site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचारविरुद्ध गुन्जिएको संसद् : समाधान दिने कि हुङ्कार मात्रै ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नयाँ–नयाँ तथ्यहरू बाहिरिरहँदा संघीय संसद् पनि यस विषयमा तातेको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने अधिकांश सांसदहरूले नीति तथा कार्यक्रमबारे भन्दा बढी नक्कली शरणार्थी प्रकरणमा आक्रामक शैलीमा विचार राखेका छन् ।

उपप्रधानन्त्रीदेखि गृहमन्त्री भइसकेका शीर्ष दलका नेताहरू मुछिएको यो प्रकरण अहिले अदालतमा पुगेको छ । बुधबार मात्र पक्राउ परेका पूर्वउपप्रधानन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण गरी १६ जनासहित ३० जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध पाँचवटा कसुरमा मुद्दा चलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । जेठ ७ बाट यसमा छलफल सुरु भयो । त्यसपछि लगातार जेठ ८, ९ र १० गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभामा बोल्ने सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणसहित अहिलेसम्म चर्चामा आएका सबै ठूलठूला भ्रष्टाचार प्रकरणको छानबिन गर्न माग गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

ओलीको चेतावनी– केपी ओली बाघ हो, घाँस खाँदैन, म्याउँ गर्दैन 
छलफलको पहिलो दिन अर्थात् जेठ ७ गते पहिलो वक्ताको रूपमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बोलेका थिए । दुई घण्टा भन्दा बढी समय रोस्टममा उभिएका ओलीले नक्कली शरणार्थी प्रकरण आएपछि प्रमुख तीन दलका शीर्ष नेताबीचको भेटप्रति सन्देह व्यक्त गरिएकोमा चर्को असन्तुष्टि जनाए । उनले आफू बाघ भएको भन्दै घाँस खाने म्याउँम्याउँ गर्ने व्यक्ति नभएको बताए ।

“मानौँ तीनजना भेट्दा पनि दुई नेता दुधमा नुहाएका मात्र होइन दुधको कुण्डमा नुहाएका । अनि म चाहिँ गएर त्यहाँ ल न मेरो मान्छे बचाइदेऊ, यस्तो गर्देऊ भनेर म्याउँम्याउँ गर्न गएको,” ओलीले रोस्टममा उभिएर भने, “केपी ओलीले अरू थोक गर्ला, बाघ भोकै मर्छ घाँस खाँदैन भन्छन् । म्याउँम्याउँ गर्दैन ।”

Global Ime bank

kp sharma oli 11684649946.jpg

उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नेतृत्वको सरकारको समयमा कुनै गडबडी नभएको पनि दाबी गरे । ओलीले केही गल्ती भएको शंका लागे छानबिन गरेर पुष्टि गर्न चुनौती नै दिए ।

“मेरो समयमा केही पनि गएको छैन । छानबिन गर्नुस् फेरि पनि । मेरो समयमा केही गएको छैन । एउटा समिति बने छ । त्यो समितिले केही प्रस्ताव पठाएछ । मैले अध्ययन गर्न भनेर राखेँ । होल्ड गरेँ र त्यसलाई अध्ययनका लागि मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाएँ,” ओलीले बैठकमा भने, “मलाई त पिङ खेलाएको खेलायै हुनुहुन्थ्यो। मलाई त कागज हेर्ने समय पनि थिएन त्यस बेला । मुद्दै मुद्दा, मामिलै मामिला, नारै नारा, जुलुसै जुलुस । भित्तामा टाँसिदिन्छु भन्या छ । भुइँमा पुर्‍याइदिन्छु भन्या छ । धुलोमा मिलाइदिन्छु भन्या छ ।”

ओलीले ओलीले यस प्रकरणलाई सरकारले थेग्न नसक्ने भएपछि मात्र आफैँ बाहिर आएको दाबी गरे । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले बाघ मारेजस्तो गरी हल्ला गरिरहेको भन्दै सरकारले जुँगामा ताउ लगाउन आवश्यक नरहेको बताए । ओलीले गत वर्षको जेठमा नै कारबाहीको उजुरी परेको भन्दै किन गुपचुप राखिएको ? भनी प्रश्न गरेका थिए । 

