site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसमा रास्वपा भय :  नेतृत्व नसच्चिए कार्यकर्ता थाम्न सकिन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा वर्ष दिनअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको सबैभन्दा पूरानो दल नेपाली कांग्रेसलाई चुनौती बनेको छ । विशेष गरेर तल्ला तहमा संगठन विस्तारमा लागि परेको रास्वपा कांग्रेसको लागि चुनौतीको रूपमा उभिएको भन्दै कांग्रेस जिल्ला सभापतिहरूले चिन्ता प्रकट गरेका छन् । ४३ जिल्लाका सभापति, १७ जिल्लाका प्रतिनिधि उपस्थित र केही सभापतिहरुको ‘भर्चुअल’ सहभागिता रहेको कांग्रेसको जिल्ला सभापतिको भेलामा रास्वपाको चुनौतीको विषय उठेको हो ।

अनलाइन सदस्यता वितरण तथा अभिलेखीकरण, विधनबमोजिमका कार्यसम्पादन र पार्टी सञ्चालन र व्यवस्थापनका विषयलाई छलफलको मुद्दा बनाइएको छ । जिल्ला सभापतिहरुले भने नेतृत्व र पार्टी सञ्चालनका विषयमा तीव्र असन्तोष प्रकट गरिरहेका छन् । उनीहरुले कांग्रेसप्रति अझै पनि नागरिकको विश्वास देखिएको भन्दै नेतृत्वको कार्यशैली र पार्टी सञ्चालनको विधिका कारण नेता कार्यकर्तामा भने निराशा बढाएका बताए । 

पार्टीका नेता कार्यकर्तामा देखिएको निराशा सम्बोधन नगरे वर्ष दिनअघि उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी कांग्रेसका लागि चुनौती बन्ने उनीहरुको चेतावनी छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसका महामन्त्रीद्वयको अग्रसरतामा बिहीबार र शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरूको भेलामा बोल्ने जिल्ला सभापतिहरूले नेतृत्वको कार्यशैली र पार्टीको पहिचान नबदले रास्वपा कांग्रेसको चुनौती बनेर खडा हुने बताए ।

बैठकमा बोलेका अछाम जिल्ला सभापतिले २०८४ को निर्वाचनमा कांग्रेसको हालत के हुन्छ भन्दै प्रश्न गरे । पार्टी र संगठनप्रति कार्यकर्तामा विकर्षण देखिएको भन्दै भर्खरै आएको रास्वपाप्रति आकर्षण देखिएको बताए । उनले नागरिकको विशवास रहेको कांग्रसमा नेता कार्यकर्ताको विश्वास बढाउन नयाँ नीति र एजेन्डाको खाँचो देखिएको बताए ।

Global Ime bank

“राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नेता कार्यकर्ताको आकर्षण बढेको छ । २०८४ को निर्वाचनमा कांग्रेस के हुने हो ?,” शाहीले बैठकमा भने । कांग्रेसकै सरकार भए पनि बजेट वितरण समानुपातिक नभएको भन्दै उनले असन्तुष्टि पोखे ।

रूकुम पूर्वका जिल्ला सभापति केशरमान रोक्काले कांग्रेसले एक नम्बरमा रहेको घमण्ड गर्ने दिन सकिएको भन्दै पार्टीमा आकर्षण गुमेकोमा चिन्ता व्यक्त गरे । उनले विदेशमा बस्नेहरूले रूख छाडेर घण्टीमा भोट हाल्न लगाउने अभ्यास देखिएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए ।

“एक नम्बरमा छौं भन्ने घमण्ड नगरौं । कांग्रेसमा आकर्षण घटेको छ । विदेशमा भएकाहरूले घण्टीमा भोट हाल्न लगाएका छन्,” उनले भने ।

बैठकमा बोल्दै पर्वत जिल्ला सचिव गुप्तनिधि शर्माले कांग्रेस अरूको कारण नभएर पार्टीको आन्तरिक लडाइँको कारण कमजोर भएको बताए । आन्तरिक विवाद र भेदभावले पार्टी छाडेर रास्वपा जानेको संख्या बढेको उनेका चिन्ता थियो ।

“रास्वपा जानेको संख्या बढेको छ । कांग्रेसका कारण कांग्रेस कमजोर भएको छ,” शर्माले भने, “कांग्रेस सुधार्ने भए महामन्त्रीहरूले जुझारू भएर लाग्नुको विकल्प छैन ।”

अर्घाखाँची जिल्ला सभापति केशव श्रेष्ठले अन्तर्घात गर्नेका कारण पार्टी कमजोर भएको बताए ।

जिल्ला सभापतिहरूले सामाजिक सञ्जालका कारण युवा पुस्तामा नयाँ दलप्रति आकर्षण बढेकोमा ध्यानाकर्षण गराएका छन् । विशेष गरेर विदेशमा भएकाहरूले नयाँ दल रास्वपाको पक्षमा माहोल बनाइदिएको भन्दै उनीहरूले गम्भीर हुनुपर्ने बताए ।

सभापति–महामन्त्रीको सम्बन्धमा प्रश्न

जिल्ला सभापतिहरुले पार्टी सभापति र महामन्त्रीबीचको सम्बन्धमा पनि प्रश्न उठाएका छन् । उनीहरूले सभापति र महामन्त्रीको समन्वय हुन नसकेको हो ? भन्दै प्रश्न गरे । स्याङ्जा जिल्ला सभापति राजु थापाले सो विषयमा प्रश्न उठाएका थिए ।

“सभापति र महामन्त्रीको बीचमा ‘कोअर्डिनेसन’ भएन भन्ने हल्ला छ । महामन्त्री सबै जिल्लामा जानुपर्छ,” उनले भने ।

बर्दीया जिल्ला सभापति अरूण राठौरले महामन्त्रीहरूको बोली र व्यवहारमा एकरूपता नदेखिएको आरोप लगाए । उनले महामन्त्रीद्वयलाई बोलीलाई व्यवहारमा लागु गर्न अनुरोध गरे ।

गठबन्धनका कारण संगठन ध्वस्त

जिल्ला सभापतिहरूले गएको निर्वाचनमा रूखबाहेक अन्य चुनाव चिह्नमा भोट हाल्नुपरेका कारण गाउँ गाउँमा पार्टीको संगठन कमजोर भएको बताएका छन् । उनीहरुले कांग्रेसका भोटरलाई जबरजस्ती अर्को चिह्नमा मत हाल्नुपर्दा संगठनको शाख नै कमजोर भएको भन्दै नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए ।

चितवन जिल्ला सभापति राजेश्वर खनालले २०७४ को निर्वाचनबाट चितवन जिल्ला संगठन क्षतविक्षत भएको भन्दै आक्रोश पोखे । उनले कांग्रेसका कार्यकर्ताले आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाउनुको पीडा बयान गर्न नसकिने धारणा राखे ।

“२०७४ देखि चितवनमा कांग्रेस क्षतविक्षत भयो,” उनले भने, “आफ्नै चुनाव चिह्नमा भोट हाल्न नपाएको अवस्था छ । पार्टी ध्वस्त भएको छ ।”

नुवाकोट जिल्ला सभापति रमेश महतले सत्ता गठबन्धन सरकार निर्माणका लागि मात्र भएको भए संगठन जोगिने भन्दै चुनावी गठबन्धनले संगठन ध्वस्त बनाएको बताए ।

“गठबन्धन सरकार निर्माणमा हुनुपर्नेमा आम मतदातालाई अर्काे चिह्नमा मतहाल्न बाध्य पारियो,” उनले भने, “गठबन्धनका कारण पार्टीको संरचना ध्वस्त भएको छ । यसको समीक्षा आवश्यक छ ।”

सिरहा सभापति रामचन्द्र यादवले मधेसमा संगठन विस्तार र सबलीकरणमा पार्टीले ध्यान नदिएको टिप्पणी गरे । पार्टीमा अन्तर्घातीहरूलाई भ्रातृ संगठनमा राखेर पुरस्कृत गर्दा इमान्दार कार्यकर्ता निराश भएको उनको भनाइ थियो ।

अन्तर्घातीलाई कारबाहीको माग

गएको तीन तहको निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्न केन्द्र नै बाधक भएको भन्दै जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन् । धनुषा जिल्ला सभापति योगेन्द्र पञ्जियारले निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गरे पनि केन्द्रले फुकुवा गरेर त्यसलाई पुरस्कार दिएको उल्लेख गरे ।

सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंहले पनि निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने अधिकार जिल्ला सभापतिलाई दिनुपर्ने धारणा राखे । उनले जिल्लामा क्रियाशील सदस्यता वितरण गर्ने अधिकार पनि जिल्ला सभापतिलाई दिनुपर्ने माग राखे ।

सप्तरी जिल्ला सभापति रामदेव शाहले जिल्लाले कारबाहीका लागि सिफारिस गरेको नाममा अनुशासन समितिले कारबाही गर्न नसकेको बताए । काभ्रे जिल्ला सचिव माधव ढकालले निर्वाचनमा अन्तर्घात गर्नेहरूलाई चाडोभन्दा चाडो छानबिन गरी कारबाही गर्न माग गरे ।

कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि जिल्ला सभापतिहरूको बैठक सुरु भएर २२ गते सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले १४ बुँदे आन्तरिक प्रतिवद्धता पारित गर्‍यो । बैठकमा जिल्ला सभापतिहरूले सभापति शेरबहादुर देउवाको खोजी गर्नेदेखि पार्टी सहभागी सरकार जनतासँग जोडिन नसकेको गुनासो समेत गरे ।

जिल्ला सभापतिहरूले संगठन कमजोर भएको, पार्टीबाट जितेका जनप्रतिनिहरूले पार्टीलाई बेवास्ता गरेको, केन्द्रका नेताहरूले फोन नउठाउने गरेको गुनासो गरे । यस्तै, आफ्नै पार्टीबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतले बजेटमा गुट हेरेर इतरपक्षलाई नदिएको भन्दै चर्को आलोचना समेत भयो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement