काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेटले कसैलाई पक्षपात नगरेको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए ।
सीमित जिल्लामा मात्र बजेट गएको भन्ने बजारमा बढी चर्चा मात्र गरिएको जिकिर उनले गरे । “जुन बाहिर चार जिल्लामा मात्र बजेट केन्द्रित भयो भन्ने चर्चा छ, वास्तममा त्यसको चर्चा बढी भएको हो,” मन्त्री ज्वालाले भने, “जसरी हल्ला फैलिएको छ, म आफैँ अन्यायमा परेँ कि जस्तो लाग्छ । केहीकेही जिल्लामा बढी बजेट गएको हुनसक्छ ।”
व्यक्तिकेन्द्रित गरेर पूर्वाधारमा बजेट विनियोजन नगरिएको उनले बताए । “कुनैमा सहायक राजमार्ग होलान्, कुनैमा ठूला योजनाहरूले छोएका होलान् । हाम्रो जिल्लालाई यस्ता ठूला आयोजनाहरूले छोएको छैन,” उनले भने ।