
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचार विरोधी लडाइँमा सतिसालझैं उभिने बताएका छन् ।
बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।
उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु । भ्रष्टहरूमाथि कारबाही सुरू भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रकिया रोकिन्न, हेर्दै जानुहोला थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ ।”
उनले माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दै गएको बताएका छन् । “२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं। तर, पार्टी एकतावद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो” उनले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दै छ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत एकतासहित अगाडि बढिन्छ ।”