काठमाडौं । केही वर्षयता अभिनेता दयाहाङ राई र विपीन कार्कीका सिनेमा बाक्लै रूपमा रिलिज भइरहेका छन् । वैशाख १ गते एकैदिन दयाहाङका दुई चलचित्र ‘जारी’ र ‘बिहे पास’ रिलिज भएका थिए । अहिले पनि दयाहाङ र विपीनलाई सुटिङको भ्याइ नभ्याइ छ । आउँदो एक वर्षका लागि उनीहरूको सुटिङ सेड्युल प्याक भइसकेको छ ।
तर, यही समय स्टारडम भएका भनिने अनमोल केसी, प्रदीप खड्का, धीरज मगर, सलिनमान बानियाँलगायत कलाकारका चलचित्र निकै न्यून संख्यामा आएका छन् । उनीहरूको सुटिङ सेड्युल पनि खुकुलो छ । सुटिङ सेड्युल प्याक नहुनु आउँदो वर्ष पनि उनीहरूको सिनेमाको संख्या कम हुनु हो ।
निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ स्टारका सिनेमा कम हुनुका विभिन्न कारण रहेको बताउँछन् । स्टारहरू अप्रोचेवल नहुनु, सिनेमाको जानरा फरक पर्नु, चुजी हुनुलगायत कारण भएको उनको भनाइ छ ।
हरेक चलचित्र उद्योगमा स्टार चाहिने तर नेपालमा अपेक्षित संख्यामा नरहेको उनी बताउँछन् । आफूहरू पनि अनमोल केसीसँग चलचित्र गर्ने सोचमा रहेको उनी सुनाउँछन् ।
“स्टार नेपालमा चाहियो, म त नेपालमा स्टार भएनन् अर्थात् थोरै भए भन्छु,” रवीन्द्र भन्छन्, “सिनेमा साइन गर्दै छोड्दै गर्नु पनि अर्को कारण हो । जति प्रोफेसनल हुनुपर्ने हो, त्यति नभएर पनि उनीहरूका सिनेमा कम भएको हुनसक्छ ।”
आएका अफरहरू छोड्दा पनि उनीहरूका चलचित्रको संख्या कम भएको उनको अनुमान छ । “अफर आएका मध्ये राम्रो स्क्रिप्ट छानेर खेल्नु राम्रो हो । तर, छानेर खेलेका सिनेमा पनि नचल्दा इन्डस्ट्रीलाई नै घाटा भइरहेको छ,” उनी भन्छन्, “आएका अफर स्वीकार गर्ने कि नगर्ने भन्ने दोधारमा रहँदा पनि अनमोल, प्रदीपलगायतका चलचित्रको संख्या कम भएको हो जस्तो लाग्छ ।”
दयाहाङ, विपीनलगायत कलाकारले भने आएका अफर भ्याएसम्म खेल्दा संख्या धेरै भएको रवीन्द्रको भनाइ छ । “धेरै फोटो खिच्दा एउटा न एउटा फोटो राम्रो आउँछ भनेजस्तै धेरै चलचित्र खेल्दा एउटा/दुइटा राम्रा चलचित्र निस्किन्छन्,” उनी अगाडि थप्छन्, “दयाहाङ, विपीनलगायतमा चलेको समयमा आर्थिक रूपमा सुरक्षित हौँ भनेर पनि धेरै खेल्नुभएको होला ।”
पछिल्लो समय रियालिस्टिक चलचित्र तुलनात्मक रूपमा बढी बनेको र त्यो जानराका नखेल्दा पनि स्टारका सिनेमा कम भएको निर्देशक प्रदीप भट्टराई बताउँछन् । “कस्तो सिनेमा खेल्ने, रियालिस्टिक सिनेमा खेल्ने कि लार्जर देन लाइफ चलचित्र मात्रै खेल्ने भन्नेमा सायद उहाँहरूमा ठूलो अन्तरद्वन्द्व हुन्छ जस्तो लाग्छ,” प्रदीप भन्छन्, “रियालिस्टिक सिनेमा खेल्दा भएको स्टारडम पनि जोगाउन सकिँदैन कि भन्ने भय उहाँहरूमा हुन्छ भन्ने लाग्छ ।”
लार्जर देन लाइफ सिनेमामा मात्र आफूलाई दर्शकले देख्न चाहन्छन् भन्ने सोच स्टारहरूमा हुने गरेका कारण क्यारेक्टरबेसमा खेल्न नरुचाउने उनको धारणा छ ।
प्रदीपको यो भनाइमा रवीन्द्र सहमत छन् । “अनमोल केसी, प्रदीप खड्का भन्नेबित्तिकै क्यारेक्टरबेसका सिनेमा गर्छन् होला र ? भन्ने मेकरले सोच्ने र त्यहीअनुसार अफर हुन्छ भन्ने लाग्छ । हामी नै अनमोलाई आफ्नो सिनेमामा लिँदा लार्जर देन लाइफ सिनेमा नै सोच्छौँ,” रवीन्द्र भन्छन् ।
नेपालमा कतिपय स्टारलाई अफर गर्दा उनीहरूले परिवार तथा टिमलाई सोध्ने र स्क्रिप्टदेखि नै आफ्नो इन्भल्भमेन्ट खोज्दा पनि समस्या भइरहेको रवीन्द्र बताउँछन् । आफैँ डिसिजन गर्न नसक्ने, हस्तक्षेप गर्ने गरिएकाले धेरैले स्टारलाई आफ्नो चलचित्रमा लिन नसकेको रवीन्द्र सुनाउँछन् ।
रियालिस्टिक सिनेमा बन्ने संख्या नै धेरै हुनु पनि मुख्य कारण हुन सक्ने प्रदीप बताउँछन् । “अनमोल, प्रदीप साँच्चै स्टार नै हन् । हामी सिनेमा इन्डस्ट्रीको मान्छेले त झन् उहाँहरूलाई स्टार मान्नैपर्छ । जति धेरै स्टार भयो, त्यति नै धेरै नेपाली सिनेमा उद्योग हरियाली हुने हो । त्यसले अन्ततः फाइदा नेपाली सिनेमा इन्डस्ट्री र हामी मेकरलाई नै हुने हो,” प्रदीप अगाडि थप्छन्, “कस्तो फिल्म खेल्ने, वर्षमा कतिवटा सिनेमा खेल्ने भन्ने कुराको प्रेसर पनि उहाँहरूलाई हुन्छ । स्टारडम कसरी बचाउने भन्ने प्रेसर उहाँहरूलाई हुन्छ । यसले पनि उहाँहरूको चलचित्रको संख्या कम भइरहेको हुन्छ ।”
जति धेरै स्टारडम हुन्छ, त्यति नै सुपरस्टारलाई सिनेमा छान्न गाह्रो हुने प्रदीपको भनाइ छ । “अफर असाध्यै धेरै आउँछ, तर डिसिजन गर्न सक्नु हुन्न भने उहाँहरूलाई कति पीडा होला,” प्रदीप भन्छन्, “कुन मेकरसँग काम गर्ने, कुन स्क्रिप्ट खेल्ने, कस्तो कथा रोज्ने, यो स्क्रिप्टमा सिनेमा खेल्दा नराम्रो भएर मेरो स्टारडम घट्ने पो हो कि भन्ने डर हुन्छ । खेल्दै नखेल्दा पनि कतिन्जेल नखेल्ने भन्ने दिमागमा अनेक द्वन्द्व हुन्छ ।”
अहिले रियालिस्टक सिनेमा तुलनात्मक रूपमा दर्शकले रुचाइरहेकाले पनि स्टार अभिनेता र अभिनेत्रीका चलचित्रको संख्या कम भएको प्रदीपको तर्क छ । समयको चक्र घुम्ने र स्टारका सिनेमा नै चल्ने दिन आउने उनको धारणा छ ।
“पहिला–पहिला राजेश हमालको समयमा उहाँहरू आए मात्रै पुग्थ्यो । अहिले कन्टेन्ट राम्रो हुनुपर्छ भन्ने होला । तर, सधैँ यही दिन रहन्छ भन्ने छैन । मलाई लाग्छ, स्टारको उपस्थितिले मात्रै सिनेमा चल्ने दिन फेरि आउँछ,” प्रदीप भन्छन्, “आज एकथरी मान्छे चल्छन्, भोलि अर्कोथरी मान्छे चल्छन्, यो चक्र चलिरहन्छ ।”
बलिउडमै लार्जर देन लाइफ हिरोको बोलावाला चल्ने सिनेमा बन्न थालिसकेको प्रदीप बताउँछन् । नेपालमा निखिल उप्रेती, विराज भट्टलगायत हिरोको पालामा बन्नेजस्तै सिनेमाको दिन पनि चाँडै आउनेमा उनी ढुक्क छन् ।
रियालिस्टक सिनेमा गर्न नेपाली स्टारहरू हिचकिचाउने गरेको उनको अनुभव छ । यद्यपि, प्रदीप खड्काले अघिल्लो वर्ष रियालिस्टिक सिनेमा ‘प्रकाश’मा अभिनय गरेका थिए ।
“रियालिस्टिक सिनेमा नगर्ने ? भनेर धेरै स्टारसँग कुरा गर्दा उहाँहरू– हामीलाई दर्शकले यस्तो सोचिरहनुभएको छ, उहाँहरूले परिकल्पना गरेजस्तो नदेख्दा भएको स्टारडम पनि खस्किने हो कि भन्ने डर उहाँहरूमा देखिन्छ,” उनी भन्छन्, “रियालिस्टक सिनेमा भन्नेबित्तिकै क्यारेक्टरअनुसार झुत्रेझाम्रे लुगा होला, कपाल जिङरिङ्ङ होला, तर यो रूपमा मलाई दर्शकले हेर्दैन कि भन्ने डर रहेको मैले देखेको छु ।”
यो भयलाई थाती राखेर रियालिस्टिक सिनेमामा पनि काम गर्न स्टारहरूलाई प्रदीपको आग्रह छ । यसले उनीहरूको करिअरसँगै स्टारडमलाई बुस्ट गर्न सक्ने उनी बताउँछन् । स्टारले रियालिस्टिक चलचित्रमा काम गर्दा क्यारेक्टरबेसका सिनेमा हेर्ने र लार्जर देन लाइफ मन पराउने दुवै दर्शक हलमा आउने सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ ।