काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले विधान अधिवेशनको तयारीलाई तीव्रता दिएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी नेतृत्वको विधान अधिवेशन मूल व्यवस्थापन समितिले विधान अधिवेशनको तयारीलाई तीव्रता दिएको छ ।
सोमबार बसेको समितिको बैठकमा मूल समिति अन्तर्गत गठन गरिएका उपसमितिहरूले गरेका आ–आफनो तयारी र कार्य योजनाबारे रिपोर्टिङ भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले प्रचारप्रसार उपसमिति, भोजन तथा आवास उपसमिति, आर्थिक उपसमिमित, स्वयमसेवक परिचालन उपसमिति गठन गरेको छ ।
जसपाले विधान अधिवेशनलाई मितव्ययी रूपमा सम्पन्न गर्ने योजना बनाएको छ । जसअनुसार खाना र खाजाको व्यवस्था आयोजक समितिले गर्ने र आवासको व्यवस्था स्वयम् प्रतिनिधिले गनुपर्नेछ । प्रत्येक प्रतिनिधिले एक हजार प्रतिनिधि शूल्क बुझाउन पर्नेछ । केन्द्रीय तहका नेताहरूका लागि प्रवेश शूल्क पन्ध्र सय रुपैयाँ तोकिएको छ ।