‘विपत्तिको साथी रेडक्रस’ नारामात्र होइन । सानोतिनो विपत्तिदेखि भयावह विपदामा समेत सधैँ रेडक्रसको नाम संसारभर सम्झने गरिन्छ । नेपालमै पनि ‘नेपाल रेडक्रस सोसाइटी’ विगतमा सधैँ नै विपत्तिको भरपर्दो साथी रहेको थियो । विडम्बना, त्यही नेपाल रेडक्रस अहिले विपत्तिमा छ । संस्थाको अस्तित्व नै सङ्कटमा परेको छ । तर, रेडक्रसलाई भने विपत्तिमा साथ दिने कोही देखिएनन् ।
केही दिन पहिले अगिल्लो सरकारका प्यादाहरू ‘नेपाल रेडक्रस’को चुनाव गरेको समाचार छपाए । तिनैताका अदालतले रेडक्रसको चुनाव नगर्नु भन्ने आदेश दियो । त्यसको केही दिन पहिले सरकारले रेडक्रसको चुनाव गर्नु भन्ने फर्मान जारी गरेको थियो । यी कुनै पनि हर्कत रेडक्रसको मायाले भए गरिएका भने थिएनन् । अदालतबाहेक सबै रेडक्रस कब्जा गर्ने दुर्नियतबाट प्रेरित थिए ।
नेपाल रेडक्रसको अहिलेको दुर्दशाका लागि निर्वाचित समिति सबैभन्दा बढी दोषी देखिन्छ । रेडक्रसका लाखौं सदस्यले सुम्पिएको जिम्मेवारी बिर्सेर उनीहरू अनियमितता र भ्रष्टाचारमा संलग्न भए । संस्थामा नेतृत्व परिवर्तन सहजरूपमा हुने वातावरण मिलाउनुभन्दा सधैँका लागि कब्जा गर्ने मानसिकता देखाए । त्यसले गर्दा सरकारले अनुचित र अवैध हस्तक्षेप गर्दा पनि यसका लाखौं सदस्यले खासै चासो देखाएनन् । यसैले अहिलेको संङ्कटको बीजारोपण तिनैले गरेका हुन् भन्दा पटक्कै अन्याय हुँदैन ।
निहित स्वार्थका लागि संस्था कब्जा गर्ने दुर्नियत नभएको भए नेपाल रेडक्रसको विधानबमोजिम बेलैमा चुनाव गराउन सकिन्थ्यो । तर, सरकारका प्यादाहरूले त रेडक्रस कब्जा गर्ने कुचेष्टा पो थाले । फलस्वरूप, निर्वाचन र संस्थाको मर्यादा पुनः कायम गर्ने कार्य गौण बन्न पुग्यो । रेडक्रसमा कहिल्यै नदेखिएका अनुहारलाई सरकारले प्यादाका रूपमा संस्था कब्जा गर्न खटाएको थियो । नियत नै खराब भएकाले तिनको प्रयत्न सफल भएन ।
यसबीच सरकार बदलियो । नयाँ सरकारले पनि आफ्नै प्यादालाई रेडक्रसमा स्थापित गर्न खोज्यो । कथित तदर्थ समिति नै दुईवटा भए । कहिले कुनैले कहिले कुनैले आधिकारिकताको दाबा गरे । यद्यपि, नेपाल रेडक्रसको विधानअनुसार दुवै समिति ‘अवैध’ हुन् । नैतिक वैधता त निर्वाचित समितिले नै गुमाइसकेको थियो । अन्तर्राष्ट्रिय मान्यताअनुसार पनि राष्ट्रिय रेडक्रसमा सरकारले हस्तक्षेप गर्न पाउँदैन ।
नेपाल रेडक्रसको आजको अवस्थाका लागि अन्तर्राष्ट्रिय रेडक्रस पनि दोषी छ । बेलैमा गर्नुपर्ने हस्तक्षेप नगर्दा नै भ्रष्टाचारको घाउ सैन पल्टियो भने सरकार हस्तक्षेपका लागि हौसियो । सरकारलाई स्पष्ट शब्दमा रेडक्रसको विधान मिचेर हस्तक्षेप नगर्न चेतावनी दिनुपर्थ्यो । अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुख कार्यकारी नेपाली भएर पनि सायद सरकार र यहाँका तदर्थ समितिहरूप्रति नरम रवैया अपनाइएको हुनुपर्छ । नेपालकै अवस्थामा कतिपय राष्ट्रिय सोसाइटीहरू निलम्वन हुने गरेको उदाहरण पाइन्छ ।
यी सबै कारण र कारकहरूले गर्दा नेपाल रेडक्रसको अस्तित्व नै सङ्कटमा परेको छ । सरकारले रेडक्रस बचाउन नभएर प्यादाहरू लगाएर कब्जा गर्न खोजिरहने हो भने अन्ततः नेपाल रेडक्रस निलम्वनमा पर्ने अवश्यम्भावी देखिन्छ । नेपाल रेडक्रसकै सदस्यहरूले पनि कुनै गिरोहको कब्जामा पर्न दिनुभन्दा रेडक्रस निलम्वन होस् भन्ने चाहनेछन् । यसैले थप बदनाम हुनु छैन भने सरकारले प्यादा पठाएर संस्था कब्जा गर्ने दुराशय त्यागोस् । रेडक्रस अभियानप्रति अलिकति पनि सम्मान र समर्पण भए सरकारी प्यादाका रूपमा संस्था कब्जा गर्न कोही पनि प्रयोग नहोउन् । थोरै भए पनि विवेक देखाउन् ।
अझै पनि बेला छ । सरकारले खटाएकाहरूले पनि रेडक्रसप्रति निष्ठा देखाउने हो भने इतिहासमा कलङ्कको मतियार हुनबाट जोगिनसक्छन् । अहिले एउटा सरकारको आडमा संस्था कब्जा गर्नेहरूले पछि अर्को सरकारका आडमा अरूले नै संस्था कब्जा गर्दा बोल्ने नैतिक अधिकार पनि हुँदैन । यस्तै, रेडक्रसजसतो संस्थाको दुर्दशा हुन नदिन सरकार पनि सजग हुनुपर्छ । त्यसो त समाज कल्याण परिषद्ले पनि मध्यस्थता गर्न सक्नुपर्थ्यो ।
अब नेपाल रेडक्रसको अस्तित्व र मर्यादा पनि जोगाउने हो भने केही उपाय अपनाउन सकिन्छ ।
१. तत्काल सबै कथित तदर्थ समितिका पदाधिकारी र सदस्यहरूले राजीनामा गर्ने वा सबैलाई हटाउने ।
२. पुराना रेडक्रसकर्मी कर्मचारी र स्वयंसेवकहरू मिलाएर चुनाव नलड्नेहरूको सानो अन्तरिम समिति बनाउने । यसमा विवादमा मुछिएका सरकारका प्यादाहरू कसैलाई पनि नराख्ने ।
३. निश्चित अवधिमा स्थानीय र केन्द्रीय निर्वाचन गर्ने व्यवस्था मिलाउने ।
यो आदर्श उपाय होइन तर नेपाल रेडक्रस निलम्वित हुन नदिने सायद अचुक उपाय भने हो । यत्ति हो यसका लागि सबै पक्षको निष्ठा रेडक्रस अभियानप्रति हुनुपर्छ । यसका लागि दबाब दिन रेडक्रसलाई माया गर्नेहरूले सामूहिकरूपमा आवाज उठाउनुपर्ने पनि हुनसक्छ । के रेडक्रसको अस्तित्व जोगाउन नेपालका रेडक्रसकर्मी परेका खण्डमा सडकमा उत्रिन तयार छौँ ? अन्तर्राष्ट्रिय रेडक्रस पनि नेपाल रेडक्रस जोगाउन परेदेखि ‘शल्यक्रिया’ गर्न नहिचकिचाओस् ।
र अन्त्यमा
कुनै राजाको दरबारमा दुईवटी महिला एक बच्चा लिएर ‘यो छोरो मेरो हो’ भन्दै दाबी गर्न पुगेछन् । भारदारहरू द्विविधामा परे । एउटै बच्चा दुईजनाको त हुनै सक्तैन । अनि राजाले जुक्ति लगाएछन् - ‘यो कस्को बच्चा हो भनेर खुट्याउन सकिएन । यसैले बीचमा चिरेर आधाआधा बाँडिदनु’। नक्कली आमाले हुन्छ भनिछ । बच्चाकी सक्कली आमाले - ‘भैगो बरू छोरो उसैले लैजाओस् तर आधाआधा नगरौँ ’ भनिछन् । राजाले सक्कली आमा चिने । उनको जुक्ती काम लाग्यो ।
सरकारी प्यादामध्ये केही सक्कली रेडक्रसकर्मी पनि छन् भने अगाडि सरेर नेपाल रेडक्रस बचाउने प्रयासमा साथ दिऊन् ।