काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेताहरूको टाउको जोडेर पार्टी एकता हुन नसक्ने बताएका छन् । पोखरेलले पार्टीहरूबीच ध्रुवीकरण आवश्यक रहेको तर नेकपाको पुनर्स्थापना बाटोबाट नहुने तर्क गरेका छन् ।
"अब नेपालकाे राजनीतिमा विचारका आधारमा राजनीतिक ध्रुवीकरण आवश्यक छ । ...तर, त्यो असफल भइसकेको नेकपाको पुनर्स्थापनाको बाटोबाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुवीकरणको बाटोबाट मात्र सम्भव हुन्छ," मंगलबार फेसबुकबाट पोखरेलले भनेका छन् ।
उनले अगाडि थपेका छन्, "अब नेताहरूको टाउका जोडेर होइन, भविष्य भएका युवाहरूको मन जोडेर आन्दोलनलाई सुदृढ गर्ने बाटोमा अघि बढ्न सक्नुपर्छ ।"
उनले अवसर र अस्तित्व रक्षाका लागि नेकपा ब्युताउने चर्चा चलाइएको पनि आरोप लगाएका छन् ।