
काठमाडौं । महँगीको मार ज्यालादारीमा काम गर्नेले बढी भोग्नुपरेको देखिएको छ । राष्ट्र बैंकका अनुसार वैशाखमा ७.४१ प्रतिशत मूल्यवृद्धि भएको छ । जुन गत वर्षको तुलनामा बढी हो ।
यसको अर्थ गत वर्ष एक सय रुपैयाँमा पाइने सामान अहिले १०७ रुपैयाँ ४१ पैसा पर्छ ।
गत वर्षको तुलनामा मूल्यवृद्धिदर भने कम देखिएको छ । गतवर्ष ७.७६ प्रतिशत मूल्यवृद्धि थियो । गत वैशाखमा चैतको तुलनामा कम मूल्यवृद्धिदर देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चैतमा उपभोक्ता मूल्यवृद्धि ७.७६ प्रतिशत थियो । वैशाखमा ७.४१ प्रतिशत मूल्यवृद्धि रहेको छ । राष्ट्र बैंकको तथ्यांकले जागिर खानेले महँगीलाई थेग्न सके पनि ज्यालामा काम गर्नेलाई महँगीले समस्या पारेको देखिएको छ ।
गत वैशाखमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ७.६४ प्रतिशतले बढेको छ । मूल्यवृद्धिको हिसाबले जागिर खानेको तलब सूचकाङ्क १२.३९ ले बढ्दा ज्याला ६.२९ प्रतिशतले बढेको छ ।
मूल्य बढेको हिसाबले तलब खानेलाई सहज भए पनि ज्यालामा काम गर्नेलाई निकै कठिन भएको देखिन्छ । मूल्य बढेको हिसाबले ज्याला नबढेको राष्ट्र बैंकले तथ्यांकले देखाएको छ । ज्यालामा काम गर्नेलाई बढेको ज्यालाभन्दा महँगी १.१२ प्रतिशत विन्दुले बढी छ ।
यस हिसाबले ज्यालादारीमा भएकाहरू बढी मर्कामा परिरहेका छन् । राष्ट्र बैंकका अनुसार वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रह्यो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.२७ प्रतिशतले बढेको छ ।
क्षेत्रगत हिसाबले हेर्दा काठमाडौं उपत्यकामा बस्नेले महँगी बढी भोग्नुपरेको छ । काठमाडौं उपत्यकामा ७.६८ प्रतिशत, तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ वैशाख महिनामा यी क्षेत्रहरूमा क्रमशः ७.३९ प्रतिशत, ८.१५ प्रतिशत, ७.८९ प्रतिशत र ८.२१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०८० वैशाख महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.३१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १६.०६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.०४ प्रतिशत र ४.३३ प्रतिशत रहेको छ भने उपभोग्य वस्तुको थोक मूल्य ३.१२ प्रतिशतले घटेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २.६८ प्रतिशत रहेको छ ।