site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

नेपाल सरकारले ‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४’ को दफा ११६ मा राजनीतिक प्रणालीसँग असहमत रही गरेको हिंसात्मक अपराधका मुद्दा फिर्ता लिन मिल्ने कानुनी प्रावधान थप गर्ने प्रस्ताव संसद्मा प्रस्तुत गरेको छ । त्यसको व्यापक विरोध भएको छ । 

विरोध हुनु स्वाभाविकै पनि हो । प्रस्तावित संशोधन यथावत् पारित भए नेपालमा दण्डहीनता कानुनीरूपमै संस्थागत हुनेछ । यद्यपि, कानुन नभए पनि अहिलेसम्म राजनीतिक आवरणमा अपराध गर्नेहरूले सत्ता र शक्तिका आडमा उन्मुक्ति भने पाइरहेकै छन् ।  

सामान्यतः विधिको शासन भन्नाले राज्य सञ्चालनमा कानुनको भूमिका सर्वोपरि हुने बुझिन्छ । सायद, यसैले अहिलेको सरकारले कानुनै बनाएर दण्डहीनतालाई पनि विधिको शासन भन्ने भाष्य बनाउन खोजेको हुनुपर्छ । तर, प्राकृतिक न्यायको सिद्धान्तविपरीतको कानुन वैध मानिदैन भने संविधानसँग बाझिएमा कानुन खारेजै हुन्छ ।

अहिले हिंसात्मक विद्रोह गरेर राजनीतिमा स्थापित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सरकार छ । माओवादीका केही नेतामाथि विभिन्न अपराधमा अदालतमा मुद्दा चलिरहेको छ भने अरू कतिपय मेलमिलाप आयोगको प्रक्रियाको प्रतीक्षामा छन् । 

अर्थात्, एउटै प्रकृतिको अपराधमा संलग्न भएका कतिपयले मेलमिलापको प्रक्रियाबाट उन्मुक्ति पाउने  र अरूलाई अदालतले सजाय गर्ने अवस्था छ । जनसाधारणका दृष्टिमा यो स्वाभाविक देखिए पनि माओवादी नेताहरूका लागि अपेक्षाकृत असहज अवस्था भएकाले सत्तामा हुँदा उन्मुक्तिको उपाय खोजिएको हुनसक्छ । 

परन्तु, राजनीतिक दलका कुनै नेता वा कार्यकर्ता कसैलाई अप्ठेरो पर्दैमा दण्डहीनतालाई नै वैधता दिने कानुन बनाउन खोज्नु उचित होइन । यस्तै नेपालको संविधानले पनि कुनै पेसा वा व्यवसाय अपनाउँदैमा कसैलाई अपराधबाट उन्मुक्ति दिने छुट दिएको छैन । 

जघन्य अपराध गरे पनि राजनीतिक आवरण दिएपछि सजाय नहुने कानुनी व्यवस्था सम्भवतः कुनै पनि लोकतान्त्रिक देशमा छैन । यसैले नेपालमा पनि यस्तो अनुचित र विधिको शासनको भाष्य नै बिगार्ने कानुन बनाउनु हुँदैन । संसद्मा पनि यसको पक्कै चर्कै विरोध हुनेछ । बनाउनै नहुने कानुन बनाएर शासन गर्न खोज्नु विधिको शासनलाई विकृत बनाउनु हो ।

कसैमाथि गलत अभियोगमा मुद्दा चलाइएको भए राजनीतिक आवरण नभए पनि सरकारले सत्य थाहा पाएपछि मुद्दा फिर्ता लिनुपर्छ । अपराधीलाई सजाय दिनुका साथै निरपराधलाई दण्डबाट जोगाउनु पनि राज्यको दायित्व हो । अर्थात्, दण्डहीनतालाई संस्थागत गरेको कलङ्क नबोकेरै पनि अन्यायबाट जोगाउन सकिन्छ ।  यसैले विधिमाथि शासन गर्ने प्रपञ्च गर्नु हुँदैन ।

सरकारले जनमतको सम्मान गर्दै यो संशोधन फिर्ता लिनु बुद्धिमानी हुनेछ । संशोधन पारित गराउने जिद्दी गर्दा राजनीतिक ध्रुवीकरण बढ्ने र सरकारको समर्थन घट्ने जोखिम नै बढी हुने देखिन्छ । संवैधानिक प्रावधान र अदालतका नजिरविपरीत भएकाले कानुन बने पनि खारेज हुने सम्भावना बढी भएकाले यसै पनि अर्थहीन हुनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro