काठमाडौं । रंगीन दुनियाँ अर्थात् सिनेमा क्षेत्र । चलचित्र उद्योगलाई धेरैले रंगीन दुनियाँ भन्छन् । जहाँ कामले भन्दा अनुहारले धेरै अर्थ राख्छ । वास्तविकताभन्दा धेरै हल्ला हुन्छ । र, त्यही हल्लाले पनि धेरै काम हुन्छ । भलै, पछिल्लो दशक अनुहार र हल्लाले मात्र काम चल्दैन, यथार्थमै काम हुनुपर्छ ।
अझै चलचित्र क्षेत्रमा कामसँगै हल्ला हुन भने छोडेको छैन । यसको उदाहरणका रूपमा निर्माताले गर्ने सिनेमा निर्माणको घोषणा र यथार्थमा निर्माण हुने चलचित्रलाई लिन सकिन्छ । यहाँ जति सिनेमा निर्माणको घोषणा गरिन्छ, उत्तिकै संख्यामा नबन्ने चलचित्र निर्माणको पनि घोषणा हुन्छ ।
तामझामका साथ निर्माताले सिनेमा निर्माणको घोषणा गर्छन् । ठूलो संख्यामा राम्रै भेन्युमा मोटो रकम खर्चिएर चलचित्र निर्माणको घोषणा गर्ने गरिएको लामो समय भइसक्यो ।
‘दीपेन्द्र सरकार’ भनौँ वा ‘एक्स–९’ अर्थात् अनटाइटल मुभी – हिँडेर अमेरिका जाने कथामा बन्ने भनिएको सिनेमा । दुई वर्षअगाडि ‘एक्स–९’ निर्माण पक्षले त भारतीय सुपरस्टार सुनील सेट्टीलाई आफ्नो चलचित्रमा खेलाउने घोषणा नै गर्यो ।
निर्माण पक्षले सेट्टीलाई अफर गरेर उनले स्वीकार पनि गरिसकेको भनिएको थियो । उनी फेब्रुअरीको तेस्रो साता नेपाल आउने र यहाँ ६ दिन बस्ने बताइएको थियो । सेट्टी ‘एक्स–९’ छायांकनका लागि बडीमालिका, खप्तड, बैतडीको पाटन र कैलालीका विभिन्न ठाउँमा जाने तय भइसकेको थियो । सेट्टीको सुटिङ करिब १२ दिन हुने र बाँकी छायांकन स्कटल्यान्डमा गर्ने पनि बताइएको थियो ।
यस्तो छ सुनील सेट्टीको नेपालमा सुटिङ र बसाइको सेड्युल
“मैले स्क्रिप्ट पिच गर्दा नै उहाँले यस्तो चलचित्र नेपालमा पनि बन्छ ? भनेर भन्नुभयो,” निर्देशक मुकुन्द भट्टले बाह्रखरीसँग भनेका थिए, “उहाँले मेरो चलचित्र एलसी हेर्नुभएको रहेछ । एलसी–२ पनि हेरिसकेकाले उहाँले एलसी–२ को सटको प्रशंसा पनि गर्नुभयो । त्यसैले यो प्रयास र प्यासनका लागि प्रभावित भएको भन्दै ‘तपाईंसँग काम गर्न तयार’ रहेको बताउनुभयो ।”
चलचित्रको बजेट १२ करोड रुपैयाँ अनुमानित रहेको भट्टले बताएका थिए । नेटफ्ल्क्सि, अमेजन वा हटस्टारलगायत डिजिटल प्लेटफर्ममा रिलिजका लागि आफूले बलिउडको ठूलो अनुहारलाई लिएर चलचित्र बनाउन लागेको पनि उनले बताएका थिए । यसका लागि हलिउडबाट नायिका लिने तयारी गरिरहेको उनको भनाइ थियो ।
वेब सिरिजमा काम गरिरहेकी नायिकासँग अनुबन्धका लागि तयारी भइरहेको उनले बताएको समाचार सार्वजनिक भएको थियो । तर, यो चलचित्र आजसम्म बनाइएको छैन ।
निर्माता सन्तोष सेनले ‘दीपेन्द्र सरकार’ निर्माणको घोषणा गरेको पनि थुप्रै वसन्त बितिसक्यो । तर, अझै यो चलचित्र बनाइएको छैन । प्रदीप खड्का मुख्य भूमिकामा रहने भन्दै ठूलो कार्यक्रम आयोजना गरेर निर्माणको घोषणा गरिए पनि चलचित्र कहिले बनाउने भन्ने टुंगो छैन ।
यी त भए पछिल्ला केही उदाहरण । यस्ता सयौँ चलचित्र छन्, निर्माण गर्ने भनेर निर्माताले मिडिया बोलाएर घोषणा गरे । निर्देशक छनोट भएका खबर छपाए । कलाकार अनुबन्ध भएका समाचार आए । तर, वर्षौँ बित्छ सिनेमा बनाइँदैन । त्यसैले धेरैको टिप्पणी हुने गर्छ– सिनेमा उद्योगमा काम कम हुन्छ, हल्ला धेरै ।
किन ?
“पूर्वतयारीको कमी,” निर्देशक दीपेन्द्र के खनालको जवाफ छ । हिँडेर अमेरिका जाने कथामा चलचित्र बनाउने घोषणा गरेको उनकै निर्माण टिमले हो । शर्मिला पाण्डेले निर्माण गर्ने, दीपेन्द्र के खनालले निर्देशन गर्ने र खगेन्द्र लामिछानेले अभिनय गर्ने भनेर चलचित्र निर्माणको घोषणा गरिएको थियो ।
किन हुनुभयो ब्याक ?
“मुख्य कुरा त बजेट नै हो । बजेटको क्यालकुलेसन गर्दा हामीले सुरुमा सोचेभन्दा धेरै बजेट निस्कियो । त्यसैले हामी पछि यो प्रोजेक्टबाट ब्याक भयौँ,” दीपेन्द्र केको जवाफ छ ।
त्यसो भए हचुवाका भरमा सिनेमा निर्माणको घोषणा हुन्छ ?
उनलाई यो स्वीकार्न हिचकिचाहट छैन । “नेपाली सिनेमा उद्योगको मुख्य समस्या यही त हो । जेमा पनि हतारहतार गर्ने, यो उद्योगको विशेषतै भइसक्यो,” उनी भन्छन्, “को मेकर छ यहाँ, जसले आरामले तीन÷चार वर्ष समय लिएर काम गर्छ ?”
सिनेमा घोषणामै के हो हतारो ?
“निर्माता वा निर्देशकको दिमागमा कथाको टाइटल फुर्छ । चलचित्र विकास बोर्डमा अर्कोले त्यही टाइटल दर्ता गर्ला कि भन्ने डरले उसले हतारहतार गएर सिनेमा दर्ता गर्छ,” दीपेन्द्र स्पष्ट पार्छन्, “ऊसँग वास्तवमा सिनेमाको टाइटलबाहेक केही हुँदैन । कथा हुँदैन । पटकथा हुँदैन । कतिपय सन्दर्भमा निर्माता हुँदैन । निर्माता भए बजेटिङको प्लान हुँदैन ।”
दिमागमा आएको कथाको आइडियामा सधैँ सिनेमा बनाइन्छ भन्ने निश्चित नहुने दीपेन्द्रको अनुभव छ । कथा लेख्दै जाँदा त्यो सिनेमा बनाउनका लागि लायक नहुने आफूले थुप्रैपटक अनुभव गरेको उनी सुनाउँछन् ।
“कहिले लेख्दै जाँदा घोषणा गरेको सिनेमाको कथा नै बन्दैन । कहिले बने पनि चित्त बुझ्दैन । कहिले कथा बने पनि निर्देशक र निर्मातालाई चित्त नबुझेपछि त्यो चलचित्र नै बन्दैन,” उनी भन्छन्, “यस्तै कारण हुन् घोषणा गरेर पनि चलचित्र नबन्नुको ।”
मेकरको सुरुको सोचमा विस्तारै बदलाव आउनु पनि घोषणा भएर सिनेमा नबन्नुको अर्को कारण भएको निर्देशक दिनेश राउत बताउँछन् । “अन्तिम समयमा आएर निर्माता ब्याक हुुनु, कलाकारलाई कथा मन नपर्नु, निर्देशकले भनेजस्तो कथा नहुनु पनि घोषणा भइसकेको सिनेमा नबन्नुको अर्को कारण हो,” दिनेश भन्छन् ।
तर, अफिसियल जानकारी गराएर निर्माणको घोषणा गरिएका भन्दा आन्तरिक रूपमा तयारी गर्दैगर्दा समाचार सार्वजनिक हुने र त्यसकै आधारमा सिनेमा बनेन भनिएका घटना धेरै हुने गरेको उनको जिकिर छ ।
आफ्नो नाम पनि निर्माणको घोषणा गरेर सिनेमा नबनाउने निर्देशकका रूपमा आउने गरेको उनी बताउँछन् । तर, निर्माताले अफिसियल घोषणा नगरेसम्म आधिकारिक मान्न नसकिने उनको जिरिह छ । कागजी प्रक्रिया पूरा गरेर अनुबन्ध नभएसम्म सिनेमामा अनुबन्ध भएको भन्न नमिल्ने उनको तर्क छ ।
