site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
संसद्‌मा लोकतान्त्रिक अम्यासको अभाव

हाम्रो संसद्ले लोकतान्त्रिक अभ्यास गरेको खासै सुनिदैन । सुनिन्छ त एकोहोरो विरोध, उल्फत र चर्को चिच्याहटको आरोपप्रत्यारोप । गरिमामय अभ्यास अझै गर्न हाम्रो संसद् सक्षम देखिएको छैन । यसका धेरै कारण होलान् । किन नेपालको संसद् लोकतान्त्रिक अभ्यासमा चुकेको हो ? अनुसन्धानकै विषय हो । 

केही उदाहरणमध्ये त पहिलो त सांसदहरूले बोल्ने स्वतन्त्रताकै दुरुपयोग गरेको देखिएको छ । त्यहाँको प्रस्तुति सुन्दा टिठ लाग्दो र अर्थहीनजस्तै लाग्छ । अध्ययनहीन । के सुन्नु यस्तो निरर्थक र एकअर्कामाथि आरोप एवं तिक्त टिप्पणीको बौछार भनेजस्तो हुन्छ । व्यक्त आवाजमा आफू वा आफ्नो पक्ष दूधले धोएको अनि अर्को पक्ष चाहिँ हिलैहिलोमा लतपतिएको भन्ने खालको कुतर्क । के सुन्नु ? के सिक्नु ? 

विवेक बोल्दैन त्यहाँ । स्वतन्त्रता मुखरित सुनिदैन त्यहाँ । टेबलको ताली ढ्याप ढ्यापमात्र सुनिन्छ त्यहाँ । हल्ला गुञ्जिन्छ । दलको ह्विप बोल्छ । त्यही निर्णय गर्छ । बहस त स्वतन्त्र विवेकले गरे हुन्थ्यो नि ! विवेकले निर्णय प्रभावित गर्ने हो । जनताको कान पनि, विवेक पनि र विचार पनि लाभान्वित हुने गरी त्यहाँ सांसदले बोल्दिए कस्तो हुँदो हो ? कस्तो सुनिदो हो ?  

KFC Island Ad
NIC Asia

गरिमामय संसद् भनिन्छ । किन होला ? जनप्रतिनिधिको थलो भनिन्छ तर त्यहाँ व्यक्त गरिन्छ आआफ्नै कुण्ठा, अहंकार र घोचपेच । सुन्न र सिक्न चाहने नागरिक युवाले त्यहाँबाट निस्कने कर्कश ध्वनिबाट सिक्ने के होला ? बुझ्ने के होला ? कस्तो राजनीतिक संस्कारको विकास होला ? वक्ता सांसद्ले मैले कस्तो सन्देश र संस्कार प्रवाहित गरेको छु भन्ने चिन्तन कहिल्यै गरेका होलान् ? सुन्दा त्यस्तो सुनिदैनन् । 

संसद् के हो ? के सबै सांसद यस्तै दुच्छर अभिव्यक्तिका पर्याय देखिन्छन् र ?  के सबै सांसद सधैँ वा बैठकमा आपसी आरोप, प्रत्यारोपको पोको मात्र बोकेर संसद् भवनभित्र छिर्छन् र ? तिनीहरू कसैसँग दृष्टिकोण, सभ्य तर मर्मस्पर्शी अभिव्यक्ति र गरिमामय लोकतान्त्रिक संस्कार छैन त ? 

Royal Enfield Island Ad

छन् केही राम्रा । छन् केही विचारवान् । छन् केही संस्कारी र संसदीय मर्यादा वा गरिमाप्रति सचेत सांसदहरू । तिनले पक्कै पनि जनप्रतिनिधि हुने दायित्व बुझेको सुनिन्छन् । तर, त्यो स्वर धिमा,  मसिनु छ । कानमा पर्नै गारो । राजहंशले पानीको ताल वा समुद्रको गहिराइबाट मोती चुनेजस्तो । 

गरिमामय संसद्का जनप्रतिनिधि भन्न लायक छन् केही सांसद । तर, केहीले पोखरी थमिल्याई दिएजस्तै हाम्रो संसद्को ‘सर्वजान्ने’ पहिचान बनाइदिएका छन् । मानौ ती कुनै दलका भरिया मात्र हुन् । विवेक, विचार र संवेदनहीन । भत्ताको लागि हाजिरी गर्ने पात्रमात्र हुन् कि भनेजस्ता । 

संसद् लोकतान्त्रिक उन्नत अभ्यास गर्ने ठाउँ हो । सभ्य विचारको स्रोत, संस्कारको संवाहक, गहिरो जानकारी र ज्ञान प्रवर्धक चिन्तन प्रवाहित गर्ने मुलुककै उच्च राजनीतिक संस्था हो संसद् । अपेक्षा यही हो । तर, भएको छ के ? प्रश्नले सांसदहरूसँग नै उत्तरको आग्रह राख्छ ।

दुई सदनात्मक हाम्रो संसद् छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा । यहाँ कुरा खासमा यिनैको गर्न खोजिएको हो । त्यसो त प्रदेश सभा पनि छन् । पालिकापिच्छे परिषद् आदि पनि छन् । तर, तिनले सिक्ने संघीय संसद्कै ‘रिफ्लेक्सन’ हो । प्रतिविम्ब हो । प्रक्रिया पनि त्यस्तै समान छन् । 

हाम्रो राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै ‘नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहतः’ भनेजस्तो कुतर्कको तुमुल ध्वनिमा लिप्त वा लुप्त हुन् त ?  होइनन् । राष्ट्रिय सभा केही भिन्न छ । संयमी र संस्कारी सुनिन्छ । माथि भनिएजस्तै दुवैतिर राम्रा सांसद छन् – विचारले,  व्यवहारले र प्रवृत्तिले । राष्ट्रिय सभा अलि मर्यादित व्यक्त हुन्छ । यद्यपि, प्रतिनिधि सभा र दलहरूको ‘गन्धे’ बाछिटा त्यहाँ पनि पुगेको ध्वनित हुन्छ । 

आवधिक चुनाव लोकतान्त्रिक अभ्यास हो । राजनीतिक प्रक्रिया । संसद् लोकतन्त्रको प्रवृत्ति, पहिचान र संस्कार हो । देशको राजनीतिक पहिचानको विम्ब पनि संसद् नै हो । देशको छवि छायाँ प्रवाहित हुने मुख्य थलो यही हो । 

संसद् ( निर्वाचित जनप्रतिनिधिको संविधान सभा) ले संविधान बनायो । संविधान संसद्ले नै संशोधन गर्नसक्छ । ऐन, कानुन, नीति, नियम बनाउँछ । समग्रमा राजनीतिक, प्रशासनिक, कानुनी र आर्थिक बाटो वा मार्गचित्र तय गर्छ । सामाजिक दायित्व उद्बोध गर्छ । सीमा तोक्छ । स्वतन्त्रता दिन्छ ।

यस्तो अर्थात् संविधानको सीमाभित्र असीमित अधिकार प्रयोग गर्ने, गर्नसक्ने प्रतिनिधि सभा संसद्मा उपस्थित कति सांसद्ले यो गुरुत्व, दायित्व बोध गरेका होलान् ? चर्को चिच्याहटमा कोलाहल मच्चाउने उही ‘हतोहत’ प्रवृत्ति प्रवाहक सांसद्ले महत्त्वलाई कति अर्थ दिएका होलान् ? सांसद, संसद्ले नै संसदीय समिति बनाएर परख गर्दा हुन्थ्यो । 

घाँस,पराल र घुरलाई एउटै डुँडमा कोच्दा तीनको पहिचान छुट्याउन गारो हुन्छ । ती प्रत्येकको भिन्नभिन्न आकार, आकृति र विशेषता हुन्छ । सबैलाई एउटो डोकोमा बोक्नु चाराको लागि हुन्छ । समीक्षाको लागि तिनको प्रतिकेस्राको चिनारी पनि खोतल्नुपर्ने रहेछ । 

संसद्मा सहभागी प्रतिनिधि, राजनीतिक दल र स्वतन्त्र सांसद सबैको समान मूल्याङ्कन हुँदैन । तिनको मूल्य अर्थात् वैचारिक मूल्य भिन्नभिन्न छन् । संस्कार फरक छन् । प्रस्तुति विभिन्न हुन्छन् । समूहमा हुने यस्तै नै हो । भिन्नताहरूको प्रतिविम्ब । तर, हुने कस्तो ? प्रश्न यो हो । 

संसद् भौतिक भवनमात्रै होइन । त्यसभित्रको आत्मा सांसद हुन् । विचार हो । नीति,  नैतिकता हो । उच्च राष्ट्रिय अभिव्यक्ति हो । पढिन्थ्यो–बेलायतका विन्स्टन चर्चिल,  भारतका अटलविहारी वाजपेयी जब संसद्मा बोल्न उठ्थे तब संसद्मा पूरै ‘पिन ड्रप साइलेन्ट’ हुन्थ्यो । तन्मय सुन्थ्यो ।

संक्षिप्तमा भन्दा संसद्मा नेपाली कांग्रेसका सांसद अपेक्षाकृत संयमित सुनिन्छन् । प्रतिपक्षमा रहदा पनि कांग्रेस दल सम्बद्ध सांसद प्रायः सन्तुलित र मर्यादित नै सुनिएका हुन्छन् । प्रतिनिधि व्यक्तिको हैसियतमा अरू दलका सांसद पनि संयमित, सन्तुलित र मर्यादित सुनिन खोज्ने प्रवृत्तिका छन् । तर, तिनको नेतृत्व नै अराजक भएपछि ‘महाजनो येन गतः स पन्था’ हुने नै भयो । 

अहिलेको प्रतिपक्षको के कुरा गर्नु ? हलोदो चिनेपछि किन, कति कोट्याउनु ? ‘ओल्टी खुर्पा पल्टी धार, पल्टी खुर्पा तिघ्रै मार’ भनेजस्तो प्रतिपक्ष । दुई वर्षअघि अहिलेको प्रतिपक्ष सरकारको नेतृत्वमा थियो । त्यतिबेला यसले गरेका काम र बोलेको कुरा नेपाली सम्झनाले अहिले नै पक्कै बिर्सिएको छैन । 

भलै, नेकपा (एमाले(ले ‘गोयबल्स’ तरिकाले उल्टोपुल्टो चर्को आबाजमा संसद्लाई बन्दी बनाए पनि । वाणीको उच्चता बखान गर्ने ‘म किन बोल्छु’ लेखे पनि । व्यवहारमा ‘तुच्छता कि छुद्रता’ त देखिएकै छ । रास्वपा पनि यही बाटो अर्थात् एमाले बाटो हिड्ने सिको गर्न लागेको सुनियो । 

अनेकौँ उदाहरणमध्ये – पशुपतिनाथको जलहरीमा हराएको ११ किलो सुन एउटा हो । संसद्मा कुरा उठ्यो । प्रतिप्रक्षी दलका नेता भए चिरिक्क । उनले आफ्नो नेतृत्वको सरकारले योजना र पैसा दिएको हो । जलहरी बनाउने र व्यवस्थापन गर्ने म होइन, अर्कै निकायको जिम्मा हो । तिनले के, कसो गरे ? छानबिन गरौँ । दोषी खोजेर कारबाही गरौँ । भन्नुको सटो एमाले सांसद्ले उर्दीअनुसार नै संसद् बैठक घेरे । संसद्, सरकार चल्नै नदिनेगरी व्यवधान गरे ।

अनि हरायो ११ किलो सुन । संसद्को रेकर्डबाट यो कुरा मेटाइयो त के यो पच्यो ? हराएको हरायै हुने हो ? संसद्सँग जबाफ छ ? यस्तो लज्जा प्रवृत्ति अन्त कहाँ खोज्ने ? यही जलहरी काण्ड सबै भए, गरेका आर्थिक अनियमितता छोप्ने माध्यम बन्यो । सबैको मिलेमतो भयो । भ्रष्ट मुखहरू ‘तैं चुप मै चुप’ । क्याबात् !    

अन्त्यमा, नेपाली कांग्रेसका नेता सांसद विश्वप्रकाश शर्माको अस्ति व्यक्त विचार सबै माननीय सांसदको लागि मननीय हुने सुनियो । उनले संसद्मा गरिने अभिव्यक्ति मर्यादित, संयमित, सन्तुलित र गम्भीर एवं संस्कारी हुनुपर्ने बनाऊँ भन्ने भावको अभिव्यक्ति दिए । उनी वा कांग्रेसबाट निर्वाचित अधिक सांसद्ले यस्तै शैली पहिलेदेखि नै अपनाएको सुनिन्छन् । केही अध्ययनशील पनि छन् ।  

संसदीय प्रणाली विरोधीरू पनि संसद्मै छन् । तिनले संसद्लाई बदनाम, प्रभावहीन र मैलो बनाउन भएजति शक्ति, स्रोत र पहुँच प्रयोग गर्दैछन्, गरेका छन् । गन्तव्यहीन, दृष्टिदोषी र अँध्यारोबाट बोकिएका विरोधीले गर्ने नै भए । लोकतान्त्रिक पद्धतिको विरोधी, संसदीय प्रणालीको विरोधी र संविधानकै विरोधीबाट संसद् र सांसद्लाई बचाउने कसले ? पद्धति विरुद्धको दुरुत्साहन रोक्ने कसले ? यो पनि वैचारिक र गरिमामय संसद्कै जिम्मा । मननीय, माननीय सांसदहरूकै जिम्मा ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro