काठमाडौं । मंगलबार साँझ करिब साढे ७ बजेको हुँदो हो । गिटारिस्ट तथा गायक ज्योति घिमिरेलाई फेसबुक म्यासेन्जरमा कसैले सोध्यो– दाइ रोबिन (तामाङ)लाई के भएको हो ? उहाँको घरमा भिडभाड देखिरहेको छ । हर्टअट्याक भएको भन्ने हल्ला छ, हो ?
ज्योतिले भने– हो र ? के भएको हो, त्यो बेलासम्म अनविज्ञ ज्योतिले उल्टै प्रतिप्रश्न गरे । मनमा चिसो पस्यो । उनलाई जे सूचना आएको थियो, त्यो पत्याउन ज्योतिलाई हम्मेहम्मे परिरहेको थियो ।
मन अस्थिर भयो । कौतुहल हुनु स्वाभाविक थियो । उनले हरि महर्जनलाई फोन लगाए । हरि रोबिनको गिटारिस्ट थिए ।
‘भाइ के छ खबर ?’
‘ठिक छ, दाइ ।’
‘सबैलाई ठिक छ ?’
‘ठिक छ दाइ ।’
जुन उद्देश्यका लागि ज्योतिले हरिलाई फोन गरेका थिए, त्यो भन्न सकेनन् । यत्तिकै फोन राखे ।
“मैले फोन गर्दा हरिलाई थाहै रहेनछ । थाहा भएको भए सबैको ठिक छ ? भनेर सोध्दा उनले यस्तो छ भन्थे नै,” ज्योतिले मंगलबार साँझको छटपटी सम्झिए, “रोविनलाई के भएको हो भनेर मैले सोध्नै सकिनँ । यत्तिकै फोन राखेँ ।”
छटपटीको पारो ओर्लिएको थिएन । के कसो हो भन्ने जिज्ञासा मेटिएको थिएन । मन बेचैन भइरहेको थियो ।
आधा घण्टापछि उनै हरिको फोन आयो– ‘ज्योति दाइ, रोविन दाइलाई त हर्ट अट्याक भएर बित्नु भएछ ।’
० ० ०
ज्योतिको दिमागमा सम्झनाका रिल फरफर फुके । वर्षदिन अगाडि मात्रै महिनौँसम्म एउटै मञ्चमा सँगै काम गर्दाका अलिकति पनि नओइलाएका रंगीन सम्झनाहरू दिमागमा एकपछि अर्को दगुर्न थाले । निर्णायकको रूपमा सांगीतिक रियालिटी शो ‘ब्यान्ड च्याम्पियन नेपाल’मा ज्योति र रोबिनले सँगै काम गरेका थिए । साथमा थिए, देव राना ।
अघिल्लो वर्ष, दिनकै सँगै काम गरेको व्यक्ति । दुई महिना अगाडिसम्म पनि भेटघाट भइरहेको व्यक्ति, कसरी 'हार्दिक श्रद्धाञ्जली' लेख्न सक्थे ज्योति ? यो आँट नै आएन उनमा । लेख्नै सकेनन् ।
स्पष्टवक्ता तर कस्तो निश्चल मान्छे ? ज्योति सम्झनाका तरेली छिचाल्दै ब्यान्ड च्याम्पियनको स्टेजतर्फ फर्किन्छन् र भन्छन्– रोविन स्पष्टवक्ता हो, आफूले देखेको कुरा जस्ताको तस्तै भन्न सक्ने । हामी सकेसम्म चित्त नदुखोस् भनेर कमजोरी बताउँदा अलि 'डिप्लोम्याटिक' रूपमा प्रतिस्पर्धीको पफर्मेन्समा कमेन्ट गर्थ्यो । उनी भने स्पष्ट भन्दिन्थे । तर, त्यही स्पष्टतामा निर्दोषपन हुन्थ्यो ।
स्पष्ट कमेन्ट गर्नु भनेको प्रतिस्पर्धी सच्चिने मौका पनि हो । त्यो मौका ब्यान्ड च्याम्पियनमा उनले सहभागीलाई दिएको ज्योति सम्झिन्छन् ।
० ० ०
रक जनरामा रोबिन युवा पुस्ताका आइडल हुन् । अग्लो कदका उनको आफ्नो छुट्टै स्टाइल थियो । अक्सर कलाकार स्टेजमा माइक बोकेर गीत गाउँछन् । रोबिन भने हातमा गितार बोकेर आफैँ रिदम बजाएर गीत गाउँथे । उनको यो स्टाइलले लाखौँ फ्यानलाई मोहित बनाउँथ्यो । त्यसैले त उनी अक्सर वर्षैभरि व्यस्त हुन्थे स्टेजमा । कहिले नेपालका स्टेज त कहिले विदेशका स्टेज । सायदै होला उनले पफर्म नगरेका नेपाली भएका देश ।
रोबिनको ख्याति जति संगीतमा थियो, त्यति नै अभिनयमा पनि । उनले दर्जनौँ चलचित्रमा अभिनय गरे । उनको अग्लो कद र भिन्न सुनिने शब्द उच्चारणले 'एन्टागोनिस्ट'मा उनले थुप्रै रोल गरे ।
“रोबिनमा संगीतप्रतिको लगाव जति थियो त्यति नै सिनेमाप्रति पनि,” ज्योति भन्छन्, “उहाँसँग भेट भएपछि संगीत र चलचित्रका कुरा हुन्थे । हलिउडका सिनेमा र गीतका कुरा हुन्थे । हामी उहाँले भनेका गीत र सिनेमा सुन्न/हेर्न सधैँ उत्साही हुन्थ्यौँ ।”
रोबिन भन्थे– गीत/संगीत र सिनेमाको भूगोल हुँदैन भनेर मात्रै हुँदैन, यसका लागि काम पनि गर्नुपर्यो । ज्योतिलाई रोबिनमा रहेको यसको चिन्ता थाहा छ । “म नेटफ्ल्क्सिका लागि एउटा सिनेमामा काम गर्दै छु भन्नुहुन्थ्यो,” ज्योति भन्छन् ।
‘छड्के’, ‘नाका’, ‘मुखौटा’, ‘चिसो स्ट्रे’, ‘बादशाह जुट’, ‘तीन जन्तु’ आदि उनले अभिनय गरेका चलचित्र हुन् ।
गिटारिस्ट हरि महर्जनले रोबिनसँग काम गरेको २७ वर्ष भयो । रोबिन १९९६ मा नेपाल आएर संगीतमा सक्रिय भए । त्यही समयदेखि हरि रोबिनसँगै काम गर्दै आएका हुन् । तर, अफिसियल रूपमै रोबिनसँग ब्यान्ड मेम्बर भएर उनले काम गरेको सात वर्ष भयो ।
‘रबिन एन्ड द रिभोलुसन’ ब्यान्डका मेन भोकलिस्ट रोबिनको निधनसँगै यो ब्यान्ड अभिभावकविहीन भएको छ । “अब हामी कसरी अगाडि बढ्ने भन्ने सबै ब्यान्ड मेम्बर बसेर निर्णय गर्दै छौँ, हरिले भने, “यसबारे केही दिनमा थप बोल्न सक्नेछौँ ।”
‘रबिन एन्ड द रिभोलुसन ब्यान्ड’ नेपालभित्र जत्तिकै नेपाल बाहिर पनि लोकप्रिय सांगीतिक ब्यान्ड हो । यसको पब्लिक फेस नै रोबिन थिए ।
सिंगापुरमा जन्मिएका रोबिन स्कुले उमेरदेखि नै संगीतिक गतिविधिमा सक्रिय थिए । स्कुलमा साथीहरूसँग मिलेर ब्यान्ड खोलेर पफर्म गर्थे । हङकङ, सिंगापुर र ब्रुनाईमा आफ्नो बाल्यकाल बिताएका उनले आफ्नो करिअरका लागि भने नेपाल रोजे । बुवा ब्रिटिस आर्मी भएकाले बुवा जताजता गए, उनी त्यतै जान्थे । त्यसैले उनले बाल्यकालमा धेरै देश जाने मौका पाए ।
० ० ०
जिम्मी हेन्ड्रिक्स र डिप पर्पलजस्ता विश्वचर्चित ब्यान्डबाट प्रभावित उनले जन्मथलो सिंगापुरबाट पोखरा फर्किएपछि ‘रबिन एन्ड द लुजा’ ब्यान्ड खडा गरेर आफ्नो फरक शैली नेपाली संगीतमा पेस गर्न थालेका थिए । एकातिर फरक शैलीको रक जनरा नेपाली संगीतका लागि नै नौलो थियो भने त्यसमा पनि उनको प्रस्तुतिले त्यसमा थप रौनक थपेको थियो ।
‘दम मारो दम’, ‘ठिकै छ’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’लगायत उनका दर्जनौँ गीत युवा पुस्तामा लोकप्रिय छन् । उनले चलचित्र गीत पनि थुप्रै गाएका छन् । चलचित्रका ओएसटीमा खोजिने गायकमा रोबिन पनि एक थिए । यसबाहेक अग्रज कलाकारका चर्चित गीत रोबिनले आफ्नै शैलीमा गाउँदा ती गीत नयाँ पुस्तामा पुगेका थिए ।
अग्लो शरीर, हातमा गितार, भिन्न टोन, तक्लु टाउको अनि निशंकोच प्रस्तुति, स्टेजमा उनको पहिचान नै बनेको थियो । मंगलबार साँझ रोबिनले यो संसारबाट अन्तिम शास फेरिरहँदा रक जानराको संगीतको धुनमा आफूलाई हराउने संगीतका सोखिनहरूले पनि उनीसँगै उनको कलाबाट आनन्दित हुने थप मौका गुमाइरहेका थिए ।
अन्तिममा २७ वर्ष पुराना साथी तथा सहकर्मी हरि भन्दै थिए, “मैले पनि सुनको हर्ट अट्याक भयो भन्ने हो । हेरौँ पोस्टमार्टम रिपोर्ट के आउँछ ।”