site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चन्द्र भण्डारीको जलन उपचार अनुभव : हरेक पटकको ड्रेसिङ मृत्यु नजिक पुगेझैँ लाग्थ्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । जेठ १० गते बुधबार, संसद्‌मा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको अन्तिम छलफल थियो । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई कतिबेला सदनमा पुगेर आफ्ना कुरा राखौँ भन्ने हुटहुटी थियो । बोल्ने कुरा नेपाल आइनपुग्दै तयार गरेका थिए ।

भर्खरै छाला फेरिएको अनुहार । भित्रैसम्म घाउ भएको दाहिने हात । भर्खरै निको हुन थालेका हत्केला र खुट्टा संसद् भवनसम्म पुगेर बोलेर फर्किनु सहज थिएन, उनका लागि । परिवार र शुभचिन्तक निकै चिन्तित थिए– कसरी संसद् पुगेर बोल्ने होला ?

तर, सांसद भण्डारीको आत्मविश्वासले सबैलाई ढुक्क बनायो । श्रीमती, स्वकीय सचिव र सहयोगीका साथमा उनी संसद् भवन पुगे । जलनको तीन महिना बितिसक्दा पनि घाउ आलोजस्तै छ । तर, आत्मबल भने पहिलेजस्तै ।

Prabhu Bank
Agni Group
NIC Asia

“१२ मिनेटको समय दिइएको थियो । मैले त समय बितेको पत्तै पाएनछु धेरै बोलिसकेछु । अझै २–४ कुरा त भन्नै बाँकी थियो,” उनले हाँस्दै सुनाए ।

Chandra-BHandari1684918990.JPG

Global Ime bank

बलियो आत्मबलले तंग्रयाएको शरीर
बिहीबार साँझ सांसद भण्डारी बस्ने पुरानो बानेश्वस्थित डेरामा पुग्दा उनी स्वस्थ व्यक्तिझैँ देखिन्थे । "अहिले त म मेन्टल्ली एकदमै एक्टिभ भइसकेँ नि," कुराकानीको सुरुमै उनले सुनाए ।

अगाडि थपे, "दायाँ हातमा निकै गहिरो चोट छ । दुईपटक अप्रेसन भयो । बायाँ हात र खुट्टाहरूमा नयाँ छाला फेरिँदै छ । दिनको तीनपटक फिजियोथेरापी गर्नुपर्छ । अब यो हातलाई काम गर्ने बनाउनु छ ।"

बिहान साढे ५ बजे नै उठ्छन् । समाचारहरू हेर्छन् । सामाजिक सञ्जाल हेर्छन् । ७ बजेसम्म सामाचारमा नै समय बिताउँछन् । सात बजे नुहाएर केही खान्छन् । भिटामिन र प्रोटिन भएको खानेकुरा नै उनको औषधि हो ।

७ बजेपछि फिजियोथेरापी सुरु हुन्छ । दुई घण्टा थेरापी गर्दा जलन भएका भागहरूमा बेस्सरी चिलाउँछ । छिनछिनमा असह्य पीडा हुन्छ । भित्रैदेखि भतभती पोलेर आउँछ । के गरौँ, कसो गरौँ हुन्छ । एकछिन हातखुट्टा फ्याँकेर उफ्रिन्छन् । विस्तारै कम हुँदै जान्छ ।

"जति पीडा भए पनि बोल्न छोड्दिनँ शुभचिन्तकहरूसँग भेट्न मन लाग्छ । बोल्न मन लाग्छ, यसो बाहिर निस्किएर कम्पाउन्डमै हिँडडुल गर्छु । भेट्न आउनेहरूसँग त्यतै बोल्छु," उनी भन्छन्, "धेरैबेर बोलेर बस्न गाह्रो हुन्छ । शरीरले कपडा त्यति सहँदैन, फेरि जलन हुन्छ । सुत्छु ।"

दिउँसो फिजियोथेरापीका लागि कीर्तिपुर बर्न अस्पतालबाट डा. मोहन डंगोल आउँछन्, साँझतिर भने घरकै सदस्यले गराउँछन् । साँझ उसैगरी समाचारहरू हेर्छन् । क्रिकेट मन पर्छ । आईपीएल हेर्छन् । निन्द्रा चाहिँ राति अबेरसम्म पनि लाग्दैन ।

“घाउको दुखाइले राति अबेरसम्म निन्द्रा लाग्दैन । कहिलेकाहीँ त १ बजेसम्म पनि निन्द्रा लाग्दैन । तर बिहान चाहिँ साढे ५ नै उठ्छु,” भण्डारी भन्छन् ।

यसरी दैनिक ६ घण्टा फिजियोथेरापी र बलियो आत्मबलले तङ्ग्रिँदै छ, भण्डारीको जलनपछिको शरीर । तर, भारतमा उपचार गराउँदाका केही दिनहरू भने अहिले सम्झिँदा पनि भक्कानो छुट्छ, उनलाई ।

'आमासँग एकचोटि बोल्न पाए सजिलै प्राण जान्थ्यो कि लागिरह्यो'
२०७९ फागुन ३ गते राति ग्यास लिक भएर आगलागी हुँदा सांसद भण्डारी र आमा हरिकला दुवै गम्भीर घाइते भएका थिए । कीर्तिपुर अस्पतालका अनुसार आमाको शरीरको ७० प्रतिशत र उनको ३० प्रतिशत भाग जलेको थियो ।

chandra bhandarii1685116665.jpg

उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गराइरहँदा उनीसँग रहने सबैले बचाउन सके हुन्थ्यो भन्ने मात्रै प्रार्थना गर्थे । भण्डारीलाई भने जबदेखि होस आयो तब ध्यान आमातिर मात्रै गइरह्यो ।

"मलाई त यति पीडा भएको छ भने ८८ वर्षकी आमालाई कस्तो भइरहेको होला ? कसरी बाँच्नुहुन्छ होला ? भन्ने कुराले पिरोलिरहन्थ्यो । आमासँग एकचोटि बोल्न पाए सजिलै प्राण जान्थ्यो कि जस्तो फिल भइरह्यो । आमा उतिखेरै बित्नुभएछ मलाइ के थाहा...," भण्डारीले भक्कानिँदै सुनाए ।

जब मनिटरका रेखाहरू स्थिर देखिए...
जलनपछिका एक–एक क्षण पीडादायी बनेको सांसद भण्डारीको अनुभव छ । त्यसमाथि हरेक पटकको ड्रेसिङ मृत्यु नजिक पुगेझैँ लाग्थ्यो । एक दिन बिराएर ड्रेसिङ गरिसक्दा थप एकदिन नयाँ जीवन पाएजस्तो हुन्थ्यो ।

भेन्टिलेटरमा नै उपचारको क्रममा एकदिन भण्डारीको मुटुको गति परीक्षण हुँदै थियो, तब मनिटरका रेखाहरू स्थिर देखिए । सँगै रहेका नर्स स्तब्ध बने । छेउमै एक नेपाली मुलकी अस्पताल स्टाफ पनि थिइन् । उनै नेपाली स्टाफले सानो स्वरमा बोलिन्– यो हुन्छ भन्ने लागेको थियो, भयो ।

यति भनेर उनले परैबाट एउटा पोको फ्याँकिदिइन्, जसमा शवलाई ओढाउने कपडा राखिएको थियो ।

तर, यी सबै कुरा चाल पाइरहेका भण्डारीलाई अचम्म लाग्यो । "बाँच्छु भन्ने बलियो अठोट मनमा थियो । आफ्नै मुुटु छामेँ । मलाई केही भएको छैन, किन यस्तो देखियो ? अलमल परेँ । उनै नर्सलाई भने– मेरा मान्छे बोलाइदिनुस् । फनक्क फर्किएर तप्प आँसु झार्दै ती नर्सले भने, 'दाइ आजलाई बाँचियो' ।”

७३ दिनपछि स्वदेश फकिँर्दा
भेन्टिलेटरमा उपचार गराइरहँदा भण्डारीलाई आफूबाहेक बाहिरी कुरा केही थाहा भएन । थियो त खाली आमाको चिन्ता अनि नेपाल फर्किने चाहना । वार्डमा सारेपछि ३६औँ दिनमा फेरि नेपालबाट उनका स्वकीय सचिव बोधराज कँडेल पुगे । तब थाहा पाए, उनका लागि विभिन्न माध्यमबाट लाखौँ नेपालीले अथाह माया, सद्भाव, प्रार्थना गरिरहेका रहेछन् ।

त्यसपछि त झन् आफ्नै देश फर्किन पाए भन्ने हुटहुटीले उनलाई सतायो । नेसनल बर्न अस्पतालबाट डिस्चार्ज हुने केही दिनअघि मात्रै आमा रहनुभएन भन्ने थाहा पाए, त्योभन्दा पीडादायी के हुनसक्छ ?

उनी फेरि एकपटक भावुक बने ।

Chandra Bhandari21685114289.jpg

जलनको घटनाको ७३ दिनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा पर्खाइमा रहेको भिडले फेरि एकपटक भण्डारीलाई भावविह्वल बनायो । त्यतिबेला उनलाई लाग्यो– अब यो माया र शक्तिमा परिणत गर्नुपर्छ । भगवानले पुनर्जन्म दिएर सबैसँग भेट भयो । अब मुलुकका लागि केही गर्नुपर्छ ।

"मेरी आमाजस्तै कति नेपाली आमाहरू जलनको उपचार नपाएर गुमाइरहेको छ देशले भन्ने सोच आयो ।" त्यतिबेला नै संसद्को रोस्टममा पुगेर बोल्ने कुरा उनले तयार पारिसकेका थिए ।

उपचारपछि काठमाडौंमा डेरा नपाउनुको पीडा
सांसद भण्डारीलाई उपचारपछि शान्त, हिँडडुल गर्न मिल्ने घामले असर नपुर्‍याउने स्थानमा बस्ने चिकित्सकको सल्लाह थियो । त्यसै पनि जलनको घाउमा अत्यन्तै छिटो संक्रमण हुने, त्यसमाथि उपचारका लागि घरी घरी अस्पताल पुर्‍याइरहनुपर्ने । संसद् भवन र फ्रन्टलाइन अस्पताल दुवै पायक पर्ने स्थानमा डेरा खोज्न परिवारका सदस्य र आफन्तहरू निकै लागि परे ।

तर, विडम्बना, दुर्घटनामा परेका सांसद भण्डारीमाथि केही व्यक्तिहरूको गलत बुझाइ रहेछ । घर पाउन निकै कठिन भयो । सारा मान्छे लाग्दा पनि घर पाइएन । 

"यो आएपछि बम हान्दिन्छन्, पहिले पनि त्यस्तै भएको धेरै मान्छे आउँछन्, भिडभाड हुन्छ भन्ने बुझाइ रहेछ । वचन दिएका साथीहरूले पनि क्यान्सिल गरे," उनले भोगाइ सुनाए ।

निकै मेहनत गरेपछि घर पाइयो । आफन्तै पर्ने र सबैकुरा चाहिएजस्तै हुने भएपछि त्यही घरमा बस्ने निर्णय भयो । एयरपोर्टबाट अहिलेको घरमा ल्याइयो उनलाई ।

श्रीमतीको साथले बलियो बनाएको आत्मबल
सोफामा अप्ठ्यारो गरी बसेका सांसद भण्डारीले कुराकानीको सुरुवातमै श्रीमती लक्ष्मी पाण्डेलाई बोलाए ।

"तिमी पनि यहीँ बस न," छेउमा देखाउँदै उनले श्रीमतीलाई भने । श्रीमतीले उनलाई ढाडस दिँदै भनिन्– “हजुर कुरा गर्दै गर्नुस्, म यतै छु ।”

“उहाँलाई घरी घरी त्यही घटनाले तर्साइरहन्छ । म छेउमै भए हुन्थ्योजस्तो गर्नुहुन्छ । कहिलेकाहीँ त एकैछिन छोड्दा पनि आत्तिनुहुन्छ,” लक्ष्मीले भनिन् ।

chandra1685116944.jpg

त्यसो त लक्ष्मी आफैँ स्वास्थ्य समस्याका कारण घटना हुँदा श्रीमान र सासुआमाको साथमा थिइनन् । थोरै रगत कतै बगेको देख्दा पनि डराउने उनलाई यत्रो ठूलो घटना बेहोर्नुपर्ला भन्ने कल्पनासम्म पनि थिएन ।

"उता भारतमा हुँदा थेरापीको समयमा उहाँको पूरै शरीर समाइराख्नुपर्थ्यो । घण्टौँसम्म टाउको थामेर बसिरहनुपर्थ्यो । घाउबाट कति रगत बग्थ्यो । सबै केयर गर्नुपर्थ्यो । डरले त कहाँ स्पेस पाउँथ्यो र त्यतिबेला," उनले सुनाइन् ।

कुरा गर्दैजाँदा सांसद भण्डारी कहिलेकाहीँ भावुक हुन्छन् । त्यतिबेला कुरा बुझेर माइन्ड डाइभर्ट गरिदिन्छिन्, लक्ष्मी । कहिलेकाहीँ पीडाले छट्पटाउँछन्, बसेर ढाडस दिन्छिन् । कहिले बेस्सरी रिसाउँछन् पनि । त्यस्तोबेला पनि उनै श्रीमती छेउमा बसेर सान्त्वना दिँदै 'कुल' बनाउँछिन् ।

भन्छिन्, "म आफैँ परामर्शको क्षेत्रमा काम गर्ने भएर बुझिहाल्छु । के गाह्रो भयो । उहाँलाई कस्तो भइराछ भनेर त्यहीअनुसार ट्रिट गर्छु ।"

जलनबाट जोगाउने र उपचारका लागि काम गर्ने अठोट
आफूले भोगेको जलनको पीडा, नेपालमा यसको उपचारको अवस्था, उपचारमा लाग्ने खर्च सबैबारे भुक्तभोगी भएपछि अब सांसद भण्डारीलाई यही क्षेत्रमा केही गर्ने अठोट जागेको छ । “जलनका घटनाबारे हामीलाई त सामान्य ज्ञानसमेत रहेनछ बरु पाठ्यक्रममा नै राखेर यसबारे सचेत गराउने कि,” उनी भन्छन् ।

घटना भइहाले उपचारका लागि नेपालमा अन्तर्राष्ट्रियस्तरको जनशक्ति छ । तर, यति धेरै घाइतेलाई धान्ने अस्पताल, उपकरण नभएकोबारे उनको ध्यान गएको छ ।

"देशमा यति धेरै जलनका घटना भइरहेका छन् । तर, हाम्रो नीति तथा कार्यक्रममा खै त यसबारे योजना ?," भण्डारी प्रश्न गर्छन्, "क्यान्सर, मिर्गौला र अन्य घातक रोगहरूका लागि सरकारीस्तरको एउटैमात्र सुविधासम्पन्न अस्पताल बनाइदिए पनि कति राहत हुन्थ्यो । कतिले अकालमै ज्यान गुमाउनु पर्दैनथ्यो, यस्ता कुराहरूमा हाम्रो ध्यान कहाँ गएछ र ?"

जलनको उपचारका लागि नेपालको हावापानी समेत राम्रो भएकाले नेपाललाई उपचारको थलो बनाउने काममा उनको जोड रहने छ । “ठूला व्यक्तिहरू आफू बिरामी भए बाहिर जान्छन् जनताको कसैलाई मतलब नै छैन । म ठिक भएपछि मेरो सम्पूर्ण जोड यसैमा रहने छ,” उनले भने ।
 
त्यसो त भारतमा उपचाररत रहँदा भण्डारीलाई विभिन्न देशमा रहेका नेपालीले उपचारका लागि भन्दै केही रकम समेत पठाएछन् । तर आफूले त्यो पैसा लिएर उपचार गर्दा जनताको अपमान हुने भन्दै लिएनन् ।

"झन्डै एक करोड खर्च भैसक्यो मेरो उपचारमा । तर, म जनताको एक रुपैयाँ लिन्न । बरु त्यो पैसा अस्पताल बनाउन जाओस् । म हजारौँ नेपालीले मजस्तै पुनर्जीवन पाऊन् भन्ने उनको चाहना छ । मलाई त जनताको माया, प्रेम, सद्भाव प्रार्थना नै काफी छ । पार्टी,  राष्ट्रले गरेको सहयोगको मूल्य त कुनै अवसर पाए चुकाउँला तर मेरा शुभचिन्तक जनताको स्नेह र सद्भावको ऋण मैले यो जुनीमा कसरी तिरौँला ?"

Chandra Bhandari41685114287.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !