काठमाडौं । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा समर्थकको हल्ला केही चर्को सुनिन्थ्यो । समर्थकको यो आवाजबाट लाग्थ्यो– दशरथ रंगशालामा कुनै रोमाञ्चक फुटबल खेल हुँदै छ ।
तर, यो आवाज दशरथ रंगशालामा भएको खेलको थिएन । भलै रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिगको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा भइरहेको थियो । यो खेल हेर्न रंगशाला पुगेका समर्थक अनुमान लगाउने हो भने पनि आवाजमा सुन्नेहरुलाई रंगशालामा ‘के भइरहेको छ ? भन्ने कौतुहलता उत्पन्न गराउन सक्ने चर्कोपन थिएन ।
त्यो आवाज थियो, रंगशालासँगै रहेको कभर्डहलको । जहाँ सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा नेपाल र भारत समूह विजेता बन्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका थिए । कभर्डहल सानो भएकाले पनि हुनसक्छ, हल्ला निकै ठूलो सुनिन्थ्यो । समर्थकमा भारतविरुद्ध नेपालले ल्याउने अंकको खुसी त छँदै थियो, उनीहरु नेपाली खेलाडीको हरेक ‘स्पाइक’मा चर्को स्वरमा भाव पोख्थे ।
तर, खेलको नियम निकै कठोर छ, यसमा भावनाले नतिजालाई आफ्नो पक्षमा पार्न सकिँदैन । खेल विश्लेषकको पूर्वअनुमानअनुरुप नजिता भारतकै पक्षमा गयो । नेपाललाई ३–१ को सेटमा पराजित गर्दै भारत समूह ‘ए’को विजेता बन्यो । र, फाइनलमा स्थान बनाउनका लागि अन्तिम चारको खेलमा समूह ‘बी’को उपविजेता उज्वेकिस्तानलाई प्रतिद्वन्दीको रुपमा पायो ।
खेलको पहिलो सेटलाई बिर्सिने हो भने भारतविरुद्ध नेपाली टिमको जुझारुपनमा प्रश्न उठाउनु पर्ने सायदै कुनै विन्दु थियो । तर, भारतको अनुभवसामु नेपाली टिमको जोशले नतिजा उल्टाउने ताकत राख्न सकेन । भारत नामैको दबाबले पनि हुनसक्छ, नेपालले पहिलो सेटको नजिता १२–२५ को अंकमा सहजै सुम्पियो । तर, पहिलो सेटपछि भने नेपाली टिमले भारतलाई दबाबमा राख्न सफल भयो ।
दोस्रो सेटमा भने नेपाल भारतका लागि निकै प्रतिस्पर्धात्मक बन्यो । तर, यसले नेपाललाई सेट जिताउन भने सकेन । प्रतिस्पर्धात्मक सेट भए पनि नेपाल २४–२६ ले पराजित भयो । दोस्रो सेटकै दौरान एक समय नेपालले भारतविरुद्ध २३–२१ को अग्रता बनाएको थियो । तर, त्यसपछि लगातार अंक गुमाउदा नेपालले सेट आफ्नो पक्षमा पार्न सकेन । वा, भनौँ भारतको अनुभवले नेपाललाई थिच्यो । त्यो अवस्थाबाट नेपालले एक अंक जोड्दा भारतले नेपालबाट पाँच अंक खोस्दै सेट आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेटमा नेपाल अझ उत्साहित देखियो । उत्साह नजितामा पनि छायो । तेस्रो सेट नेपालले २५–२१ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा जित निकाल्दै खेललाई एक सेट तन्काए पनि चौथो सेटमा भारतीय टिम पुनः हावी भयो । नेपाल २५–२१ ले पराजित भयो । यो सेटको अन्त्यमा लगातार पाँच अंक गुमाउदा नेपालले नतिजा भारतलाई सुम्पियो ।
खेलको पहिलो सेटमा ब्लक र डिफेन्समा नेपाली टिमले स्तरअनुरुपमा प्रदर्शन दिन सकेन । त्यसपछिका सेटमा क्रमैसँग यसमा केही सुधार देखिए पनि भारतको अनुभवलाई नेपालले माथ दिन सकेन ।
नेपाल समूह ‘ए’बाट अन्तिम खेलअगावै सेमिफाइनल प्रवेश गरिसकेकाले यो नजिताले समूह विजेता र उपविजेताको समीकरणबाहेक खास फरक पारेन । नेपालले यसअघि कीर्गिस्तान र बंगलादेशलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो । तर, सेमिफाइनलअघि भारतलाई हराउँदा नेपाली टिमको आत्मविश्वास बेग्लै हुने थियो ।
अब, नेपालले फाइनल प्रवेशका लागि समूह ‘बी’को विजेता काजकिस्तानविरुद्ध खेल्नेछ । नेपाल पछिल्लो दुई संस्करणको विजेता भए पनि यसपटक भारतसँगै काजकिस्तानलाई प्रतियोगिताकै दाबेदारको रुपमा हेरिएको छ । यसैले पनि फाइनल प्रवेशका लागि नेपालले भारतीय स्तरकै अर्को टिमसँग खेल्न बाँकी नै छ ।
नेपाल र भारत महिला भलिबलमा दुई दशकअघिदेखिकै प्रतिद्वन्दी हुन् । पछिल्लोपटक यी दुई टिमबीच सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल ३–२ को सेटमा पराजित भएको थियो ।
बुधबारको खेलपछि नेपाली टिमका प्रशिक्षक यान ब्रान्ड्ट टिमको प्रदर्शनबाट सन्तुष्ट देखिए पनि भारतजस्तो टिमसँग प्रतिस्पर्धा गर्न स्तरीय प्रशिक्षण नपाएको दुखेसो पोखे ।
“हामीले प्रशिक्षणमा यस स्तरका टिमसँग खेल्न पाएनौँ । मैले स्पष्टसाथ भन्नुपर्छ– साढे दुई महिना तयारी गर्दा हामी आफ्नै टिमलाई दुई समूहमा बाँडेर खेल्थ्यौँ । अनि कहिलेकाँही केटाहरुसँग खेल्न पायौँ,” ब्रान्ड्टले भने ।
नेपाली टिमले प्रतियोगितामा स्तरीय टिमसँग खेल्न सही प्रशिक्षण नपाएको गुनासो पोख्ने प्रशिक्षक ब्रान्ड्टमात्र थिएनन् । नेपाली टिमकी कप्तान अरुणा शाहीको अनुभव पनि प्रशिक्षक ब्रान्ड्टको जस्तै थियो ।
“आजको हारबाट हामीले धेरै कुरा सिक्यौँ । तर, हामीले प्रशिक्षणको बेला यस्तो म्याच खेल्न पाएको भए प्रतिस्पर्धा गर्न आज अझै सहज हुन्थ्यो होला,” अरुणाले भनिन् ।
प्रशिक्षणका लागि स्तरीय टिमसँग खेल्न नपाएको बताए पनि ब्रान्ड्ट नेपाली टिमले योद्धाजसरी प्रतिस्पर्धा गरेको भन्दै टिमलाई सेमिफाइनलका लागि आत्मविश्वासी राख्न पछि हटेनन् ।
“भारतलाई बधाई छ । उनीहरुको टिम निकै राम्रो छ । आशा छ, हामी फाइनलमा भेट्नेछौँ । आजको खेलबाट धेरै कुरा सिकेँ । पहिलो, हामीले भारतसँग सर्भ अझै कडा गर्न आवश्यक छ । हामीले धेरैभन्दा धेरै डाइरेक्ट प्वाइन्ट बनाउन आवश्यक छ । नत्र हामी समस्यामा पर्नेछौँ,” प्रशिक्षक ब्रान्ड्टले थपे, “दोस्रो, म रिसेप्सनदेखि सन्तुष्ट छु । हामीले रिसेप्सनको यो स्तरलाई कायम राख्न आवश्यक छ । अरुणा (अरुणा शाही, कप्तान)लाई थाहा छ, उसले अझै छिटो खेल्नपर्छ भन्ने । हामीले भारत र काजकिस्तानविरुद्ध अझ छिटो खेल्नुपर्ने हुन्छ । आजको खेलको सबैभन्दा ठूलो शिक्षा भनेको हामी फाइटर्स भएको प्रमाणित भयो । हामीले समर्पण गरेनौँ । प्रत्येक बलमा लड्यौँ । हामीले बललाई नियन्त्रणमा राख्यौँ, डिफेन्ड राम्रो गर्यौँ ।”
तुलनात्मक रूपमा नेपाल भलिबल संघले आयोजना गरेको यो सबैभन्दा ठूलो प्रतियोगिता हो । यसअघि संघले पुरुषतर्फ एभीएसी सेन्ट्रल जोन सिनियर भलिबल प्रतियोगिता पनि आयोजना गरेको थियो । तर, सहभागी राष्ट्रको हिसाबमा यस प्रतियोगितालाई सबैभन्दा ठूलो मान्न सकिन्छ । पुरुषतर्फ एभीएसी सेन्ट्रल जोन सिनियर भलिबल प्रतियोगिता आयोजना सम्पन्न गरेको चार वर्ष बितिसकेको छ ।
तर, प्रतियोगितामा आयोजकको रुपमा प्रतिस्पर्धामा उत्रिँदा संघले साविक विजेताको हैसियत कसरी जोगाउने भन्नेमा पर्याप्त ध्यान दिन सकेन । टिमले तयारीका दौरान माथिल्लो स्तरको टिमसँग केही प्रशिक्षण खेल खेलेको भए नतिजा हार नै आए पनि ठूला टिमसँग खेल्न देखिने रहेको कमजोरी प्रतियोगिताअगावै पहिचान गर्न सकिन्थ्यो । प्रतियोगिता आयोजनाका लागि संघलाई धन्यवाद दिनैपर्छ । तर, प्रशिक्षक र कप्तानको भावना मनन् गर्ने हो भने पनि संघ प्रतियोगिताअनुसारको तयारी गर्न निकै पछि पर्यो ।
खेलपछि भारतीय टिमका मुख्य प्रशिक्षक प्रितमसिंह चौहानले पनि नेपालले पर्याप्त एक्सपोजर नपाएको र भारतको अवस्थामा पनि उही रहेको बताए ।
“नेपाली टिम निकै राम्रो छ । मेरो टिम पनि राम्रो छ । तर, हामीलाई अझै धेरै एक्सपोजर आवश्यक छ । नेपाली टिमलाई पनि र भारतीय टिमलाई पनि । हामी धेरै अन्तर्राष्ट्रिय खेल खेल्न पाउने राष्ट्र होइनौँ,” चौहानले भने ।
यस्तै, भारतीय टिमकी कप्तान निर्मल तान्वर भने नेपाली टिमको प्रदर्शनमा तारिफ गर्न पछि परिनन् । उनले नेपाली टिम अहिले निकै छिटो भएको प्रतिकृया दिइन् ।
“२०१९ देखि अहिले नेपाली टिममा धेरै सुधार आएको छ । उनीहरु अहिले धेरै छिटो खेल्ने भएका छन्,” तान्वरले भनिन्, “सर्भिसमा राम्रो सुधार ल्याएका छन् । यसैकारण हामीलाई खेल्न केही कठिन भयो । नेपालको टिमको एकता र टिम भावना निकै राम्रो थियो ।”