
काठमाडौं । सरकारले नेपाली नर्सलाई बेलायत पठाउनका लागि यही महिनादेखि अनलाइन आवेदन लिने भएको छ ।
नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना पारित गरेपछि नर्स बेलायत पठाउन बाटो खुलेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बेलायत सरकारले संयुक्तरूपमा तयार पारेको सो कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) मंगलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । सोहीअनुसार जुलाइदेखि नै आवेदन खुला गर्नेगरी प्रक्रिया अघि बढाइएको मन्त्रालयका सहसचिव राजिव पोख्रेलले बताए ।
स्टाफ नर्स र बीएस्सी तथा एमएस्सी नर्सहरूले आवेदन दिन पाउनेछन् । सरकारी सेवामा रहेका नर्सहरूको हकमा सरकारको स्वीकृति लिएर आवेदन दिन पाइनेछ । बेलायतको नेसनल हेल्थ सर्भिसअन्तर्गत हेल्थ केयर असिस्टेन्टको रूपमा उनीहरूले काम गर्नेछन् ।
बेलायत जाने नर्सको पारिश्रमिक वार्षिक २६ हजार २८२ पाउण्ड हुने सम्झौतामा उल्लेख छ ।