site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
गठबन्धनमा राप्रपा नआए कोसीमा एमालेसहितको बहुमतको सरकार बन्छ

कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको विषय अहिले बहसमा छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । यो समीकरण पुर्याउन दलहरूलाई सहज भने छैन ।

प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धन भर्सेज एमाले–राप्रपा गठबन्धन छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालको एउटा गठबन्धन छ । यो गठबन्धनसँग सभामुखसहित ४७ सांसद छन् । यस्तै, एमाले र राप्रपा गठबन्धनमा ४६ सांसद छन् । यो संख्या सरकार बनाउन पर्याप्त भएन ।

कोसीको सरकार बनाउन यतिबेला दलहरू काठमाडौंमा छन् । केन्द्रीय गठबन्धनको आधारमा कोसीमा सरकार बन्ने र केन्द्रले निर्देशन नदिएसम्म सरकार नबन्ने अवस्था छ । त्यसकारण वाम–लोकतान्त्रिक गठबन्धनका प्रदेशका नेताहरू संघीय नेतालाई गुहार्न र सरकार बनाइदिन माग गर्दै काठमाडौं आएका छन् ।

Dabur Nepal
NIC Asia

गठबन्धनका तर्फबाट कोसीमा सरकार बनाउन कांग्रेसका संसदीय दलका नेता उद्धव थापा लागिपरेका छन् । सोही क्रममा अहिले काठमाडौंमा रहेका उनै थापासँग बाह्रखरीका रोमन आचार्यले संवाद गरेका छन् । प्रस्तुत छ थापासँगको कुराकानीको सम्पादित अंश:-

तपाईंहरूको गठबन्धनमा सभामुखको टाउको गन्दा मात्र ४७ मत पुग्छ । एमाले–राप्रपासँग ४६ सांसद छन् । कसरी बनाउनु हुन्छ तपाईंहरू सरकार ?

सटिक प्रश्न उठाउनु भयो । परिस्थिति सहज छैन । राप्रपालाई साथमा लिएर जानुपर्ने हाम्रो बाध्यता छ । राप्रपासँग केन्द्रीय नेतृत्वले आजदेखि छलफल सुरू गरेको अवस्था छ । राप्रपा पनि मध्यावधि निर्वाचन चाहँदैन ।

राप्रपा कोसी प्रदेशको स्थायित्व समृद्धि र विकास चाहन्छ । त्यसका लागि मध्यावधि निर्वाचन बाधक हुन्छ, र यसतर्फ हामी जाँदैनौं । त्यसका लागि नयाँ गठबन्धनमा जान तयार छौं भन्ने कुरा राप्रपाबाट आएको छ । गठबन्धनका शीर्ष नेता र राप्रपाका शीर्ष नेता छलफलमा बस्दै छन् भन्ने मैले सुनेको छु ।

तपाईं आफैले राप्रपासँग गठबन्धनको प्रस्तावसहितको संवाद गर्नुभएको छ कि छैन ?

हामीले आफ्नो तहबाट संवाद गरेका छौँ । गठबन्धनमा भएका सबै दलहरूले पनि संवाद गरेका छन् । अहिले राप्रपाको कुरा सकारात्मक नै आएको छ । एमालेसँगको गठबन्धन कायम राखेर राप्रपा जाँदा पनि एमालेले सरकार बनाउन सक्दैन । अस्ति पनि राप्रपाले एमालेलाई विश्वासको मत दिएकै हो । तर, सरकार त जोगिएन नि ।

दलहरूले बहुमत पुर्याउन नसके स्वभाविक हो, मध्यावधिमा प्रदेश जान्छ । यसले कसैलाई फाइदा गर्दैन । त्यसकारण मध्यावधिबाट जोगाउन राप्रपा यो गठबन्धनमा आउँछ भन्ने कुरा छ । यसमा शीर्ष नेता पनि सहमत छन् ।

मध्यावधि जानबाट राप्रपाले रोक्छ भनेर ढुक्क हुने ठाउँ छ ?

म त ढुक्क छु । कुनै पनि दल मध्यावधिको पक्षमा छैन । एमाले पनि मध्यावधि चाहँदैन । मध्यावधि रोक्ने भनेको गठबन्धन दलमा राप्रपाको प्रवेशले मात्र सम्भव छ । त्यसकारण यसमा शंका, उपशंका गर्नुपर्ने, पात्रहरूको विषयमा बहस गर्नुपर्ने अवस्था छैन ।

शीर्ष नेताहरू बसेर निर्णय गरे पुग्छ । केन्द्रमा जे निर्णय हुन्छ, हामी त्यसलाई शिरोधर गरेर हिँड्नुको विकल्प पनि छैन । बहुमत जुट्दैन र सरकार बन्दैन भन्नेतर्फ बहस गर्नु र शंका गर्नुपर्ने अवस्था म देख्दिनँ । ३० दिनभित्र पूर्ण बहुमतसहितको सरकार बन्छ ।

राप्रपाले साथ दिएन भने एमालेसँग सहकार्य हुन सक्छ ? केही तयारी भएको छ ?

हामी सबैको मुख्य उद्देश्य भनेको मध्यावधिबाट प्रदेशलाई रोक्नु हो । त्यसमा १० दलीय गठबन्धनको पहिलो प्राथामिकता राप्रपालाई सहमतिमा ल्याउनु हुन्छ । राप्रपा साथमा आउँछ भन्ने बुझाइ निष्कर्ष पनि छ ।

यदि, राप्रपासँग सहकार्य हुन सकेन भने एमालेसँग मिलेर सरकार बनाउने कुरा पनि असम्भव विषय हैन । त्यो कोर्सबाट पनि प्रदेशको राजनीति अघि बढ्न सक्छ ।

आइतबार प्रदेश पदाधिकारीको बैठक पनि बस्नुभयो काठमाडौंमै । के के निर्णय गर्नुभयो त ?

अहिले बन्ने कोसी प्रदेशको सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनोस् र दलको नेताको हैसियतमा सरकारको नेतृत्व गर्ने अवसर पाउनुपर्छ भन्ने कुरा भयो । यसका लागि पहल गर्ने निर्णय हामीले गरेका छौँ ।

प्रदेशका नेताहरु काठमाडौंमै हुनुहुन्छ, केही प्रगति भएको छ त ?

हामी प्रदेशबाट गर्ने कुरा केही छैन । गठबन्धनका शीर्ष नेताहरूको हातमा छ सबै विषय । जे निर्णय शीर्ष नेतृत्वबाट हुन्छ, हामी त्यसलाई मान्न तयार छौँ ।

प्रदेशका गठबन्धन दलहरूभित्र त्यो सहमति छ । त्यसलाई आधार बनाएर सहमतिको प्रयास भइरहेको छ । आजदेखि सरकार बनाउन छलफल र सहमतिको प्रयास गर्ने शीर्ष नेताहरूले भनेका छन् ।

मुख्यमन्त्री बन्नेमा आशावादी हुनुहुन्छ ?

कोसीमा हामी दोस्रो ठूलो दल हौँ । गठबन्धनभित्र पहिलो ठूलो दल हामी हो । यसकारण हाम्रो दाबी स्वभाविक छ । कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ । पावर सेयरिङ हेर्दा सभामुख माओवादीबाट हुनुहुन्छ । समाजवादी पार्टीले ६ महिनाअघि मात्र मुख्यमन्त्री पदबाट बाहिरिएको हो ।

अघिल्लो प्रदेशसभामा कांग्रेसले ३ जना मुख्यमन्त्रीलाई बोकेर हिँडेका हौँ । यी विविध कुरालाई समीक्षा गर्दा पहिलोपटकमै नेपाली कांग्रेसले कोसीमा नेतृत्व पाउनुपर्छ भन्ने हाम्रो अडान हो र विश्वास पनि । आधार पनि यही हो ।

हाम्रो पार्टीका सबै नेताहरू कांग्रेसले सरकार बनाउनुपर्छ भन्नेमा लाग्नुभएको छ ।

कोसीमा पनि आलोपालोकै सरकार बन्ने हो ?

अब बन्ने सरकार आलोपालोबाट बन्नुपर्छ, बनाइनुपर्छ भनेर हामीले भनेका छौँ । नेतृत्वले त्यो निर्णय गर्नुपर्छ र त्यो निर्णय सबै दल र पक्षबाट इमानदारिताका साथ पालना गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट कुरा हो ।

त्यसरी नै जानुपर्ने हाम्रो बाध्यता पनि छ । किनभने, केन्द्रमा पनि त्यहीअनुरूपको गठबन्धन छ । दलहरूलाई ‘इन्ट्याक्ट’ राख्न पनि आलोपालो सरकार आवश्यक छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro