site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रिय सुरक्षामा बजेट : अध्यागमनमा ई-गेट, प्रतिरक्षा सामग्री उत्पादनमा आत्मनिर्भर बन्न केन्द्रित
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध अनुसन्धान प्रणालीलाई विश्वसनीय र भरपर्दो बनाउन सबै सुरक्षा निकायहरूलाई समयानुकूल, व्यावसायिक, दक्ष, आधुनिक र साधन स्रोत सम्पन्न बनाउँदै लगिने बताएका छन् । 

सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले सङ्गठित अपराध, वित्तीय अपराध, आत्महत्या, हिंसा, साइबर अपराध र लागुऔषधको अवैध ओसारपसारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा नवीनतम् प्रविधिको उपयोग गरिने बताए ।

“डिजिटल फोरेन्सिक ल्याबलाई स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक बजेट व्यवस्था गरेको छु,” अर्थमन्त्री महतले भने, “ नवीनतम् र आधुनिक प्रविधिको प्रयोग गरी अध्यागमन सेवालाई सरल, सहज र प्रभावकारी बनाइनेछ । अध्यागमनमा ‘ई–गेट’को सम्भाव्यता अध्ययन गरी प्रक्रिया अघि बढाइनेछ ।”

उनका अनुसार बजेटमा कारागार विस्तार, निर्माण र मर्मत सम्भारले प्राथमिकता दिइएको छ । केन्द्रीय कारागार नुवाकोटको तेस्रो चरणको पूर्वाधार निर्माण कार्य प्रारम्भ गर्ने, क्षेत्रीय कारागार नौवस्ता बाँकेको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने र मोरङ, पाँचथरलगायत थप आठवटा कारागार भवनहरूको निर्माण कार्यलाई निरन्तरता दिइने उनको भनाइ छ । 

मन्त्री महतले भने, “कारागार भवनको निर्माण तथा मर्मत सम्भारका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।” उनका अनुसार मुलुकका लागि आवश्यक सुरक्षा तथा प्रतिरक्षा सामग्री उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै लगिने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

नेपाली सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रम, मास क्याजुयल्टी ट्रिटमेन्ट सेन्टर निर्माण र शैक्षिक पूर्वाधार निर्माण गर्न आवश्यक रकम विनियोजन गरिएको छ । देशलाई आवश्यक सुरक्षा तथा प्रतिरक्षा सामग्री उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै लगिने बताइएको छ ।

बजेट प्रस्तुत गर्ने क्रममा उनले भने, “नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र राष्ट्रिय हितको रक्षाका लागि सक्षम बनाउने गरी नेपाली सेनाको क्षमता अभिवृद्धि गरिनेछ । राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी रूपले कार्यान्वयन गरिनेछ ।”

बजेटमा सङ्घीय शासन प्रणाली अनुरुप सङ्घ र प्रदेशमा प्रहरी समायोजन कार्य अगाडि बढाउने उल्लेख गर्दै अर्थमन्त्री डा महतले सार्वजनिक स्थलमा हुने महिला हिंसालगायतका सामाजिक अपराध नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गरिने बताए । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा नेपालको भूमिका बढाउँदै लग्ने उनले उल्लेख गरे ।

अर्थमन्त्री डा महतका अनुसार पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्दै लगिने कार्यक्रम समावेश छ । बजेटले राष्ट्रिय सेवा दल मार्फत राष्ट्रिय हित प्रति समर्पित, अनुशासित र वफादार युवा जनशक्ति विकास कार्यलाई निरन्तरता दिएको छ । विपद् तथा प्रकोप व्यवस्थापन र मानवीय सेवाका क्षेत्रहरूमा राष्ट्रिय सेवा दलबाट दीक्षित युवा परिचालन गर्ने व्यवस्था मिलाइनेछ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro