site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रश्न : ७० कटेकासँग प्रतिस्पर्धा गरेर अध्यक्ष, उपाध्यक्ष र महासचिव बन्न कसले रोकेको छ ?
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपयोगी नभएकाले आफ्नो पार्टीले सत्तरी वर्षको उमेरहद हटाउने निर्णय गर्नुपरेको बताएका छन् । 

७० वर्ष माथिकाले काम गर्न सक्ने अवस्थामा पनि राजनीति छोडनुपर्ने अप्ठ्यारो अवस्था आएको, कतिपय अन्य पार्टीबाट आएका नेताहरुलाई पनि जिम्मेवारी दिनुपर्ने भएकाले त्यो उमेरहद हटाउने निर्णय गर्नुपरेको ओलीको स्पष्टीकरण छ ।

Argakhachi Cement Island Ad

अखिल नेपाल महिला संघ, वाग्मती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीनलगायतका दुनियाँका सबै पार्टीहरुले परित्याग गरिसकेको ७० वर्षे उमेरहद हटाउने निर्णय एमालेले गर्दा त्यसको विरोध गर्न आवश्यक नभएको बताए ।

केहीले पार्टीको सो निर्णयको विरोध गरेर अराजनीतिक कुरा गरेको आरोप लगाउँदै ओलीले पार्टीका युवाहरुलाई ७० वर्ष कटेकाहरुसँग प्रतिस्पर्धा गरेर महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव बन्न कसले रोकेको छ ? भन्ने प्रश्न गरे ।

“हामीलाई पनि उपयुक्त भएन । यसले प्रगति गर्न अप्ठ्यारो पार्‍यो । त्यसकारण हामीले हटाउने भन्यौं । यसमा फेरि हाम्रा साथीहरु किन यो ७० हटाउने कुरा भएन के ? ए बाबा, चुनाव लडनुस्न आउँदो महाधिवेशनमा । हुनुस्न अध्यक्ष, कसलाई मन लाग्छ,” उनले भने, “उपाध्यक्ष, महासचिव हुनुस् । झन् राम्रो भयो नि त । ७० वर्ष पुगेकाले पनि पाउने भए त । राम्रै भयो त । सबैले लड्न पाउने भए ।”

काम गर्न सक्छन् भने ७० वर्ष कटेकाहरुलाई पार्टीभित्र प्रतिबन्ध लगाउनुपर्ने कुनै कारण नरहेको ओलीको तर्क थियो । काम गर्न सक्नेलाई उमेरहदको नाममा जिम्मेवारीबाट रोक्नुपर्ने कुनै कारण नरहेको पनि उनले पटकपटक दोहोर्‍याए ।

ओलीले २०८४ सालको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने मिसन लिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने गरी वडावडामा गएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

ओलीले देशविरोधी शक्तिहरु एमालेविरुद्धमा लागिपरेको आरोप समेत लगाए ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्