site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ढोरपाटनका धनाढ्य मेयर : हेलिकोप्टरमा सयर गर्थे, सहकारीको एक अर्ब हिनामिनापछि फरार
Sarbottam CementSarbottam Cement

पोखरा । आफैले चुनाव जितेको नगरपालिका । तर, सामान्य कार्यक्रममा पनि पोखराबाट हेलिकोप्टर चार्टर गरेर पुग्थे । २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनको सम्मुखमा दल फेरेर उमेदवार बने, चुनाव पनि जिते ।

पहिलो कार्यकालमा मेयर भएपछि पार्टीले ०७९ को स्थानीय तह निर्वाचनमा पनि उनलाई नै उमेदवार बनायो र उनले फेरि चुनाव जिते । धनाढ्य मेयरको रूपमा चिनिएका उनी यतिबेला सम्पर्कविहीन छन् ।

स्थानीय तह आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेटमा जुट्नुपर्ने हो । तर, अध्यागमन विभागले यात्रा अनुमति रद्ध गरिदिएको छ भने पार्टी कमिटीले निलम्बन गरिदिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कुनैबेला घरको छतमा हेलिकप्टर ल्याण्ड गर्ने र नगरप्रमुख हुँदा पीएसओ लिएर हिँड्ने उनको सान अहिले अवसान भएको छ । उनी अर्थात, वाग्लुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ।

०७४ को चुनावको सम्मुखमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गर्दाबित्तिकै मेयरको टिकट पाए । चुनाव पनि जिते । अहिले पनि ढोरपाटनको मेयर दोहोरिएका नेपालीलाई बुधबार उनकै पार्टी नेकपा (एमाले) ले प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिदिएको छ ।

Global Ime bank

०७४ को चुनाव जित्नासाथ नगरपालिकाको ढोरपाटनमा नै आयोजित एक कार्यक्रम उद्घाटन गर्न उनी हेलिकोप्टर लिएर पुगेका थिए । पोखराबाट मगाएको हेलिकोप्टरमा इन्धन अभाव भएपछि बागलुङकै बरेङमा आकस्मिक अवतरण गर्नुपरेको थियो भने भोलिपल्ट अर्को हेलिकोप्टरबाट इन्धन मगाएर उनी पोखरा फर्किएका थिए ।

devkumar nepali21684949353.jpg

पहिलो कार्यकालमा उनले ‘ढोरपाटनका मजदुरहरू काम नपाएर भोकै बस्ने अवस्था आए आफू एक्लैले ६ महिना पाल्ने घोषणा’ गरेका थिए ।

कोभिडको महामारीको समयमा त्यतिबेला उनको भनाइ थियो, “मैले कमाएको सम्पत्ति विपदमा परेको बेला तिनै मजदुर वर्गकै लागि हो, मैले मेरो सम्पत्तिलाई निजी ठानेको छैन ।”

ढोरपाटन नगरपालिका मात्र नभई पोखरा र काठमाडौंमा रहेका आफ्ना व्यवसाय तथा भाडामा बस्ने सबैलाई भाडा छुट गरेको समेत उनको घोषणा थियो । काठमाडौंको सुकेधारा, पोखराको पृथ्वीचोक, सृजनाचोक र रत्नचोकसहित १४ वटा वित्तीय र अन्य व्यावसायिक संघ संस्थाहरूले भाडामा लिएका आफ्ना घरको भाडा छुट गरी दिएको उनको घोषणा थियो ।

‘कोभिड कालमा’ मनकारी मेयरको उपमा पाएका देवकुमार धनाढ्य पनि उत्तिकै थिए । त्यसैले त एक महिनाअघि एक विज्ञप्ति जारी गर्दै उनले भनेका थिए, “...हामीसँग भएको चलअचल सम्पत्ति तथा मेरो व्यक्तिगत सम्पत्ति समेत बिक्री गरेर भएपनि यहाँहरूको रकम भुक्तान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

व्यक्तिगत सम्पत्ति बेचेर भएतापनि रकम भुक्तानी गर्ने आशा देखाएका मेयर अहिले भने सम्पर्कविहीन छन् । र, यो प्रकरण जोडिन्छ, ‘इमेज सहकारी’ सँग । उनी फरार हुनुको कारण चाहीँ, ‘निक्षेपकर्ताको बचत रकम फिर्ता दिन नसक्नु’ हो ।

यही सहकारी प्रकरणबाट उनले उपमेयरलाई कार्यवाहकको जिम्मा दिएका छन् भने आफू सम्पर्कविहीन बनेका छन् । उनीमाथि करोडौँ रुपैयाँ हिनामिनाको आरोप लागेको छ ।

गत शुक्रबारदेखि नै उनी सम्पर्कमा नरहेको स्थानीय प्रशासनको भनाइ छ । स्थानीय प्रशासनले नै रकम हिनामिना पश्चात भाग्न सक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन आग्रह ग¥यो ।

मंगलबार त गृह मन्त्रालयले मेयर नेपालीसहित इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्ध गराउन अध्यागमन विभागलाई पत्राचार नै गरेको छ ।

मेयर नेपाली यो सहकारीका संस्थापक अध्यक्ष समेत हुन । बचतकर्ताले आफ्नो रकम माग गरेपछि तरलता अभाव भन्दै यो सहकारी वैशाख ९ गते सूचना टाँस गरी बन्द भएको थियो ।

संस्थापक अध्यक्षको हैसियतमा नेपाली स्वंयमले एक विज्ञप्ति जारी गर्दै बचतकर्तालाई रकम भुक्तानी गरीछाड्ने आश्वासन दिएका थिए ।

“यहाँहरूले म र मेरो टिमलाई विश्वास गरेर संस्थामा सेयर खरिद गर्नुका साथै बचत रकम जम्मा गर्नुभएको हो । यहाँहरूको विश्वासमा केही समस्या आएको कुरा साँचो हो, तर यहाँहरूको विश्वासलाई हामीले कदापि डगमगाउन दिने छैनौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,” जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाली आफैंले निक्षेपकर्ताको ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । तर, सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना गरिएको आशंका स्थानीयको छ ।  परिवार नै सम्पर्कविहीन भएपछि स्थानीयको आशंकामाथि थप बल पुगेको छ ।

devkumar nepali 51684949355.jpg

मेयर नेपालीले कुनै बेला आफ्नी श्रीमती र छोरीलाई आमसभामा हेलिकोप्टर चार्टड गरेर बोलाएका थिए । २०७६ जेठ २१ गतेको जातीय भेदभाव उन्मुलन दिवसमा आयोजित आमसभा तथा र्‍यालीका लागि उनले पोखराबाट श्रीमती र छोरीलाई हेलिकोप्टरबाट झिकाएका थिए । ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा रहेको आलिसान आठ तले घरको छतमा हेलिकोप्टर ल्याण्ड भएको थियो ।

देशमा ०७४ सालमा स्थानीय तहको निर्वाचन भएर चुनाव जितेपछि नेपालीले नै व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लिएका थिए । ७५३ स्थानीय तहमध्ये गृह मन्त्रालयमा फोर्स लगाएर नै पीएसओको सुविधा लिनेमा नेपाली एक थिए ।

तत्कालीन संघीय र प्रदेश सरकार पनि आफ्नै दलमा हुनुको फाइदा उठाउँदै उनले गृहमार्फत नेपाल प्रहरीका हवल्दारलाई पीएसओ बनाएका थिए । अहिले नेपाल प्रहरीले नै मेयर नेपालीलाई खोजी गरिरहेको छ ।

“उहाँको (देवकुमार नेपाली) बारेमा खोजतलास भइरहेको छ ।” जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक योगेन्द्र खड्काले भने ।

१८ प्रतिशत ब्याज दिने भनेपछि नेपालीको यो सहकारीमा बचतकर्ताको करोडौँ रुपैयाँ जम्मा भएको थियो ।

सहकारीका सञ्चालक नै फरार भएपछि बचतकर्ता र सेयर सदस्यले संघर्ष समिति बनाएका छन् । ६०० भन्दा बढी सेयर सदस्य जम्मा भएर बचतकर्ता डिलबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ । उनीहरूका अनुसार सहकारीले डेढ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्नेछ ।

release1684949351.jpg

मेयर नेपालीले सहकारीको रकम घरजग्गामा लगानी गरेका थिए । तर, घरजग्गा व्यवसायमा गिरावट आएपछि रकम फिर्ता गर्न नसकेपछि उनी फरार छन् । पछिल्ला वर्षमा मात्र उनले पोखरा, वाग्लुङ बजार र ढोरपाटको बुर्तिवाङमा घर किनेका छन् । पोखराको सिर्जनाचोकमा रहेको ९ तले घरमा पनि नेपालीले सहकारीकै शाखा सञ्चालन गरेका छन् ।

बचतकर्ताले पैसा फिर्ता माग्न थालेपछि सहकारीले तरलता अभाव रहेको भन्दै गत वैशाख ६ मै कारोबार बन्द गरेको थियो । मेयर नेपालीले जेठ १ मा सेयर सदस्य र बचतकर्तालाई वाग्लुङ बजारमा भेला गराएर रकम फिर्ता गर्न ६ महिनाको समय मागेका थिए ।

तर, आफू सुरक्षित नरहेको र स्वास्थ्यमा पनि समस्या आएको भन्दै उनले केही दिनअघि मात्र इलाका प्रहरी कार्यालय बुर्तिबाङमा निवेदन दिएका थिए । त्यसको भोलिपल्टदेखि नै उनी फरार भएका थिए ।

यो सहकारीको पछिल्लो बचत र सम्पत्तिबारे यकिन विवरण खुलेको छैन । तर, आर्थिक वर्ष ०७८/७९ मा सहकारीको कुल सम्पत्ति एक अर्ब १४ करोड ५८ लाख थियो । त्यतिखेर ८२० सेयर सदस्य रहेको र तीन करोड ३३ लाख सेयर पुँजी तथा ९५ करोड २४ लाख बचत संकलन थियो । जसमा ७१ करोड ऋण लगानी थियो ।

immigration1684949351.jpg

तर, सहकारीले पछिल्लोपटक बचतमा १८ प्रतिशत ब्याजको स्किम ल्याएपछि गैरसदस्यले धमाधम बचत गरेका थिए । कतिपयले बैंकबाट निक्षेप झिकेर सहकारीमा जम्मा गरेका थिए ।

स्थानीय प्रशासनका अनुसार सहकारीमा झन्डै २५ सय सेयर सदस्य र बचतकर्ता रहेको अनुमान छ । ०६९ देखि वाग्लुङ सदरमुकाममा सञ्चालनमा आएको सहकारीले पछिल्लोपटक बुर्तिबाङ र पोखराबाट पनि कारोबार गर्दै आएको थियो ।

आफू फरार हुनुअघि मेयर नेपालीले उपमेयर धनबहादुर कायतलाई कार्यवाहकको पत्र थमाएका थिए । कायतले पनि उक्त पत्र कार्यकक्षको टेबुलमा भेटिएको जनाएका छन ।

एमालेबाट निलम्बित
एमाले गण्डकीले ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई प्रदेश सदस्यबाट निलम्बन गरेको छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका देवकुमारले बचतकर्ताको रकम हिनामिना गरेको पुष्टि भएपछि एमालेले सो निर्णय गरेको हो । उनी गएको निर्वाचनमा एमालेकै टिकटबाट मेयरमा निर्वाचित भएका थिए ।

एमाले गण्डकीका सचिव धनञ्जय दवाडीका अनुसार पार्टीको मंगलबारको बैठकले घटनाको निरुपण नहुँदासम्मको लागि उनलाई प्रदेश कमिटीको सदस्यवाट निलम्बन गरेको  हो ।

एमाले गण्डकीद्धारा जारी विज्ञप्तिमा बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएको र संस्थाका पदाधिकारीहरुलाई यात्रा अनुमति रद्द गर्न भनी गृह मन्त्रालयले निर्देशन जारी गरेको तथ्यसमेत जगजाहेर रहेको उल्लेख गर्दै सरकारी निकायबाट सुरु गरिएको छानबिन प्रक्रियामा सघाउन सवैसँग आग्रह पनि गरिएको छ ।

विज्ञप्तिमा घटनामा आरोपित सहकारीका संस्थापक अध्यक्ष देवकुमार र अन्य सवै सञ्चालकहरूलाई वचतकर्ताको सम्पूर्ण रकम शिघ्र फिर्ता गर्न आग्रह पनि गरिएको छ । देवकुमार गएको शुक्रबारदेखि सम्पर्कविहीन छन् । उनीमाथि सर्वसाधारणबाट संकलित करोडौँ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

devkumar nepali 11684949356.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  ०६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC