काठमाडौं । सुदील राईको निर्णायक गोलप्रेरित विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा हिमालयन शेर्पा क्लबमाथि १-० को कठिन जित निकालेको छ ।
शुक्रबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलको छैटौँ मिनेटमा सुदीलले गोल गरेका थिए । विमल पाण्डेको फ्रिकिकलाई पेनाल्टी बक्सभित्र अनमार्क रहेका सुदीलले निन्त्रणमा लिँदै गोल गरेका थिए ।
जितसँगै २६ खेलमा ३४ अंक जोडेको आर्मी छैटौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको हिमालयन शेर्पा ३१ अंकका साथ दशौँ स्थानमा छ ।
लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले जितिसक्दा शुक्रबारसम्म रेलिगेसनमा पर्ने एक टिमको टुंगो लागेको छ ।
चर्चसँगै शीर्ष डिभिजनमा बढुवा भएको फुटबल क्लब खुमलटार पुनः 'बी' डिभिजन लिगमा घटुवा भएको छ । अब भोलि हुने थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीचको खेलमा रेलिगेट हुने अर्को एक टिमको टुंगो लाग्नेछ ।