“नेपाली सिनेमाको कमजोर पक्ष नै हतारो र चटारो हो । यसकै परिणाम हुन् कमजोर नेपाली सिनेमा,” निर्देशक दीपेन्द्र के भन्छन्, “हामी ढुक्कले काम गर्दैनौँ, सिनेमा मात्रै होइन, हामी हरेक कुरा चाँडो खोज्छौँ । केही पनि कुरा पाक्न निश्चित समय लाग्छ । हतारमा गरिएको कुनै पनि काम राम्रो हुँदैन ।”
सिनेमाको घोषणासँगै नेपालमा अक्सर मेकरले रिलिज डेट पनि अनाउन्स गर्छन् । कतिपय अवस्थामा चलचित्रको रिलिज डेट घोषणा गरिसक्दा मेकरसँग कथा पनि हुँदैन । “यसको असर आउटपुटमा देखिन्छ,” उनी भन्छन्, “हतारको काम पर्दामा कमजोर देखिन्छ । यसको असर व्यापार र प्रतिक्रियामा पर्छ ।”
निर्माता सन्तोष सेन सुरुमा सिनेमा निर्माणलाई सामान्य रूपमा लिनु नै यसको मुख्य कारण रहेको बताउँछन् । उनले ‘दीपेन्द्र सरकार’ सिनेमा निर्माणको घोषणा गर्नुअघि ‘मैले देखेको दरबार’ पुस्तकको कपिराइट लेखक विवेक शाहसँग लिए ।
पुस्तककै आधारमा मात्र सिनेमा बन्दैन थियो । त्यसका लागि थप अध्ययन तथा अनुसन्धान चाहिन्थ्यो । दरबारका परिवारका सदस्यसँग भेट्नुपर्थ्यो । त्यो प्रक्रिया सुरु भयो । अनि, उनले थाहा पाए– ‘मैले देखेको दरबार’को कपिराइट लिएकै भरमा सिनेमा नबन्ने रहेछ ! दरबारका फेमली मेम्बर र उनीहरूका आफन्तको पनि अनुमति चाहिन्थ्यो । दरबार पो एउटा थियो, त्योसँग जोडिने सयौँ थिए । कथा पनि तयार होला, तर त्यसलाई दृश्यभाषामा उतार्नुअगाडि ती फेमली मेम्बरलाई देखाउनुपर्थ्यो । सन्तोषले तयार पारेको कथामा उनीहरू सबैले चित्त बुझाउलान् ? सन्तोषकै शब्दमा ‘सम्भव थिएन ।’
“हामीले सुरुमा सोचेजस्तो नहुने पायौँ । एकजनाको चित्त बुझाएर नहुने भयो । सयौँको चित्त बुझाउन सम्भव भएन,” सन्तोष ‘दीपेन्द्र सरकार’ नबन्नुपछाडिको कारण सुनाउँछन्, “सिनेमाको ल्यान्डिङ दरबार हत्याकाण्ड नै थियो । त्यसमा हामीले न्याय गर्न सक्छौँ भन्ने लागेन । साझा भइसकेको विषयमा हामीले दरबारका सयौँ फेमली मेम्बरलाई चित्त बुझाएर उनीहरूले भनेजस्तो क्लाइमेक्स देखाउँदा दर्शकले विश्वास गर्छन् भन्ने लागेन । त्यसपछि जनताको गाली र ढुंगा खान करोडौँ किन खर्च गर्ने भन्ने निष्कर्षमा म पुगेँ ।” थुप्रै व्यक्ति र संस्थाको दबाब झेलेर सिनेमा बनाएर उल्टै गाली खानु उचित नलागेको उनी सुनाउँछन् ।
सुरुमा सिनेमा निर्माणलाई ‘इजी वे’का रूपमा लिनु नै घोषणा गरेर पनि चलचित्र नबनाइनुको मुख्य कारण भएको सन्तोषको अनुभव छ ।