site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
अहिले कलाकारमा स्टार पावर छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । अनमोल केसीको अन्तिम चलचित्र ‘छड्के–२’ बक्सअफिसमा चलेन । प्रदीप खड्का अभिनीत ‘प्रकाश’ले अपेक्षित बक्सअफिस कलेक्न गरेन । धीरज मगरको ‘ज्याकी आई एम २१’ चलेन । साम्राज्ञी आरएल शाहको ‘ह्यारी कि प्यारी’ पनि बक्सअफिसमा चलेन । त्यसो भए नेपाली चलचित्र उद्योगमा कोही स्टार छैन ?

‘छैन’, कलाकार, निर्देशक, निर्माता तथा वितरक समेत रहेका अशोक शर्मा एकै शब्दमा जवाफ दिन्छन् । स्टार पावर भएको कलाकार नहुनु समग्र नेपाली चलचित्र उद्योगकै लागि दुर्भाग्य भएको उनको बुझाइ छ । समग्र सिनेमा उद्योगलाई घाटामा जान नदिन स्टार पावर भएको कलाकार आवश्यक रहेको अशोक बताउँछन् ।

५० को दशकको अन्तिमसम्म नेपाली चलचित्र उद्योगमा पनि स्टार पावर भएका कलाकार थिए । राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, विराज भट्ट, रमेश उप्रेती, करिष्मा मानन्धर, निरुता सिंह, रेखा थापा, विपना थापालगायत कलाकारमा स्टार पावर रहेको अशोक स्मरण गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“यी कलाकारको टाउको पोस्टरमा देख्नेबित्तिकै दर्शक उनीहरूलाई नै हेर्न भनेर हलसम्म पुग्थे,” अशोक भन्छन्, “सिनेमा कस्तो छ, के छ, कथावस्तु के छ त्यो आफ्नो ठाउँमा छ, तर पोस्टरमा उनीहरूलाई देख्नेबित्तिकै सुरुको दुई/तीन दिन ठूलो संख्यामा दर्शका हलमा आउने समय थियो ।”

स्टार पावर भएको कलाकार नहुनु दुर्भाग्य भएको अशोक बताउँछन् । स्टारले खेलेका सबै सिनेमा राम्रो हुन्छन् भन्ने हुँदैन । तर, कलाकारमा स्टार पावर नभए निर्माताको लगानी सुरक्षित हुने सम्भावना धेरै हुने उनको भनाइ छ ।

Global Ime bank

स्टारका सिनेमा हेर्न सुरुका दुई/तीन दिन ठूलो संख्यामा दर्शक आउने भएकाले इनिसियल बिजनेस हुने र त्यसले लगानी सुरक्षित गर्न ठूलो भूमिका खेल्ने उनको धारणा छ ।

अहिले सिक्वेल नै स्टार पावर भएको अशोक बताउँछन् । चलेको सिनेमाको सिक्वेल आए मात्र चल्ने गरेको उनको भनाइ छ ।

“वास्तवमा अहिलेको स्टार पावर भनेको सिक्वेल हुन् । अहिले पहिला जुन सिनेमा हिट भएको छ, त्यसको सिक्वेल आयो भने चल्छ । त्यो पनि स्टारको पावरले चलेको होइन, ब्रान्ड मात्रै चलेको हो,” अशोक भन्छन्, “यस्तो दुर्भाग्य छ, कुनै कलाकारलाई लिएपछि यो सिनेमा चल्छ भन्ने ढुक्कले भन्न सक्ने अवस्था छैन । यो कलाकार लिएको छु, त्यसैले यति व्यापार गर्छ भनेर भन्न सक्ने अवस्था छैन ।”

त्यसैले उनी भन्छन्– स्टार पावर सकियो । यो हाम्रो सिनेमा उद्योगका लागि दुःखद हो ।

अहिले कन्टेन्ट र सिक्वेल मात्र चलिरहेको उनी सुनाउँछन् । केही सिनेमा चलिरहेका र ती चल्नुको कारण कलाकारको स्टार पावर नभई कन्टेन्ट भएको उनको तर्क छ ।

अहिले नेपाली सिने बजारमा ‘कबड्डी’, छक्कापञ्जा’, ‘जात्रा’का सिक्वेलले राम्रै आम्दानी गरेका छन् । तर, यी चलचित्रमा काम गरेका कलाकारले अभिनय गरेका अरू सिनेमा चलेका छैनन् । फ्लप छन् । यसले नेपाली कलाकारमा स्टार पावर छैन भन्ने पुष्टि गरेको अशोक बताउँछन् । “यसले नेपाली कलाकारमा स्टार पावर छैन भन्ने पुष्टि गर्छ, जुन हाम्रो लागि राम्रो संकेत होइन,” अशोक भन्छन् ।

उनको बुझाइमा दर्शक ‘स्मार्ट’ भइसकेका छन् । अब पोस्टर होइन, टिजर र ट्रेलर हेरेर सिनेमाबारे मूल्यांकन गर्छन् । त्यसपछि मात्र दर्शकले सिनेमा हेर्ने/नहेर्ने निर्णय गर्ने उनी बताउँछन् ।

कुन फिल्म हेर्ने र कुन नहेर्ने पहिला नै दर्शक मानसिक रूपमा तयार हुन्छन् । “अहिले अनमोल, प्रदीप नै सिनेमामा छन् भने पनि उनीहरूलाई नै हेर्ने भनेर दर्शक हलमा जाँदैनन्, कन्टेन्ट नै राम्रो हुनुपर्छ,” उनी भन्छन्, “त्यसैले अहिलेको स्टार नै कन्टेन्ट र सिक्वेल हो ।”

स्टारले सिनेमा पाएनन् कि गरेनन् ?

चलचित्र ‘कबड्डी’मा दयाहाङ राई मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा’मा दीपकराज गिरी । दीपकराज गिरी हम्मेसी अरूको ब्यानरका चलचित्र गर्दैनन् । त्यसैले उनमा स्टार पावर छ वा छैन वास्तवमा परीक्षण नभएको अशोक बताउँछन् । तर, दयाहाङका थुप्रै चलचित्रले बक्सअफिसमा उल्लेख्य व्यापार गर्न सकेका छैनन् । विपीन कार्कीको पनि ‘जात्रा’बाहेक उल्लेख्य व्यापार गर्ने चलचित्र छैनन् ।

कुनै एउटा सिनेमा वा त्यसको सिक्वेल चलेकै भरमा कसैलाई स्टार भन्न नमिल्ने निर्देशक नरेशकुमार केसी बताउँछन् । अहिलेको समयमा स्टार पावर कायम राख्न कठिन रहेको उनको बुझाइ छ । इन्टरनेटले विश्व नै सानो गाउँमा परिणत भइसकेकाले दर्शकसामु धेरै विकल्प रहेको उनको भनाइ छ ।

विकल्प धेरै हुँदा दर्शक बाँडिने र त्यसको असर सिनेमाका कलाकारमा पनि परेको उनको जिकिर छ । “अहिले दर्शकको हातहातमा रहेको मोबाइलमा इन्टरनेट छ, त्यहाँ उपलब्ध टिकटक, भिडियो भ्लगर, इन्स्टाग्रामका त्यति नै सेलिब्रिटी छन् । कति मान्छे टिकटक, भिडियो भ्लगर, इन्स्टाग्रामका सेलिब्रिटी छन्,” नरेश भन्छन्, “कति मान्छे उनीहरूका फ्यान छन् । पहिलाको जस्तो साँघुरो परिवेश छैन, ताकि मान्छे वर्षौं पर्खेर एक्टरको सिनेमा हेर्न जाओस् ।”

इन्टरनेटको विकास, विस्तार र यसमा सहज पहुँच स्थापित हुँदै जाँदा फ्यान बाँडिएको र त्यसको प्रभाव फ्यान, स्टार र स्टार पावरमा परिरहेको नरेश बताउँछन् । कलाकारले राम्रो कन्टेन्ट र टिम छान्न नसक्नु स्टार पावर ओरालो लाग्नुको अर्को कारण भएको उनको भनाइ छ ।

विश्वभरका अनेक कन्टेन्ट हातमा रहेको मोबाइलमै भेटिने समयमा अहिलेको पुस्ता कसैको डाइहर्ट फ्यान भएर नबस्ने तथ्यलाई भुल्न नहुनेमा उनको जोड छ । “आफैँ धेरै कुरा बुझ्ने र पहुँच राख्ने समयमा उसले हरेक कुरा नियालिरहेको हुन्छ । यस्तो अवस्थामा कसले के काम गरिरहेको छ, उसलाई थाहा हुन्छ,” उनी अगाडि थप्छन्, “वास्तवमा अहिलेको समय कुन कलाकारको चलचित्र कहिले आउँछ भनेर वर्षौं कुरेर बस्ने समय होइन ।”

आफ्नै तनाव र संघर्षमा रहेको अहिलेको पुस्ता कसैलाई फलो गरेर, कुरेर बस्ने अवस्थामा नरहेको नरेश बताउँछन् । “पढाइ, करिअर, बेरोजगारी, आर्थिक मन्दी, प्रतिस्पर्धा, जिम्मेवारीको बोझले थिचिएको अहिलेको पुस्तालाई एक त फुर्सद छैन, अर्को सयौँ प्लेटफर्ममा रहेका विभिन्न कन्टेन्ट हेर्छ,” उनी भन्छन्, “हाम्रो कलाकार, हाम्रो एक्टर भनेर कोही बस्दैन । त्यसमा पनि राम्रो काम भएन भने त्यसले स्टार पावर झन् क्षयीकरण गर्छ ।”

पछिल्लो समय युवापुस्तामा राम्रो क्रेज भएका भनिएका अनमोल केसी, प्रदीप खड्का, धीरज मगरले पनि चलचित्रमा राम्रो योगदान दिन नसकेको उनी बताउँछन् । “अनमोल, प्रदीप, धीरजले कति कन्ट्रिब्युसन दिएका छन् भन्ने कुराले पनि अर्थ राख्छ होला,” नरेश भन्छन्, “अहिलेको समयमा एभरेज काम गरेर एक्टर मात्र होइन, कुनै पनि सेक्टरमा आफूलाई स्टार बनाउन सकिँदैन ।”

नेपालमा मात्र होइन, पछिल्लो समय बलिउडमा पनि स्टार पावर नदेखिएको उनको भनाइ छ । ‘पठान’पछि कुनै पनि सिनेमाले बक्सअफिसमा राम्रो कलेक्सन गर्न नसकेको उनी सुनाउँछन् ।

“राम्रो कलेक्सन गर्न नसक्नु भनेको स्टारमा पावर छैन भन्ने नै हो । बलिउडमा एकपछि अर्को अपेक्षित चलचित्र पनि चलिरहेका छैनन्,” उनी भन्छन्, “स्टारका चलचित्रले पनि इनिसियल व्यापार राम्रो गर्न सकिरहेका छैनन् । यसको अर्थ त्यहाँ पनि स्टार पावर छैन कलाकारमा भन्ने हो ।”

बलिउड हंगामालाई दिएको एक भिडियो अन्तर्वार्तामा भारतका ट्रेड एनलाइसिस्ट तरण आदर्शले बलिउड अहिले आईसीयूमा रहेको बताएका थिए । लगातार सिनेमाले लगानी उठाउन नसक्दा चलचित्रमा खर्चिएको अर्बौं रुपैयाँ घाटा भएको उनले उल्लेख गरेका थिए । बलिउड स्टारकै चलचित्र पनि नचल्दा चलचित्र उद्योग आईसीयूमा पुगेको उनको टिप्पणी थियो ।

स्टार पावर नहुनुको कारण इन्टरनेट, सामाजिक सञ्जाल र त्यसका सेलिब्रिटीसँगै सिनेमा निर्माण टिम पनि एक भएको नरेश बताउँछन् । स्टार एक्लैले कहिल्यै राम्रो सिनेमा गर्न नसक्ने भन्दै उनी समग्र टिम नै उत्तम हुनुपर्नेमा जोड दिन्छन् ।

कन्टेन्ट र राम्रो टिम भने स्टार स्वयंले छान्न सक्नुपर्ने उनी बताउँछन् । तर, जतिसुकै राम्रो काम गरे पनि अब पहिलाको जस्तो कलाकारमा स्टार पावर सम्भव नरहेको उनको जिकिर छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC