
काठमाडौं । इब्राहिम जद्रानको उत्कृष्ट ब्याटिङप्रेरित अफगानिस्तानले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेलमा ६ विकेटको सहज जित निकालेको छ ।
शुक्रबार महिन्दा राजापाक्षे अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको २६९ रनको लक्ष्य अफगानिस्तालने ४६.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानको जितमा जद्रानले ९८ रन बनाए । जद्रानले ९८ बलमा ११ चौका र दुई छक्का प्रहार गरे । रहमत साहले ५५ रन थपे । २५–१ को अवस्थाबाट यी दुईले १४६ रनको साझेदारी गर्दै अफगानिस्तानलाई १७१–२ को बलियो अवस्थामा पुर्याएका थिए ।
कप्तान हस्मतुल्लाह साहिदीले ३८, मोहम्मद नाबीले अविजित २७ र रहमनुल्लाह गुबर्जले १४ रन बनाए ।
श्रीलंकाका कासुन रजिथाले दुई विकेट लिए । लहिरु कुमारा र मथिसा पथिरानाले समान एक विकेट लिए ।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २६८ रनको योगफल खडा गरेको थियो ।
श्रीलंकाका चरिथा असलंकाले ९१ रन बनाएका थिए । धनन्जय डी शिल्भाले ५१ रन जोड्दा पथुम निसान्काले ३८ र दुसन हेमन्थाले २२ रन बनाए । कप्तान दासुन सनाकाले १२, एंगोलो म्याथ्युले १२ र कुशल मेन्डिसले ११ रन थपे ।
अफगानिस्तानका फजलहक फारुकी र फरिद अहमेदले दुई–दुई विकेट लिए । अज्मतुल्लाह ओमरजाई, मुजिब उर रहमान, नुर अहमेद र मोहम्मद नाबीले समान एक विकेट लिए ।
जितसँगै तीन एकदिवसीय खेलको शृंखलाका लागि श्रीलंका भ्रमणमा आएको अफगानिस्तानले १–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।