site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अझै दर्ता भएनन् ४२ लाख फोन, पौने दुई लाख फोन ब्लक हुन सक्ने

काठमाडौं । सरकारले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै एमडीएमएसमा दर्ता नभएका फोनहरू 'ग्रे लिस्ट'मा राखिएको छ । 'ग्रे लिस्ट'मा परेका फोनहरू साउन १ गतेदेखि ब्लक हुने सम्भावना छ ।

गत वर्षको असोज १ गतेदेखि नै दर्ता नभएका फोन ब्लक गर्ने गरी एमडीएमएस कार्यान्वयनमा ल्याउने भनिएको थियो । तर, त्यतिबेला प्रधानमन्त्रीको निर्देशनपछि एमडीएमएस लागु हुन सकेन । 

नेपाल दूरसञ्चार प्राधिकरणले गत वर्षको भदौ ३० गते देशभर प्रयोगमा रहेका सबै मोबाइल फोनको आईएमईआई नम्बर एमडीएमएसमा दर्ता गरिदिएको थियो । त्यसयता यस वर्षको जेठ १५ सम्म आईएमईआई नम्बर दर्ता नभएका फोनको संख्या करिब ४२ लाख पुगिसकेको छ ।

जेठ १ देखि एमडीएमएस कार्यान्वयनमा आइसकेपछि पनि जेठ १५ देखि असार ९ गतेसम्म (करिब तीन हप्तामै) झन्डै पौने दुई लाख फोन फेरि आईएमईआई नम्बर दर्ता नभएरै प्रयोगमा रहेको देखिएको छ । यदि साउन १ गतेदेखि आईएमईआई नम्बर दर्ता नभएका फोनहरू ब्लक गर्ने नीति सरकारले लिए यी फोन ब्लक हुने छन् ।

यी मात्रै हैन गत वर्षको भदौ ३० पछिका आईएमईआई नम्बर दर्ता नभएका फोन पनि राजस्व तिरेर दर्ता नभए ब्लक हुने सम्भावना छ ।

सबै फोन ब्लक गर्ने/नगर्ने द्विविधा

गत वर्षको भदौ ३० पछि प्रयोगमा आएका तर आईएमईआई नम्बर दर्ता नभएका ४२ लाख फोन र जेठ १५ पछि मात्रै प्रयोगमा आएका करिब पौने दुई लाख फोन सबै अवैध रहेको भन्न सकिने अवस्था छैन । त्यसैले सबै फोन ब्लक गर्ने गरी सरकारले निर्णय गर्ने/नगर्नेमा आशंका छ ।

सरकारले श्रमिक भिसामा विदेशमा ६ महिना भन्दा बढी बसेर आउनेले दुईवटासम्म फोन ल्याउन पाउने व्यवस्था गरेको छ । यस्तै, अरूले चलाइरहेको फोन भिसा र अन्य कागजातका आधारमा विमानस्थलबाटै दर्ता गर्न सकिन्छ । पर्यटकहरूको फोन पनि भिसा अवधिसम्म चल्ने व्यवस्था गरिएको छ ।

तर, स्थलमार्ग प्रयोग गरी नेपाल भित्रिने र भारतमा रोजगारी गरी आउने व्यक्तिले ल्याउने फोनहरूको हकमा भने स्पष्ट व्यवस्था भइसकेको छैन । भारतबाट आउनेको हकमा राजस्व तिरेर दर्ता गर्न सकिने वा अन्य कुनै व्यवस्था गर्नुपर्ने भन्सार विभागका निर्देशक एवं प्रवक्ता पुण्यविक्रम खड्काको भनाइ छ ।

सीमा क्षेत्रका नागरिकलाई भारतबाट फोन किनेर ल्याउन दिँदा पनि उनीहरूको फोनको आईएमईआई नम्बर दर्ता हुने छैन । उनीहरूलाई फोन किनेर ल्याउन रोक्नुपर्ने वा अरू केही व्यवस्था गर्नुपर्ने देखिन्छ ।

केही प्रयोगकर्ताले अझै पनि आईएमईआई नम्बर दर्ता भए/नभएको जाँच नगर्ने भएकाले त्यस्ता फोनसमेत ब्लक हुन सक्छन् । यस्तोमा सो फोनको जिम्मा खरिद गरिएको पसलेलाई लगाउँदा पसलेबाट वितरक हुँदै कालोबजारीबाट आयात गर्ने च्यानलसमेत पत्ता लाग्न सक्छ ।

त्यसैले सरकारले जेठ १५ यता प्रयोगमा आइसकेका डेढ लाख बढी फोन ब्लक गर्छ वा गर्दैन भन्नेमा आशंका छ । सरकारले नीतिगत निर्णय गरेपछि आईएमईआई नम्बर दर्ता नरहेका फोनमा सिम कार्ड चल्न छोड्ने अथवा ब्लक गरिने प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताएका छन् ।

पैसा तिरेर कसरी दर्ता गर्ने ?

यस वर्षको जेठ १५ अघि भित्रिएका आईएमईआई नम्बर दर्ता नभएका फोन नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट एमडीएमएस डट जीओभी डट एनपीमा गएर दर्ता गर्न सकिन्छ । यस्ता फोन असार मसान्तसम्म दर्ता गरिसक्नुपर्ने छ ।

आईएमईआई नम्बर दर्ता गर्न एक लाख भन्दा महँगा फोनका लागि राजस्व १० हजार रुपैयाँ तोकिएको छ । एप्पल ब्रान्डका सबै मोबाइलका लागि पनि १० हजार रुपैयाँ नै राजस्व तोकिएको छ । एक लाख भन्दा कम मूल्यका सबै फोनका लागि भने तीन हजार रुपैयाँ राजस्व तोकिएको छ । अन्य मोबाइलहरूका लागि २०० रुपैयाँ राजस्व तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro