम वेबसाइट खोल्दा ट्विटर डटकम खुल्ने भइसकेको पनि बताएका छन् । ट्विटर कम्पनीलाई खरिद गरेपछि मस्कले एक्स कर्प कम्पनीका रूपमा रिब्रान्डिङ गर्न खोजेका छन् । सोहीअनुसार लोगो परिवर्तन र एक्स डककम खोल्दा ट्विटर डटकम खुल्ने बनाइएको हो ।

ट्विटरकी सीईओ लिन्डा याकारिनोले ‘एक्स असीमित अन्तरक्रियात्मकता’को भविष्य बन्ने बताएकी छन् । ट्विटरमा उनले लेखेकी छन्, “अडियो, भिडियो, सन्देश, भुक्तानी/बैंकिङमा केन्द्रित– एक्स विचार, वस्तु, सेवा र अवसरको लागि विश्वव्यापी बजार बन्नेछ । एआईबाट सञ्चालित एक्सले हामी सबैलाई कल्पना गर्न थालेअनुसार एकै ठाउँमा ल्याउनेछ ।”

Argakhachi Cement Island Ad

उनले अर्काे ट्विटमा भनेकी छन्, “जीवनमा वा व्यवसायमा अर्को ठूलो प्रभाव पार्ने दोस्रो मौका पाउनु असाधारण र दुर्लभ कुरा हो । ट्विटरले ठूलो प्रभाव पार्‍यो र हामी सबैले सञ्चार गर्ने तरिका नै परिवर्तन गर्‍यौँ । अब ग्लोबल टाउन स्क्वायरलाई रूपान्तरण गर्न एक्स अघि बढ्नेछ ।”

मस्कले हिजो नै ट्विट गर्दै यसको लोगो फेरिने बताएका थिए । मस्कले ट्विटरलाई सबै काम एउटैबाट गर्न सकिने ‘एभ्रिथिङ वा सुपर एप’का रूपमा विकास गर्न खोजेका छन् ।

पेपालमा महत्त्वपूर्ण भूमिका निभाएका मस्कले अन्तरिक्ष अन्वेषणलाई सहज बनाउने उद्देश्यले स्पेसएक्सको स्थापना गरेका थिए । त्यसपछि विश्वमा विद्युतीय गाडीको क्रान्ति ल्याउन मस्कले टेस्लामा लगानी गरेका थिए ।

च्याटजीपीटीजस्तो प्रडक्ट ल्याउने ओपनएआई, बोरिङ कम्पनी र मानव मस्तिष्कमा चिप जडान गर्न अग्रसर न्युरालिंकको स्थापना पनि मस्कले गरेका थिए । विश्वभर र खासगरी दुर्गम क्षेत्रमा सहज इन्टरनेट दिन स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिंकको स्थापना पनि गरेका मस्कले गत वर्ष ट्विटर खरिदका गरेका थिए ।

विश्वभर प्रभावशाली संस्थाहरूको नेतृत्वकर्ता मस्कले ट्विटरको रिब्रान्डिङ गरिरहेको विषयलाई केही आलोचकबाहेक अरू व्यक्तिहरूले सकारात्मक रूपमा हेरेका छन् ।

खासगरी सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनपछिको समयमा ट्विटरमा स्वतन्त्र अभिव्यक्तिलाई अझै बढी प्राथमिकता दिन आवश्यक रहेको भन्दै मस्कले कम्पनी खरिद गर्ने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्