site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
वैदेशिक रोजगारीले जन्माएको ‘परित्यक्त’ जमात

“विदेश जाने सपना देखेर बिहा गरे तर पतिलाई फेरि कहिल्यै देख्न पाएनन्” शीर्षकको एउटा समाचार विश्लेषण छापिएको छ १३ जुन २०२३ को ‘न्यु योर्क टाइम्स’को अनलाइन संस्करणमा । वैदेशिक रोजगारीमा गएका लाखौं भारतीयहरूले बिहा गरेपछि विदेश लैजाने सपना देखाएर बिहा गरेका तर तिनका पत्नीहरू भारतमै छाडिएका र सासुससुराले दाइजोको पैसा हत्याएको विषयमा भारतको पन्जाबबाट समिर यासिरले लेखेको समाचार रहेछ यो । 
नेपालको सन्दर्भमा विशेषगरी तराईमा अवस्था यसभन्दा खासै फरक नहोला ।  पहाडी क्षेत्रबाट पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या सानो छैन र तीमध्ये धेरैले बिहा गरेर दुलहीलाई नेपालमै छाडेर गएका पनि छन् । तर, पहाडको समस्या सायद पन्जाबको भन्दा बेग्लै छ । 

परित्यक्ताको संसार

समाचारअनुसार पन्जाबमा यस्ता ‘परित्यक्ता’हरूको समस्या निकै गम्भीर छ । पन्जाबमा मात्रै ३० हजार जति मुद्दा परेका छन् विवाहपछि पाएको धोका र ठगीमा न्याय मागेर । सरकारले एउटा आयोग नै गठन गरेको रहेछ पूर्वन्यायाधीशको नेतृत्वमा परित्यक्ताहरूको समस्याको अध्ययन गर्न । परित्यक्ताहरू मानसिक र सांस्कृतिकरूपमा त ठगिए नै दाइजो, हनिमुन र भिसाको खर्चसमेत माइतीबाटै तिरिएको रहेछ । यसैले वैदेशिक रोजगारीमा जानेहरूका ‘परित्यक्ता’ पत्नीहरूले मुद्दा दिन थालेका रहेछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

धोका र ठगीमा कारबाही गर्ने केही कानुनी आधार भए पनि विदेशमा भएको व्यक्तिलाई सजाय दिलाउन निकै कठिन रहेछ भारतीय न्याय प्रणालीमा पनि । यसैले मुद्दाले पनि अवस्था खासै फरक हुने देखिएन । वैदेशिक रोजगारमा पठाउने, भिसा दिलाउने भन्दै आकर्षक विज्ञापन जताततै देखिने पन्जाबमा विदेशमा काम गर्न जाने ‘क्रेज’ नै रहेछ नेपालमा जस्तै ।

 

Royal Enfield Island Ad

अनि विदेशमा गर्नेलाई छोरी दिन हुरुक्क हुनेरहेछन् आमाबाबु । छोरीहरू पनि विदेश जाने सपनामा खुरुक्क तयार हुँदारहेछन् पाहुनासँग बिहा गर्न । दाइजो पनि राम्रै पाउने रहेछ विदेशमा काम गर्ने दुलाहाले । बिहा गरेर एकाध महिना सँगै बसेपछि दुलाहा एक्लै विदेश फर्कँदा रहेछन् धेरैजसो । 

दुलहीलाई सँगै लैजान वा छिटै बोलाउन खोज्ने दुलाहालाई पनि औपचारिकता पूरा गर्न निकै कठिन हुनेरहेछ युरोप वा अमेरिकामा । धेरै त बिहा गरेर गएपछि दुलहीलाई विदेश बोलाउन दुलाहाले खासै चासो नदिने रहेछन् । अनि दुलाहाका आमाबाबुले पनि सकेसम्म बुहारी विदेश नजाओस् र घरमै कजाउन पाइयोस् भन्दा रहेछन् । यसैले पति जिउँदै भए पनि जोबन छँदै एक्लै बाँच्न बाध्य हुनेरहेछन् पन्जाबका युवतीहरू ।

त्यहाँ पनि छोरालाई विदेश पठाउन घरजग्गा बन्धकी राखेर रिन काड्ने वा बेच्ने चलन रहेछ । गाउँका किसानहरू आमदानी नहुने, रिनको भारी थपिँदै जानेजस्ता कारणले आत्महत्या गर्नेसम्मको अवस्थामा पुगेका रहेछन् । यिनै समस्याका कारण तन्देरी छोराहरु विदेशमा काम गर्न पठाउन बाबुआमा मन मारेर पनि तयार हुनेरहेछन् । र त्यसको सबैभन्दा ठूलो मार भने युवतीहरूले सहनुपरेको रहेछ । छोटो मिलनमै केहीमा गर्भ बसिसक्दो रहेछ । तिनको पीडा अर्कै ।

सासुससुराले भिसाको खर्च पनि बुहारीको माइतीसँगै माग्दारहेछन् । माइतीले छोरीको भाग्य बन्छ कि भनेर चोके ब्याजमा रिन काडेर पैसा बुझाउँदा रहेछन् तर भिसा दुलाहाले नचाहेर हो कि आप्रवासको नियम नै कडा भएर हो वा अरू कुनै कारणले कहिल्यै नआउने रहेछ ।

 

फलस्वपरूप दुलहीहरू मानसिक यातना र शारीरिक शोषण खपेर बाँच्न बाध्य हुनेरहेछन् । यस समस्याको अध्ययन गर्न सरकारले गठन गरेको आयोगका अध्यक्षता गर्ने पूर्वन्यायाधीशलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ - केही महिलाले यौन उत्पीडनको पनि गुनासो गरेका छन् । कतिपय परिवारमा त एक्ली दुलहीमाथि परिवारकै अरू पुरुषले आँखा लगाउँछन् । उनीहरूले बलात्कारलगायतका यौन दुर्व्यवहार सहनुपर्छ । नसहेर के गर्ने ? जाने ठाउँ छैन । घर छाडेर हिँडे भिसा आउने र विदेशमा पतिसँगै गएर बस्न पाइने धिपधिपे आशा पनि त मर्छ । 

 

ती पूर्वन्यायाधीशका अनुसार - विदेशबाट युवकहरू आउँछन् । दुलहीसँगै दाइजोमा आएको पैसाले मोजमस्ती गर्छन् र भिसा पठाउने आस देखाएर जान्छन् । विदेशमा पुगेपछि उतैको नागरिकता पाइने  लोभले विदेशमा अर्को बिहा गर्छन् । कतिले त विदेशमा भएको दुलाहाका लागि पैसा पठाउन नसक्दा सासुससुराबाट यातना पाउँदा रहेछन् । 
यस्ता ‘परित्यक्ता’ पन्जाबमा जताततै भेटिन्छन् रे !

नेपालका ‘परित्यक्त’हरू

नेपालमा यही आकार र आयाममा नभए पनि यो समस्या पक्कै छ । यद्यपि, पहाडमा ‘परित्यक्त’हरूको अर्को समूह छ पनि ठूलै देखिएको छ । वैदेशिक रोजगारीमा जाने छोराका आमाबाबुहरूको पीडा पनि उत्तिकै दयनीय छ । कसैले यस समूहको मनोसामाजिक अवस्थाको अध्ययन गरेको छ कि ? 

वैदेशिक रोजगारीका लागि विदेश जान विशेषगरी ‘अमेरिकी सपना’ साकार पार्न अवैधरूपमा भए पनि जान चाहनेहरूले  घरजग्गा बन्धकी राखेर वा बेचेर पैसाको जोहो गर्छन् । ज्यानको जोखिममा पारेर जान्छन् । कति बीचैमा हराएका छन् । तिनका आमाबाबुले छोरा र सम्पत्ति दुवै गुमाउँछन् । पत्नी र अझ सन्तान पनि रहेछन् भने थप पीडा सबैले सहनुपर्छ ।

विदेशमा बस्ने केटालाई छोरी दिन वा ‘ग्रिनकार्ड’वाली बुहारी भित्र्याउन मरिहत्ते गर्ने बाबुआमाको मन भरङ्ग हुन पनि धेरै दिन भने लाग्दैन । विदेश फर्केको जुवाइँले सम्पर्क गर्नै छाडेको वा उतै अर्को बिहा गरेको पन्जाबी उदाहरण यता पनि अचेल अलि धेरै नै सुनिन थालेको छ । ‘परित्यक्ता’ हरूको समस्या बिस्तारै देखिन थालेको छ र निकट भविष्यमा पक्कै बढ्नेछ ।

छोरालाई विदेश पठाएका आमाबाबु धेरैले भोग्ने गरेको समस्या भने आफैँ परित्यक्त हुनु हो । छोराले काम पाएर पैसा पठाउन थालेपछि बुहारी बाउँठिन थाल्छे । बुहारीका छोराछोरी पनि रहेछन् भने त तिनलाई पढाउन भनेर गाउँको घर र सासुससुरा छाडेर नजिकको बजारमा छुट्टै बस्न थाल्छे । छोराले पैसा बुहारीका नाममा पठाउँछ । पैसा बुहारीले नै खर्च गर्छे ।

उता छोरा पठाउँदा बाबुले रिन लिएको हुन्छ । साहु, सहकारी र बैंक रिन दिने जो भए पनि ताकेता लगाउन थाल्छ । बुहारीले घर छाडेपछि बूढा बाआमाले खसीबोका, गाईभैँसी पाल्न छाडे । बुहारी हुँदासम्म मेलापर्म गरेर खेताला जुट्थे । पर्म लगाउन नसकेपछि खेती गर्न पनि सकेनन् । अब भोकै मर्नुपर्ने अवस्था देखिन थाल्यो । अर्कातिर रिन नतिरेपछि धितो राखेको जमिन पनि लिलाम हुने भयो । यी परित्यक्तहरू पनि वैदेशिक रोजगारीको भारीले थिचिएर सकीनसकी बाँच्न विवश छन् ।

पति वा पत्नीले विदेशमा काम गरेर पठाएको पैसाले ‘मस्ती’ गर्नेहरूको कथा पनि अचेल बग्रेल्ती सुनिन थालेको छ । समाजमा केही विकृति पनि पक्कै थपिको छ । वैदेशिक रोजगारी भएन भने जीवन शैलीमा देखिएको परिवर्तन धान्न सहज नहुनसक्छ । नेपाली समाजले अहिले अपनाउँदै गएको उपभोक्ता संस्कृतिले ऋणमा डुबाएर अधमरो जीवन बाँच्न विवश बनाउने जोखिम पनि छ । 

देशको अर्थतन्त्र धान्ने र चलाइराख्ने वैदेशिक रोजगारीबाट फाइदा पक्कै पनि धेरै नै होलान् । यसो भन्दैमा यसका अध्याँरा पक्षको बेवास्ता गर्नुपर्छ भन्ने त छैन होला नि ! यसैले कम्तीमा बेलैमा वैदेशिक रोजगारीको सामाजिक प्रभावका सम्बन्धमा व्यापक अध्ययन गर्नु बेस होला । थाहा भएका दुर्गुण त चाहेदेखि हटाउन सकिन्छ नि !

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro