site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमे,  दुर्व्यसनबाट उत्रिएर सगरमाथा उक्लिएका हरिबहादुर
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । दुवै खुट्टा गुमाएपछि हरिबहादुर बुढामगर दुई वर्ष त्यत्तिकै रुमलिएर बसे । मनमा अनेक कुरा खेल्न थाल्यो । आफ्नो जिन्दगी नै समाप्त भएजस्तो महसुस गरे । दिन प्रतिदिन मानसिक पीडा उकालो लाग्न थाल्यो । त्यो समयमा उनलाई लाग्थ्यो– म धर्तीको बोझ रहेछु !

दुःख र पीडा भुलाउने बहानामा ‘अल्कोहलिक’ बने । पीडा कम भएन । उल्टै कुलतमा फसे । त्यति बेला आफू पूरै दुर्व्यसनमा फसेको हरि बताउँछन् । रक्सीले उनका हात काप्न थालिसकेका थिए ।

त्यसपछि उनलाई ल्याग्यो– यस्तै तरिकाले त मरिन्छ ! म मरेँ भने मेरो स्टोरी त सकिन्छ, त्यसको दोष मेरो परिवारले पाउनेछ ।

Agni Group

“समाजको दोषबाट परिवारलाई बचाउनको लागि भए पनि म बाँच्नुपर्छ भन्ने मलाई लाग्यो,” उनी भन्छन्, “त्यसपछि त्यो दुर्व्र्यसनीबाट छुट्नको लागि मैले स्पोर्ट्स र एड्भेन्चर सुरु गरेँ ।”

सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँका क्रममा हरिबहादुरले आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिसम्म गुमाएका थिए ।

Global Ime bank

एड्भेन्चरसँगै उनमा विस्तारै आत्मविश्वास बढ्दै गयो । युरोप र अमेरिकामा स्किङ खेल्न थाले । त्यो बेलामा हिमाल देख्थे । हिमाल देख्नेबित्तिकै सगरमाथा सम्झिन्थे । तर, विश्व कीर्तिमान उनको कल्पनामै थिएन ।

नेपालमा उनका साथी कृष्ण थापामगर स्किङ खेलाउँथे । कृष्ण हरिका पुराना स्किङ खेल्ने साथी पनि हुन् । ब्रिटिस सेनामा हुँदा कृष्ण माउन्टेन चिफ थिए । कृष्णसँग उनको बेलाबेलामा कुराकानी हुन्थ्यो । सोही क्रममा कृष्णले सगरमाथा आरोहणका लागि आग्रह गरे ।

haribudha (4)1684828833.JPG

त्यसपछि हरि स्किङ खेल्न नेपाल आए । उनले गोसाइँकुण्डमा स्किङको अभ्यास गरे । हरि भन्छन्, “गोसाइँकुण्डमा स्किङ गर्दा मेरो ध्यान दुई कुरामा थियो । पहिलो कुरा, उचाइमा मेरो स्वास्थ्यले थाम्न सक्छ कि सक्दैन ? दोस्रो कुरा, फिजिकल्ली यो सम्भव छ कि छैन ?”

आत्मविश्वास बढाउनका लागि उनले ‘ह्युमन रिभुलेसन’का बारेमा अध्ययन गरे । अनि, हिमाल चढ्न थाले । सगरमाथाअघि हरिले फ्रान्सको माउन्ट बिलंक, तान्जेनियाको माउन्ट किलिमन्जरो, नेपालको मेरा पिकलगायत हिमाल उक्लिइसकेका थिए ।

०००

४३ वर्षअघि रोल्पाको मिरुलमा जन्मिएका हरिबहादुरले कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढे । विश्वको सर्वाेच्च शिखरको सफल आरोहण गरेर कीर्तिमान बनाए ।

मिरुल रोल्पाको विकट क्षेत्र हो । तीन दाजुभाइमध्ये उनी सबैभन्दा जेठो हुन् । सामान्य परिवारमा जन्मिए । बाल्यकाल सामान्य रूपमै बित्यो । सुरुमा गाउँकै  विद्यालयमा पढे । विद्यालय पुग्न घरबाट करिब ४५ मिनेट हिँड्नुपर्थ्यो । पछि अध्ययनका लागि हरिबहादुर रोल्पाको सदरमुकाम लिवाङ झरे ।

मौका परीक्षाबाट एसएलसी उत्तीर्ण गरे । त्योसँगै गाउँभरि उनको चर्चा चुलियो । सबैले तारिफ गरे । कारण, उनी गाउँबाट एसएलसी पास गर्ने पहिलो विद्यार्थी थिए । ०५५ सालमा बेलायती गोर्खा सैनिकमा भर्ती भए ।

सगरमाथा आरोहण सपना 

नेपाललाई विश्वभर चिनाउने तीन कुरा छन् जस्तो उनलाई लाग्छ । सगरमाथा, बुुद्धको देश र गोर्खाली । हरि आफू यी तीनै कुरासित जोडिएको बताउँछन् ।

उनी भन्छन्, “म यी तीनवटै कुरामा रिलेटेट छु । किनभने, म सगरमाथा आरोही हो । म बुद्धिस्ट हो । अनि, गोर्खाली पनि हो ।”

भूतपूर्व गोर्खा सैनिक उनले सगरमाथाका बारेमा सबैभन्दा पहिले विद्यालयमा पढेका थिए । “सर/म्याडमहरू पढाउँदा भन्नुहुन्थ्यो– संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा हो, जुन नेपालमा पर्छ । जसको पहिलो आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हुन् ।” यो पढ्दा गर्व महसुस हुन्थ्यो ।

उनले हिमाल त त्यति बेलै देखेका थिए, सिस्ने र धौलागिरि । रोल्पाको मिरुलबाट नजिक पर्ने हिमाल तिनै हुन् । तर, गाउँबाट धेरै टाढा । त्यसैले बाल्यकालमा उनलाई लाग्थ्यो– सगरमाथा कस्तो हुन्छ होला ? कहाँ छ होला ? कसरी चढ्छन् होला ? उनमा सगरमाथा उक्लने रहर जाग्यो ।

सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएपछि पनि सगरमाथा चढ्न पाए हुन्थ्यो भन्ने लागिरह्यो । काममा व्यस्त हुँदा त्यतातिर उनको ध्यान भने कमै गयो ।

व्यवधान

haribudha (1)1684828832.JPG

हरिले सगरमाथा आरोहणका लागि आजभन्दा पाँच वर्षअघि सन् २०१८ मै तयारी गरेका थिए । त्यसकै लागि नेपाल आए । तर, सरकारले २०१७ डिसेम्बरमा दुइटै आँखाले नदेख्ने र दुवै खुट्टा नहुनेलाई सगरमाथा आरोहणमा प्रतिबन्ध लगायो । त्यसपछि हरि पुनः बेलायत फर्किए ।

सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । सर्वाेच्चले सबैलाई सगरमाथा आरोहणका लागि अनुमति दिन आदेश दियो । २०१९ मा कोरोना महामारी सुरु भयो । उनले सगरमाथा आरोहणका लागि पैसा संकलन गर्न सकेनन् । कोरोना कम हुन थालेपछि रकम जम्मा गरे ।

अन्नतः विजय

सगरमाथा उक्लिन सबै तयारी गरेर गएको अप्रिल ५ मा त्यसतर्फ लागे । २७ जनाको टिममा थिए उनी । सगरमाथा आरोहण यात्रा सुरु भयो । ‘मेरा पिक’ सहजै पुगे ।

तर, मौसम प्रतिकूल हुँदा सगरमाथा बेसक्याम्पमा लामो समय बस्नुपर्‍यो । हरिको टिम १८ दिनसम्म त्यहीँ बसेको थियो । त्यो समय एकदमै ‘बोरिङ’ लाग्दो भएको उनी सुनाउँछन् । त्यो पल सम्झन पनि चाहँदैनन् ।

“मौसम बिग्रेको कारण बेसक्याम्पमा १८ दिन बस्नुपर्दा यति बोर लाग्यो कि भयो, त्यो कुरा नगरौँ होला,” उनले भने ।

१८ दिन बेसक्याम्पको बसाइपछि मौसम खुल्यो । क्याम्प २ यात्रा सुरु भयो । उनीहरू सहजै त्यहाँ पुगे । तर, क्याम्प २ भन्दा अलि माथि पुग्नेबित्तिकै फेरि मौसम बिग्रियो । हरि क्याम्प २ मै फर्किए । उनका सहयोगीले भने क्याम्प ४ मा सामान सार्ने काम निरन्तर गरिरहे । सहयोगीले सबै व्यवस्था मिलाएपछि उनी अघि बढे । २७ मध्ये हरिसहित पाँचजना सगरमाथाको शिखर चढे ।

हिम्मत हारिसकेका थिए हरिले

haribudha (5)1684828835.JPG

सगरमाथा आरोहण गर्ने क्रममा आफू धेरैपटक ‘गिभअप’ गर्ने मनस्थितिमा पुगेको हरि बताउँछन् । त्यति बेला उनी तीनपटक सगरमाथा आरोहण त्याग्ने निर्णयमा पुगिसकेका थिए । उनले आफ्नो कान्छो छोरासँग बीच बाटोबाटै फर्कने पनि बताएका थिए । अक्सिजन सकिँदा एकदमै गाह्रो भएको र सगरमाथा नचढी फर्कने मनस्थितिमा पुगेको उनी सुनाउँछन् ।

साउथ समिटबाट अघि बढ्दा उनको अक्सिजन सकियो । सहयोगीले अक्सिजन परिवर्तन गरिदिए । परिवर्तन गरिएको अक्सिजन पनि ‘लिक’ भएर चाँडै सकियो । त्यसपछि उनलाई एकदम गाह्रो भयो ।

उनी भन्छन्, “साथीहरूले मेरो अक्सिजन चेन्ज गर्दिनुभयो । तर, त्यो अक्सिजन लिक भयो । मलाई एकदमै गाह्रो भयो । अघि बढ्छु भन्छु, सकिँदैन । पुनः प्रयास गर्छु, तर सकिँदै सकिँदैन ।”

हरिसँग सगरमाथा आरोहण गर्ने टिममा उनका भाइ नन्द बुढामगर पनि थिए । एकदमै गाह्रो भएपछि उनले भाइलाई भने, “अब माथि जान सकिँदैन, फर्किऔँ ।”

सहयोगीले हरिको अक्सिजन ‘चेक’ गर्दा ‘लिक’ भएर सकिएको थाहा पाएका थिए । “त्यसपछि त मेरो अक्सिजन नै रहेन । अक्सिजन नभएपछि कस्तो हुँदो रहेछ पहिलोपटक महसुस गरेँ,” हरि भन्छन्, “सहयोगीहरूले अक्सिजन परिवर्तन गरेपछि एकैछिनमा म फ्रेस भएँ । अनि, हामी अघि बढ्यौँ ।”

शिखरमा पुग्दाको त्यो क्षण

haribudha (7)1684828836.JPG

हरिसहित पाँचजना जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको शिखरमा पुगे । हरिको सपना थियो, त्यहाँ मजाले वरिपरिका हिमाल हेर्ने र फोटो खिच्ने । सगरमाथाको शिखरमा तस्बिर खिच्नकै लागि भनेर उनले धेरै झन्डा समेतलगेका थिए । तर, त्यो सम्भव भएन ।

फोटो खिच्नका लागि सबैले आफ्नो फोन निकाले । सबैका फोन ‘अफ’ भएको थियो । उनलाई तनाव भयो । किनभने, सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्न फोटो खिच्नैपर्ने थियो । साथमा दुइटा गोप्रो पनि लगेका थिए । एउटा गोप्रो ‘अन’ नै भएन । अर्काे गोप्रोले काम गर्‍यो । त्यसमा पनि चार्ज कम थियो । त्यसैले काम चलाए । तस्बिर खिचे ।

लगत्तै त्यहाँबाट ओर्लनुपर्ने थियो । सबैको अक्सिजन सकिन लागेको थियो । तर, कसैलाई केही भएन । पाँचैजना सकुशल क्याम्प ४ मा झरे । उनीहरू त्यो रात त्यहीँ बास बसे । भोलिपल्ट क्याम्प २ मा आए । त्यहाँबाट हरि हेलिकोप्टरमार्फत बेसक्याम्पमा उत्रिए । बेसक्याम्पबाट चैत ९ गते उनी काठमाडौं ओर्लिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu