site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
कांग्रेसमा ऐना पुछ्ने प्रवृत्ति 

अगिल्लो साता काठमाडौंमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला भएको थियो । महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापाले जिल्ला सभापतिको भेला बोलाएका थिए । सल्लाहमै बोलाइएको भनिए पनि सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरूको भेलाको उपेक्षा गरे ।  सार्वजनिक भएका समाचारअनुसार भेला आधिकारिकरूपमा क्रियाशील सदस्यता वितरण, पार्टी व्यवस्थापनजस्ता मूलतः प्राविधिक विषयमा छलफल गरिएको थियो । तर, सभापतिहरूले बजेटमा आफ्नो कुरा नसुनिएको, सरकारमा गएका मन्त्रीहरूले वास्ता नगरेको र पार्टीभित्र संस्थापनले इतर समूहलाई पेलेकोजस्ता विषयमा धेरै समय गएछ ।


सभापति भेलाको सकारात्मक पक्ष 
नेपाली कांग्रेसमा अझै चित्त नबुझे पनि कुरो बुझेर चुप लाग्ने संस्कार स्थापित भइसकेको छैन । पार्टी नेतृत्वको आलोचना गर्दैमा राजनीतिक भविष्य समाप्त पारिने हो कि भन्ने डर पनि मानेको देखिएन । नेतृत्वको आलोचना गर्दैमा भविष्य समाप्त भएको उदाहरण पनि खासै छैन । बालकृष्ण खाणलाई पार्टीले निलम्वन नगरेकोमा प्रश्न उठाए । सबैले बुझेकै थिए होलान् सभापति देउवाकै अनिच्छाका कारण खाण निलम्वनमा नपरेका हुन् । अरू दलमा भए सभापतिको इच्छाविपरीत यसरी बोल्ने आँट कमैले गर्थे । अरू पार्टीमा यत्तिको लोकतन्त्रको अभ्यास पनि छैन । 

मुखले मात्रै भने पनि लोकतान्त्रिक अभ्यासप्रति जिल्ला नेतृत्व प्रतिबद्ध देखियो । जिल्ला फर्केर गर्ने व्यवहारमा प्रदर्शित भयो भने लोकतान्त्रिक संस्कार निर्माण गर्न सहयोग पुग्नेछ । बेग्लाबेग्लै समूहबाट उमेदवार भए पनि महामन्त्री द्वय मिलेर सभापतिहरूको भेला बोलाए । विधानले दिएको अधिकार अभ्यास गर्ने गराउन एक पाइला भने पनि चाले । उनीहरूमाथि आफूले गर्न सक्ने चाहिँ नगर्ने सभापतिलाई दोषमात्रै लगाउने गरेको आरोप केहीमात्रामा पखाले । 

महामन्त्री शर्मा र थापालाई कांग्रेसबाहिरबाट पनि आशाको दृष्टिले हेरिन्छ । त्यसमा उनीहरूले संगठन सुदृढ, स्वच्छ र सक्रिय बनाउन कति प्रयत्न गर्छन् र त्यसमा कति सफल हुन्छन् भनेर पनि जनताले समेत नियालिरहेका छन् ।

अनि कमजोरीहरू

सभापति देउवाले भेलालाई बेवास्ता गरेको देखाए । यसले उनैको प्रभाव र पकड कमजोर हुने हो । तर, दलकै मुख्य नेतृत्वले उपेक्षा गरेपछि रक्षात्मक स्थितिमा पुगेकाे पार्टीका कार्यकर्ता कसरी उत्साहित होलान् र ?

महामन्त्रीहरूसँग पार्टीको संगठनात्मक सुदृढीकरण, शुद्धीकरण र सक्रियता कसरी हासिल गर्ने भन्ने सुविचारित योजना भएजस्तो देखिएन । क्रियाशील सदस्यता, कार्यसमितको सम्मेलन र पार्टी व्यवस्थापन जस्ता प्राविधिक विषयलाई जति नै व्यवस्थित गरे पनि कांग्रेसको जनाधार खुम्चिनबाट रोकिनेछैन ।

केन्द्रीय नेतृत्वको गुटबन्दी, हैकम र विधान मिच्ने प्रवृत्तिको चर्को गुनासो गर्ने जिल्ला सभापतिहरूले आफ्नो जिल्लामा कति लोकतान्त्रिक अभ्यास गरेका छन्  त? आफूले अभ्यास नगर्ने तर अरूलाई अर्ती दिने प्रवृत्तिले कांग्रेस सपार्न त पक्कै सकिँदैन ।

बजेट र सरकारका कामकाजमा गुनासो र टिप्पणीले कांग्रेसका जिल्ला सभापतिहरू सत्ताको स्वाद नपाएर छटपटाएजस्ता देखिए । पार्टीका सभापतिले होइन स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिले यस विषयमा मुख खोल्नु पर्ने हो । सभापतिहरूले त जनप्रतिनिधिलाई अगाडि सार्नुपर्छ । गुटबन्दीको चर्को विरोध गर्नेहरू स्वयं नै गुटमा सामेल देखिन्छन् ।  

जनताप्रतिको जिल्ला उदासीनता सभापतिहरूमा पनि केन्द्रका नेतामा भन्दा कम छैन । कार्यकर्ताले मात्र घेरिने र तिनैका कुरालाई जनताको ठान्ने मूर्खता र अर्थ्याउने चतुर्‍याइँले न पार्टीको छवि सुध्रिन्छ न जनाधार नै बढ्छ ।

सरकार र पार्टीबीच संवाद हुनुपर्छ भन्नु उचित हो तर जननिर्वाचित कार्यपालिकालाई जिल्ला वा स्थानीय तहको पार्टीले सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक होइन । कम्युनिस्टहरूले जस्तै नेता, पार्टी, सरकार र राज्यलाई एउटै ठान्ने सोच राखेर नेपाली कांग्रेस बलियो नहुने रहेछ भन्ने बुझ्न कति लाग्छ समय ?   

पार्टीमा पनि ‘पद सोपान’ बनाएको छ कांग्रेसले । नयाँ दलहरूले पनि त्यसै गर्न खोजेको भए उनीहरू स्थापित हुन्थे त ? यसैले अहिलेको राजनीतिमा टिक्न सिँडी उक्ले जसरी नेतृत्वमा पुग्ने सोच र प्रचलन त्याग्नुपर्छ । कसैले कसैका लागि किन पर्खने ? उदार लोकतान्त्रिक दलको जस्तो खुला संगठन बनाउने आँट छ त सभापतिहरूमा ? कुनै तरुण पार्टीको नेतृत्वमा फुत्त देखिन सक्छ ? अनि यी सभापतिहरूको सोच र जिल्लामा तिनले गर्ने ‘तिगडम’ देउवाको भन्दा के फरक छ ?  

सभापतिको सामन्ती सोच

सभापतिहरूले आफू विशिष्ट र कार्यकर्ता जनता मामुली ठानुन्जेल तिनको सुधारका गफ जनता त परै जाउन् तिनकै कार्यकर्ताले पनि पत्याउँदैनन् । सभापति देउवाले जिल्लाका कार्यकर्तासँग संवाद गरेनन् भन्नेहरूले गाउँका कार्यकर्ताको रायसुझाव कहिल्यै लिएका छन् ? कांग्रेसमा २०१५ को चुनावमा खर्च सुवर्ण शमशेरले बेहोरेका थिए रे ! विसं २०५१ सम्म पनि उमेदवारलाई पार्टीले केही खर्च दिएको सुनिन्थ्यो । 

उमेदवारीको किनबेच

पछिल्ला चुनावहरूमा भने उमेदवारले पार्टीलाई पैसा दिने चलन सुरु भएको सुनिन्छ । पछिल्ला चुनावहरूमा त उमेदवारले पार्टीलाई मात्र होइन नेतालाई पनि पैसा दिनुपर्ने भएको छ रे ! अर्थात्, पार्टीको टिकट बिक्छ रे ! स्थानीय तहको उमेदवारी पनि बेचिन्छ र जिल्ला सभापतिहरूले नै त्यसरी टिकट बेच्ने गर्छन् भन्ने पनि सुनिन्छ । अब किनेर पाएको उमेदवारीका लागि कोही किन पार्टी वा नेताप्रति उत्तरदायी हुने ? कति जिल्लामा त सांसदहरूले स्थानीय तहको टिकट बेचेर आफ्नो चुनाव खर्च पनि असुलेका थिए रे !  

इतिहासको ज्ञान 

जिल्ला सभापतिहरू कांग्रेसको हित नै चिताउँछन् भन्नेमा कसैले शंका गर्दैन । तर, उनीहरू र कांग्रेस बदल्ने अभियानमा लागेका महामन्त्रीलगायत नेताहरूलाई ‘कामराज प्लान’ का बारेमा थाहा छ ? त्यसबाट सिक्न सके कांग्रेसमा धेरै सुधार हुनसक्छ । 

महाधिवेशनमा आएका एउटा पूर्वी जिल्लाका कांग्रेस सभापतिलाई सोधेको थिएँ - तेजबहादुर अमात्यलाई चिन्छौ भनेर । उनले उत्तर त दिन सकेनन् नै थाहा पाउने प्रयास पनि गरेनन् । दिवानसिंह राई, सरोज कोइराला, योगेन्द्रमान शेरचनका बारेमा कति थाहा छ ? सरोज कोइरालाले आफ्नै विधवा भाउजुको विवाह गराएको ६० वर्षभन्दा पहिले, जग्गा बाँडेको, किसानका हितमा आन्दोलन गरेको थाहा छ ? किन सोधेको भने कांग्रेसलाई बदल्न खोज्नेहरू पनि अहिलेको संस्थापनजस्तै यथास्थितिकै पक्षपोषक हुन् कि प्रगतिशील उदारताका पक्षमा छन् ? सायद यही प्रश्नको उत्तरले उनीहरूको अभियानको औचित्य स्पष्ट पार्न सक्छ । 

अनलाइन सदस्यता वितरण गर्नु एक पाइला अगाडि बढ्नु हो तर त्यसैका भरमा ‘हट’ हुने हो र कांग्रेस ? पार्टीका निकायमा चुनाव लड्न निजामती सेवाको खुला बढुवाजस्तो वर्ष पुर्‍याउनुपर्छ । उमेदवार हुन कार्यकर्ताको समर्थन र मतदाताको साथ भएर पुग्दैन । नेताको कृपा पाउन (किन्न?) सक्नुपर्छ । यस्तो विकृति नहटाईकन कांग्रेसप्रति आकर्षण बढ्दैन । राज्यका सबै तहका निर्वाचनमा स्थानीय कार्यकर्ताले प्राथमिक निर्वाचनपछि सिफारिस गरेकाका आधारमा मात्र उमेदवार बनाउन जिल्ला सभापतिहरू तयार छन् ? 

देउवासँगै डुब्दो उनको दल

पक्कै पनि सभापति देउवा अहिले नेपाली कांग्रेसका लागि बोझमात्र साबित भएका देखिन्छन् । उनलाई विश्राम लिन लगाए कांग्रेसमात्र होइन देशकै पनि हित हुनेछ । त्यसका लागि कांग्रेस कार्यकर्ताबाहेक अरूले केही गर्न सक्तैनन् । यसैले सकेसम्म उनलाई सम्मानजनक बहिरगमनका लागि राजी गराए हुन्छ ।  मानेनन् भने उनलाई विधानसम्मत उपाय अपनाएर हटाए पनि हुन्छ । देउवाको ‘सती’ जान नसक्ने तर उनलाई हटाउन पनि नसक्ने अवस्थामा विद्रोह गरेर पार्टी छाड्ने, अर्को पार्टी बनाउने स्वतन्त्रता पनि छ । गर्न केही नसक्ने तर देउवालाई खुइल्याउन पनि नछोड्ने गर्दा सबैभन्दा धेरै हानि त नेपाली कांग्रेसकै हुन्छ । कांग्रेस डुब्दा यसका कार्यकर्तामात्रै कसरी उत्रेलान् र?

र अन्त्यमा

धेरथोर पाखण्ड प्रदर्शन त मानवीय कमजोरी नै हो तर सक्कली पाखण्डीहरू अनुहारमा फोहोर महदेखियो भने ऐना पुछ्न थाल्छन् । अनुहार नै फोहोर भएको स्वीकार गर्न उनीहरू तयार हुँदैनन् । ऐना पुछ्ने पाखण्ड राजनीतिमा धेरै हुन्छ । त्यसमा पनि कम्युनिस्टहरू बढी नै ऐना पुछ्ने गर्थे । पछिल्ला केही दशकमा भने नेपाली कांग्रेसमा पनि ऐना पुछ्ने पाखण्डी प्रवृत्ति बढ्दै गएको देखिएको छ । बितेको महाधिवेशनमा ऐना पुछ्नेहरूको चटक बढी नै देखिएको थियो । अगिल्लो दिनसम्म देउवामा दाग देख्नेहरूले एकाएक ऐना पुछ्न थाले । परिणाम अहिलेको कांग्रेसको हविगत हो । कार्यकर्ता कसैले पनि कांग्रेस अब उँभो लाग्छ भन्न सक्तारहेनछन् । जिल्ला सभापतिहरूको भेलामा पनि त्यही पाखण्ड दोहोरिएको देखियो ।  

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro