
काठमाडौं । पहिलो चार मिनेट भित्रै दुई गोल गर्न सफल इन्टर मिलानले शनिबार राति घरेलु मैदानमा एटलान्टामाथि ३–२ को विजय हासिल गरेको छ । यस जितसँगै इन्टरले इटालियन सिरी ‘ए’को शीर्ष चारमा स्थान पक्का गरेको छ ।
जितपछि सिमोनी इन्जाघीको इन्टरले ६९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । जुन पाँचौँ स्थानको एटलान्टाभन्दा आठ अंकले अगाडि हो । इन्टर र एटलान्टा दुबैले लिगमा अब एक खेलमात्र खेल्न बाँकी छ ।
६८ अंकसहित तेस्रो स्थानमा रहेको लाजियोले आइतबार राति क्रेमोनेजविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यस्तै ६४ अंकसहित चौथो स्थानमा रहेको एसी मिलानले युभेन्टसविरुद्ध प्रतिस्पर्धा गर्नेछ । युभेन्टसले १० अंक कटौतीको कारवाही भोगेपछि ५९ अंकका साथ सातौँ स्थानमा झरेको छ ।
गएराति इन्टरले घरेलु मैदानमा रोमेलु लुकाकुको गोलबाट ३९ सेकेन्डमै अग्रता लिएको थियो । निकोलो बरेलाले तेस्रो मिनेटमा इन्टरको अग्रता दोब्बर बनाए । ३६औँ मिनेटमा एटलान्टाका मारियो पासालिकले गोल गर्दै अन्तर कम गरे । ७७औँ मिनेटमा इन्टरका लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अन्तर पुनः बढाए । इन्जुरी समयमा आन्द्रे ओनानाको आत्मघाती गोलमा एटलान्टाले अन्तर कम गरे पनि पुनरागमनका लागि धेरै ढिला भैसकेको थियो ।
जितपछि प्रशिक्षक इन्जाघीले खेलाडीको प्रशंसा गरे ।
‘‘म धेरै खुशी छु । टिमलाई धेरै बधाई छ । आजको साँझ धेरै महत्वपूर्ण छ । किनकी हामीले पछिल्लो ४७ दिनमा १८ खेल खेल्यौं,’’ इन्जाघीले भने, ‘‘यी खेलाडीहरूले मेरो लागि सबै प्रयास गरे । मिहिनेत गरे ।’’
इन्टरले अब लिगमा अन्तिम खेल टोरिनोविरुद्ध खेल्नेछ । त्यसपछि इन्टरले यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध प्रतिस्पर्धा गर्नेछ । च्याम्पियन्स लिगको फाइनल इस्टानबुलमा १० जुनमा हुनेछ ।
‘‘हामी सबैलाई थाहा छ, सिटी अहिले विश्वकै बलियो टिम हो । उनीहरू उपाधिका दाबेदार हुन् । तर, हामी आज जस्तै त्यस साँझ पनि आफ्नो तर्फबाट सम्पूर्ण प्रयास गर्नेछौं,’’ इन्टरका प्रशिक्षक इन्जाघीले च्याम्पियन्स लिग फाइनलबारे भने ।
रोमाको शीर्ष चार सम्भावना समाप्त
अन्तिम पाँच मिनेटमा दुई गोल खाएपछि एएस रोमाले गएराति फियोरेन्टिनालाई २–१ को नतिजा सुम्पिएको छ । यससँगै रोमाको शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना समाप्त भएको छ ।
पाहुना टोली रोमाले ११औँ मिनेटमा स्टेफन इल सारावेको गोलबाट अग्रता लिएको थियो । ८५औँ मिनेटमा फियोरेन्टिनाका लुका जोभिकले बराबरी गोल फर्र्काए । खेल सकिन दुई मिनेट बाँकी हुँदा जोनाथन इकोनेले अर्को गोल थपेपछि फियोरेन्टिनाले तीन अंक पक्का गरेको थियो ।
हारपछि जोजे माउरिन्होको रोमा ६० अंकका साथ छैटौँ स्थानमा छ । जुन चौथो स्थानको एसी मिलानभन्दा चार अंकले पछाडि हो । मिलानले अझै एक खेल कम खेलेको छ । विजयी फियोरेन्टिना ५३ अंकका साथ नवौँ स्थानमा छ ।