
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त बजेट आगामी आर्थिक वर्षका लागि ल्याएका हुन् ।
जसमा काठमाडौंसहित ६ महानगरलाई १० अर्ब ३१ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ६ महानगरपालिकामध्ये सबैभन्दा बढी पोखरालाई बजेट विनियोजन गरिएको छ ।
आगामी वर्षका लागि यो महानगरलाई दुई अर्ब ७६ करोड ३२ लाख रुपैयाँ रकम विनियोजन गरेको हो ।
त्यस्तै, काठमाडौं महानगरपालिकालाई दुई अर्ब १४ करोड ३१ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । ललितपुर महानगरभन्दा बढी चितवनको भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि बजेट छुट्याएको छ ।
आगामी वर्षका लागि ललितपुर महानगरपालिकालाई एक अर्ब १३ करोड तीन लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यस्तै, भरतपुर महानगरपालिकालाई एक अर्ब ७५ करोड, विरगंज महानगरपालिकालाई एक अर्ब ३३ करोड २१ लाख र विराटनगर महानगरपालिकालाई एक अर्ब १९ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।