चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको जलविरे झरनामा बिहीबार रमाउँदै आन्तरिक पर्यटक । गर्मी बढेसँगै झरनामा नुहाउन र पौडी खेल्न आउने पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः कृष्ण आचार्य/रासस
काठमाडौं । पछिल्लो साता काठमाडौंमा निकै गर्मी महसुस गरिएको छ । काठमाडौंमात्रै नभएर देशभरका विभिन्न स्थानमा गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ । सिन्धुली, बाँके, चितवन, सप्तरीलगायत जिल्लामा अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द गरिएका छन् । तराईका जिल्लाहरुमा तातो हावा ‘लू’ चल्ने सम्भावना बढेको भन्दै सतर्कताका लागि सरकारले आग्रह गर्दै आएको छ ।
काठमाडौंमा औसतभन्दा चार डिग्री बढ्यो तापक्रम
काठमाडौंमा जुनयताका दिनहरुमा तापक्रम ३०-२ डिग्री सेल्सियसको हाराहारीमा छ । जुन महिनामा सरदर तापक्रम २९.५ डिग्री हुनुपर्नेमा अधिकतम ३२ डिग्री सेल्सियसम्म पुगेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांक छ । काठमाडौंमा सरदरभन्दा चार डिग्री सेल्सियससम्म तापक्रम बढिरहेको मौसमविद् सुदर्शन हुमागाइँ बताउँछन् ।
अघिल्ला वर्षहरुको तुलनामा देशका अधिकांश स्थानको तापक्रम बढेको मौसमविद हुमागाइँ बताउँछन् । जुन महिनामा जनकपुरको सरदर तापक्रम ३४.१ डिग्री सेल्सियस हो । तर पछिल्ला दिनहरुमा सरदर नै ३९ डिग्री सेल्सियससम्म पुगेको छ । त्यस्तै, सुर्खेतमा सरदर ३३.६ हुने गरेकोमा अहिले ३५ हाराहारीमा छ ।
पछिल्ला केही दिनयता मध्य तथा पूर्वी तराईका जिल्लाहरुमा सरदर तापक्रम ३८ डिग्री सेल्सियसभन्दा बढी नै रहेको महाशाखाको तथ्यांक छ । शनिबारको तथ्यांकअनुसार रौतहटको गौरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस कटेको छ ।
मौसमविद् हुमागाइँका अनुसार नेपालमा सामान्यतः जुन १३ देखि मनसुन सुरु भइसक्नुपर्ने हो । तर, यसपटक भने सुरु हुने सम्भावना देखिएको छैन । पश्चिमी वायु र स्थानीय वायुको प्रणाली सक्रिय नभएकाले आगामी तीन दिनसम्म पनि पानी पर्ने सम्भावना न्यून छ ।
किन बढ्दै छ खडेरी ?
सुख्खा वर्षको संख्या बढ्दै जानु र सिजनअनुसार पानी नपर्नुलाई विज्ञहरुले जलवायु परिवर्तनसँग जोडेर व्याख्या गरेका छन् । ‘काठमाडौं इन्स्टिीच्युट आफ एप्लाइड साइन्सेस’की निर्देशक तथा वैज्ञानिक डा. हेमु काफ्ले पछिल्ला वर्षहरुमा सुख्खा हिउँद हुनु जलवायु परिवर्तनको प्रमुख असर भएको दाबी गर्छिन् ।
“प्राकृतिक प्रणाली त आफ्नो ठाउँमा छँदै छ । तर मानवीय गतिविधिले ग्लोबल वार्मिङ बढाउने काममा ठूलो भूमिका खेलेको छ । यसको असर मौसमी प्रणालीदेखि जनजीविका र मानव स्वास्थ्यसम्म परेको छ,” डा. काफ्ले भन्छिन् ।
अहिले पश्चिमी वायुलाई कमजोर बन्नु तथा वायुमण्डलमा आद्रता घट्नुमा ग्लोबल वार्मिङकै मुख्य भूमिका रहेको उनको दाबी छ । “पश्चिमी वायु नेपाल आइपुग्दासम्म पनि यहाँको तापक्रमका कारण कमजोर भएको देखिन्छ,” डा. काफ्ले थप्छिन् ।
उनका अनुसार बढ्दो सहरीकरण, खुम्चिँदो पानीका स्रोतहरु तथा मासिदो वनजंगलले ग्लोबल वार्मिङलाई बढावा दिएको छ । सन् १८८० यता पृथ्वीको तापक्रम प्रत्येक १० वर्षमा ०.०८ डिग्री सेल्सियसका दरले बढ्दै गएको छ भने सन् २०२२ यो शताब्दीको छैटौँ गर्मी वर्षको रुपमा रेकर्ड भएको छ ।
गर्मीका कारण देखिन सक्छन् यी स्वास्थ्य समस्या
गर्मी महिनामा तापक्रम वृद्धिसँगै तराईका जिल्लाहरूमा तातो हावा ‘लू’ चल्न सक्ने सम्भावना हुन्छ । लूका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने भन्दै सतर्कताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आएको छ ।
लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान आग्रह गरिएको छ । हल्का लुगा लगाउन, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, पटक–पटक पानी तथा झोल पदार्थ (जुस, सर्वत आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीबाट सुझाव लिनसमेत मन्त्रालयले आग्रह गरेको छ ।
बालबालिका लूको जोखिममा, कसरी जोगाउने ?
लूको जोखिममा बालबालिका बढी भएकाले उनीहरुलाई जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न सुझाव दिएको छ । बालबालिकालाई साथमा सधैँ पानीको बोतल राखिदिन, कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउन प्राधिकरणको सुझाव छ ।
यस्तै, हल्का रङको सुतीको कपडा लगाइदिन, टाउको ढाकेर राखिरहन, जंक फुडको प्रयोग नगर्न पनि सुझाव दिइएको छ । मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिने गरे पनि उनीहरुलाई जोगाउन सकिन्छ ।
यदि, बालबालिकालाई रिँगटा लागेमा, बान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा लैजान प्राधिकरणको सुझाव छ ।