“आफैँ विस्फोट भएर आयो । भुइँचालो आफैँ आयो । यो रोक्न सकिँदैनथ्यो । छेक्न सकिँदैनथ्यो,” ओलीले संसद्मा भने ।

साथै उनले यो प्रकरण सामसुम नहुने भन्दै ९७५ जनासँग पैसा उठाइएकाले यो विषय संसद् र बाहिर दुबैतिर उठिरहने बताए । ओलीले दोषीलाई उम्क्याउने र निर्दोषलाई फसाउने काम भइरहेको र आफूसँग तथ्य प्रमाण पनि भएको बताएका थिए ।

ओलीलाई जवाफ– बाघ बुढो भएपछि फट्याङ्ग्रा टिप्न थाल्छ
ओलीले संसद्लाई आइतबार सम्बोधन गरेका थिए । सोमबार बोलेका सत्ता पक्षका केही सांसदहरू ओलीको प्रतिकारमै उत्रिए । एमाले अध्यक्ष ओलीले बाघ बुढो भए पनि घास खाँदैन बताएपछि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)का सांसद माधवप्रसाद सापकोटाले बाघ बुढो भएपछि फट्याङ्ग्रा टिप्ने भन्दै टिप्पणी गरे ।

“हिजो प्रमुख प्रतिपक्ष दलका नेताले हामीलाई दुई घण्टा लामो हेडमास्टरी शैलीमा पढाउनुभयो । कार्यक्रम फिर्ता लिनुहोस्, पुनर्लेखन गर्नुहोस् आदि इत्यादि भन्नुभयो । खाली विरोधका लागि विरोध भनेर यी तथ्यहरूले पुष्टि गर्छन्,” सापकोटाले भने, “उहाँले हिजो बाघले घास खाँदैन भन्नुभयो । मेरा हजुरबाले भन्नु भएको हिजो मेरो कानमा गुन्जियो । तन्नेरी हुँदा बाघले घास खाँदैन । तर, बाघ बुढो भएपछि फट्याङग्रा टिप्न थाल्छ ।”

MAdhav Sapkota1682675227.jpg

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि ओलीको टिप्पणीको जवाफ दिए । उनले सत्तारूढ दलले कसैलाई पनि घाँस खाने अवस्थामा सिर्जना हुन नदिने बताए । 

“चर्चा चल्यो बाघले घाँस खाँदैन भनेर । हामी घाँस खान पनि दिदैनौँ । घाँस खाने अवस्था कसैको पनि नआओस् । बाघको पनि नआओस्, मान्छेको पनि नआओस्,” उनले भने । 

पूर्वप्रधानमन्त्रीहरूको बयान लिन माग
ओलीपछि पनि अन्य सांसदहरूले यो विषयलाई निरन्तर उठाए । सत्ता र प्रतिपक्ष दुवै तर्फका सांसदहरूले शून्य समयदेखि नीति तथा कार्यक्रमको छलफलमा समेत यस विषयमा प्रश्न उठाएका छन् ।

शून्य समयमा बोलेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्ने माग गरे । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोलेका उनले पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउन जरुरी रहेकामा जोड दिए ।

Prem Suwal1680078070.jpg

“प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको काम, कारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ,” उनले भने, “नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरू, पूर्वउपप्रधानमन्त्रीहरू प्रहरी अनुसन्धानमा छन् । पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र ?”

माधव नेपाल भन्छन्– बहस गर्न तयार छु
सोमबार बोलेका सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री हुँदा गरेका कामहरू फेहरिस्त प्रस्तुत गर्न आफू तयार रहेको बताए । उनले पूर्वप्रधानमन्त्रीहरूले आफ्नो कार्यकालमा गरेका उपलब्धिहरू संसद्मा प्रस्तुत गरे मूल्यांकन संसद्ले गर्ने पनि बताए ।

madhav nepal samsad61679305945.jpg

“राम्रो के हुन्थ्यो भने संसद्मै प्रधानमन्त्रीहरूमकै बीचमा पनि आआफ्नो कार्यकालमा ककसले के के गरे सब ल्याएर मूल्यांकन यही संसद्ले गर्दिए हुन्छ । म तयार छु । मैले त थोरै पानामा लेखेर पनि ल्याएको छु,” उनले भने, “म पनि प्रधानमन्त्री भइसकेको मान्छे, गरिएका कामहरूको किन चर्चा गरिँदैन भन्ने अरूलाई लागेको होला । तर, नगरेको वा गलत कुराको पनि आलोचनाको पनि सहन सक्नुपर्छ । हाम्रो पालामा तिथिमिति तय गरेर हावादारी कार्यक्रम पनि आए । यस मितिमा टिकट काट्नुस् बिजुलीको रेल चढ्नुस् भनियो । यस्ता हावादारी कुरा ल्याउन हुँदैन । घरमा घरमा ग्यास भनियो । खोई ग्यास ?”

राप्रपाको चेतावनी– भ्रष्टाचारीलाई कारबाही नगरे आन्दोलन हुन्छ 
कर्णालीमा बाटो बनाउन पैसा छैन भन्ने सरकारले विकासका पैसा भ्रष्टचारमा उडाएको भन्दै राप्रपाले कडा प्रतिवाद गरेको छ । नीति तथा कार्यक्रममा छलफलका क्रममा बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पार्टी प्रमुख सचेतक ज्ञानबहादु (ज्ञानेन्द्र) शाहीले बुधबारको संसद् बैठकमा विकास बजेट नदिने तर भ्रष्टाचार गर्न चाहिँ पैसा पुग्छ भन्दै गुनासो गरे ।

Gyanendra Shahi1680078152.jpg

उनले भ्रष्टाचारी र अपराधीहरूलाई कारबाही नगरे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । 

“कर्णालीतिर सडक बनाइदिनु पर्‍यो भन्दा सरकार पैसा छैन भन्छ । तर, अर्बौंको भ्रष्टाचारको फाइल धुलो लागिसक्यो कारबाही गर्दैन,” शाहीले भने, “गृहमन्त्रीलाई आग्रह अनुरोध गर्दछु । कारबाही गर्न कसले रोकेको छ ? रोक्नेको नाम सार्वजनिक गरियोस् । नत्र संसद् चल्दैन । सडक र सदनबाट आन्दोलन हुन्छ ।” 

एमाले भन्छ– ०४६ सालयता उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन गरौँ 
नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे । बुधबार बोलेका उनले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्तिहरू जफत हुने गरी उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन गर्न पनि सरकारलाई आग्रह गरे ।

सचिव विष्टले भ्रष्टाचार नियन्त्रणका लागि पनि उच्च ओहोदामा रहेकाहरूको स्रोत नखुलेको सम्पत्ति राज्यले जफत गर्नैपर्ने आवश्यकता औँल्याए ।

Gokarna Bista1684912961.jpg

“भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ । मैले सम्मानित सदनसमक्ष राख्न चाहन्छु कि २०४६ साल पछाडि जति व्यक्तिहरू ओहोदामा आएका छन्, जति उच्च पदमा आएका छन्, ती सबै व्यक्तिहरूको छानबिन गर्ने र स्रोत नदेखिने कर नतिरेको सम्पत्तिलाई जफत गर्ने गरी कानुन निर्माण गरियोस्,” उनले भने, “यसमा विशेष प्रकारको योजना बनाइयोस् ।”

गगन भन्छन्– अपराधमा संलग्न सलामी खानेदेखि बार्दलीका मान्छेलाई पनि कारबाही गर्नुपर्छ 
सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले सरकारको परीक्षा लिइरहेको भन्दै राज्यविरुद्धको अपराधमा संलग्न एकजना पनि उम्कन नहुने बताए । उनले यस प्रकरणमा न्यायालयको समेत परीक्षा भइरहेको बताए ।

“जसरी नाम आएको छ, एक प्रकारले लाज पनि लजाएको छ । को को परेको हो भनेर सुन्दा सुन्दै जाँदा हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ,” उनले भने, “तर यसमा सरकारको परीक्षा हेर्नुछ । अनुसन्धान कसरी भइरहेको छ, सबै जनताले हेरिरहेका छन् ।”

Gagan Thapa1680081374.jpg

उनले आफ्नै पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझीदेखि दोषी देखिएका सबै नेताहरू कारबाहीको माग गर्दै सलाम गर्ने तथा सलामी खाने दुवैको अनुसन्धान हुनुपर्ने बताए । उनले अपराधमा संलग्न भएका एक–एक मान्छेलाई कारबाही हुनुपर्ने माग गरे । 

“चाहे त्यो सलाम गर्ने मानिस होस् चाहे सलामी लिने मानिस होस् । जसलाई छोएको छ, जसको नाम आएको छ त्यसको फेयर अनुसन्धान हुनुपर्छ । अनुसन्धान भएन र गरिन भनेर कसैले पनि यसबाट मुक्ति पाउने अवस्था छैन,” उनले भने, “न्यायालयको पनि परीक्षा छ । उसले पनि न्याय गरेमात्र भनेर पाउँदैन । राज्यविरुद्धको अपराधमा संलग्न एक–एक मान्छे चाहे घर होस् चाहे बार्दलीको होस् । चाहे त्यो नेता होस् कि नाता होस् । सलामी गर्ने होस् कि सलामी लिने होस् एकजना पनि छुट्न हुँदैन ।”

रविको गर्जन– प्रधानमन्त्रीको मुटु चेक गर्न चाहान्छु, तामातुलसी छोएर कसम खाएकै भरमा छाड्ने ? 
बुधबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने दुईपटक बोले । आकस्मिक समयमा बोलेका लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरे । उनले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसद्ले विशेष समिति बनाउन माग गरेका हुन् । 

त्यसपछि नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को मुटु चेक गर्न चाहेको बताए । त्यतिबेला प्रचण्ड संसद् बैठकमै थिए । प्रचण्डकै अगाडि लामिछानेले यस प्रकरणमा मुटु नकमाएर अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकाले आफूले चेक गर्न चाहेको बताए ।

“प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,” उनले भने, “काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।”

RAbi Lamichhane_baahrakhari.com_photo1683569138.jpg

लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरूको पनि अनुसन्धान हुनुपर्नेमा जोड दिए । घुमाउरो रूपमा आरजु राणा, मञ्जु खाँणप्रति इंगित गर्दै नाम आएकाहरूलाई मिडियामा तामातुलसी छोएर कसम खाएकै भरमा छाड्ने हो भन्दै प्रश्न गरे । 

“नाम आएका मनिसहरू देखिनुहुन्छ कोही बेपत्ता भयो भन्ने थाहा हुन्छ । त्यसपछि केही समय पछि सामसुम हुन्छ,” उनले भने, “बयान लिने काम सकिन्छ । कोही ढ्याक्कै प्रकट हुनुहुन्छ । कोही संसद्मा प्रकट हुनुहुन्छ । कोही मिडियामा तामातुलसी छोएर कसम खाएर प्रकट हुनुहुन्छ । नाम लिएका सर्वसाधारणको हकमा पनि यही नियम लागु हुन्छ ?”

Parliament (5)1684495185.jpg

सांसद लामिछानेले पैसा बुझाएको कुराहरू बाहिर आउँदा किन अनुसन्धानमा नल्याएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे । प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पटकपटक भएको भेटले पनि शंका पैदा गरेको उनको भनाइ छ । 

“एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला,” उनले भने, “तीन पार्टी बसेर तपाईंहरूले खासखुस गर्नुभयो । त्यसको गन्ध संसद्सम्म ठासठुस होइन ठाकठुक आयो । देशभरि त्यसको गन्ध गयो । रोक्नुस् ।”

लामिछानेले न्यायालय र नेपाली सेनामा भएका भ्रष्टाचारबारे मानिसहरू बोल्नै डराएको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC