site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाढी र डुबानबाट जोगिन अपनाऔँ यी उपाय
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा पर्ने हेवाखोलामा गएको शनिबार राति आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति । तस्बिर : रवीन्द्र काफ्ले/रासस ।

काठमाडौं । मनसुन सुरु भएसँगै बाढीपहिरो र डुबानको जोखिम बढेको छ । अरू बेलाभन्दा मनसुन अवधिमा बढी वर्षा हुने गर्छ । वर्षासँगै बाढीपहिरो र डुबानको जोखिम हुन्छ ।

विशेष गरी होचा स्थानमा बाढी र डुबानको जोखिम बढी हुन्छ । बाढी र डुबानबाट जोगिनका लागि केही उपाय अपनाउन सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढी र डुबानबाट जोगिन यी उपाय अपनाउन सकिन्छ–
१. अत्यधिक पानी परेर बाढी आउने सम्भावना भएको समयमा होचो र नदी किनारका क्षेत्रमा हिँड्डुल नगर्ने ।
२. गाउँ एवं बस्तीमा बाढी आए अग्लो भूभाग वा सुरक्षित स्थलमा जाने ।
३. वर्षायाममा सकेसम्म नदी एवं खोलातटीय क्षेत्रमा नबस्ने र बाढी तथा डुबानबाट जोगिन सुरक्षित स्थलको पहिल्यै पहिचान गरी उक्त ठाउँसम्म जाने बाटोबारे स्पष्ट हुने ।
४. रातभर पानी परेको अवस्थामा परिवारका सदस्यहरू आलोपालो गरी सुत्ने ।
५. नदी एवं खोलामा पानीको बहाव बढेर ढुंगामाटो कटान गरेमा आफूभन्दा तल्लो भेगको गाउँ र बस्तीमा तत्कालै खबर गर्ने ।
६. मौसमी गतिविधिबारे सञ्चारका कुनै पनि माध्यमबाट जानकारी लिने ।
७. बाढीको सूचना दिने र लिने व्यक्ति तथा संस्थाको सम्पर्क नम्बर सुरक्षित राखी बाढीसम्बन्धी कुनै पनि शंका लागेमा वा समस्या परेमा तत्काल फोन गर्ने ।
८. बाढी पूर्वानुमान शाखाको पैसा नलाग्ने नम्बर ११५५ मा फोन गरेर बाढीका बारेमा जानकारी लिने ।
९. बाढी तथा डुबान हुने सम्भावना रहेमा गरगहना, रुपैयाँ/पैसा, औषधि, महत्त्वपूर्ण कागजात, सुक्खा खानेकुरा, पकाएर खाने खाद्य सामग्रीहरू लिएर सुरक्षित स्थलमा जाने ।
१०. टर्च, लौरो, सिट्ठी, डोरीजस्ता सामग्रीहरू बाढी र डुबानको समयमा निकै सहयोगी बन्ने हुँदा तिनको व्यवस्थापन गर्ने ।
११. बाढी र डुबानको समयमा पानी प्रदूषित हुने हुँदा पानी सफा गर्ने फिटकिरी वा औषधिजस्ता सामग्रीहरूको व्यवस्थापन गर्ने ।
१२. बाढी र डुबानका बारेमा जानकारी दिन वा आवश्यक उद्धारका लागि खबर गर्न मोबाइलमार्फत सजिलो हुने हुँदा मोबाइलमा आवश्यक ब्यालेन्स र पर्याप्त चार्ज राख्ने ।
१३. बाढी र डुबानका कारण उद्धारको आवश्यकता परेमा ११४९ नम्बरमा सम्पर्क गर्ने ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro