site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमा बढेर आयो बजेट : पूर्वाधारसँगै जनस्वास्थ्यका कार्यक्रमलाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि ८३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम चालु वर्षको तुलनामा १४ अर्ब ६१ करोडले बढी हो । चालु आर्थिक वर्षमा संघतर्फ ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब २६ करोड र स्थनीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ रकम छुट्याइएको थियो ।

आगामी आर्थिक वर्षको बजेटले स्वास्थ्यका पूर्वाधार विकाससँगै औषधि, उपचार खर्च तथा जनस्वास्थ्यका विषयलाई प्राथमिकतामा राखेको छ । अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा सोमबार प्रस्तुत गरेको बजेट वक्तव्यमा स्वास्थ्यमा नयाँ कार्यक्रमहरुको उपस्थिति नगण्य देखिएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ मा सरकारले ३२२ वटा आधारभूत अस्पताल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । त्यसका लािग आठ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । चालु्ु अर्थिक वर्षमा ६५५ वटा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब रुपैयाँ मात्रै छु्ट्याइएको थियो ।

Dabur Nepal
NIC Asia

त्यस्तै, आगामी आगामी वर्ष सञ्चालनमा आउने १०० वटा अस्पतालमा स्वास्थ्य उपकरण खरिदका लागि ८२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अहिले कार्यान्वयनमा रहेको ९८ प्रकारका आधारभूत औषधि निःशुुल्क वितरण तथा खोप कार्यक्रमका लागि एक अर्ब २८ करोड रुपैयाँ छुट्याएको छ । यसमा स्वदेशमै उत्पादित औषधि खरिदलाई प्राथमिकता दिइने उल्लेख छ ।

हाल सञ्चालनरत क्षयरोगमुक्त नेपाल अभियानलाई एक अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । एचआईभी एड्स, यौनरोग तथा कुुष्ठरोग नियन्त्रणका कार्यक्रमलाई पनि बजेटले प्राथमिकतामा राखेको अर्थमन्त्री प्रकाशशरण महतले बताए ।

विपन्न परिवारलाई आठवटा घातक रोगको उपचारका लागि दिइने उपचार खर्चका लागि दुई अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यो बजेटबाट मुुटुरोग, मिर्गौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुुरी, स्पाइनल इन्जुुरी तथा सिकलसेल एनिमियाका बिरामीलाई उपचार खर्चबापत न्यूनतम एक लाख रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, मिर्गौला प्रत्यारोपण गरेका तथा डायलायसिस गराइरहेका, सबै प्रकारका क्यान्सर रोग निदान भएका र मेरुदण्ड पक्षघातका बिरामीलाई उपचारबापत प्रदान गर्दै आएको मासिक पाँच हजार रुपैयाँ उपचार खर्चलाई बजेटले निरन्तरता दिएको छ ।

आमा सुरक्षा कार्यक्रम र गर्भवती तथा सुत्केरी उद्धारका कार्यक्रमलाई निरन्तरता दिइएको छ । पाठेघरको मुखको क्यान्सरको उपचार र रोकथामका कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध ९ देखि १४ वर्षका बलिकालाई दिइने एचपीभी खोपलाई विस्तार गरिने बजेटमा उल्लेख छ ।

सरकारले आगामी आर्थिक वर्षमा सबै संघीय अस्पतालहरूबाट मिर्गोलाको प्रत्यारोपण सेवा र बाँझोपनको उपचार हुने व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ ।

त्यस्तै, आगामी अर्थिक वर्षमा सरुवा रोग अस्पताल विस्तारका लागि ४६ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । सो रकम शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल ३०० शैय्या विस्तार गर्न प्रयोग गरिनेछ । त्यस्तै, पोखरा, सुर्खेत, भरतपुर र डोटीमा प्रदेशस्तरका सरुवारोग अस्पताल विस्तार गरिनेछ ।

उपत्यकाबाहिर ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । रूपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्न आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

वीर अस्पतालमा सञ्चालनमा ल्याउन लागिएको बर्न वार्डलाई स्तरोन्नति गरी बर्न सेन्टर बनाइने बजेटमा उल्लेख छ । पाटन मानसिक रोग अस्पतालको क्षमता बढाउने र सबै संघीय अस्पतालमा मानसिक रोग सेवा विस्तार गर्ने बजेटमा उल्लेख छ ।

जेरियाट्रिक वार्ड विस्तार गर्ने विषयलाई बजेटले निरन्तरता दिएको छ । वैकल्पिक उपचार सेवा विस्तार, केन्द्रीय प्रयोगशालाको क्षमता वृद्धि, अस्पतालहरुका लागि उपकरण थपलगायतका विषयलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।

स्वास्थ्य जनशक्तिको प्रोत्साहनका लागि पनि बजेटले केही कार्यक्रम समेटेको छ । सरकारी स्वास्थ्य संस्थामा एक चिकित्सक एक स्वास्थ्यकर्मी कार्यक्रमका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताललाई दिइएन

सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटमा स्वास्थ्य बिमा निजी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रमबाट हटाइएको छ । “स्वास्थ्य बिमा कार्यक्रम सबै सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट प्रदान गरिनेछ,” बजेटमा भनिएको छ ।

चालु आर्थिक वर्षको बजेटमा पनि सरकारी र सामुुदायिक अस्पतालबाट मात्रै बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । तर, यसबीचमा निजी अस्पतालबाट समेत बिमा सेवा दिइँदै आएको थियो । मेडिकल कलेज र निजी अस्पतालबिना बिमा कार्यक्रम प्रभावकारी नहुने विषयमा बहस हुँदै आए पनि यसपटकको बजेटबाट निजीलाई हटाइएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro