काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई 'ए'विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । श्रीलंकाको पी सारा ओभलमा हुने खेलका लागि भएको टस जितेपछि यूएईका कप्तान अली नासिरले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो । यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ । यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद् अन्त्यको लक्ष्यमा हुनेछन् ।
यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो ।
यता, यूएई पनि पहिलो खेलमा भारतसँग आठ विकेटले र दोस्रो खेलमा पाकिस्तानसँग १८४ रनले पराजित भएको थियो ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।