राष्ट्रपति जो बाइडेनको सरकारले संयुक्त राज्य अमेरिकामा आधिकारिकरूपमै राष्ट्रिय स्वास्थ्य सङ्कटकाल अन्त्य गरेको छ । फलस्वरूप महामारीका कारण लगाइएका बाँकी प्रतिबन्धहरू पनि मे ११ सम्ममा फुकुवा भइसक्नेछन् । अरू केही मुलुकहरूले त यसअघि नै यस्तो कदम चालिसकेका छन् । थप अरू देशले पनि यस्तै कदम चाल्ने अपेक्षा गरिएको छ ।विश्न स्वास्थ्य संगठनले कोभिड-१९लाई विश्व स्वास्थ्य सङ्कटबाट हटाएपछि अब बिस्तारै यो भाइरस र यसबाट जीवन गुमाउने ठूलो सङ्ख्याको सम्झना सँगै एन ९५ मास्क एवं पीसीआर परीक्षणको चर्चा पनि हराउँदै जानेछ । परन्तु, यस्तो सामूहिक विस्मृतिले जनस्वास्थ्यका लागि आवश्यक रकम सुनिश्चित गर्ने प्रयास पनि शिथिल हुनेछ ।
विध्वंश वा महामारीजस्ता घटनालाई बिर्सने हाम्रो क्षमता अलिकति त त्यसको आघात सहने संयन्त्र पनि हो र त्यसमा हामीलाई दैनिक जीवनमा अगाडि बढ्न आवश्यक भावनात्मक प्रतिरोध शक्ति पनि प्रतिविम्बित हुन्छ । महामारीको सामाजिक र आर्थिकअसर जति विनाशकारी भएको छ त्यसले निको मेटिन नसक्ने पीडाको दाग भने आफन्त गुमाएका पीडितहरू, स्वास्थ्यकर्मी तथा अन्य अगिल्ललो पङ्क्तिका कार्यकर्ता, प्रतिरोध क्षमता कमजोर भएका व्यक्तिहरू, लामो समय कोभिड लागेका एवं अन्य गम्भीर समस्या भएकाहरूमामात्र छाडेको देखिन्छ ।
हुनत, त्रासद घटनाहरूले प्रायः सुधारका लागि उत्प्रेरित गर्छन् तर हाम्रो केही गर्ने इच्छाशक्ति अत्यन्त क्षणिक हुने हुनाले त्यसको प्रभाव बिरलै दिगो हुन्छ । यस्तो प्रवृत्ति गोलीकाण्ड, सुनामी र भूकम्पजस्ता घटनाको समाचार तथा गुगलमा खोजीमा स्पष्ट देखिन्छ जहाँ सुरुमा देखापर्ने चाख र चासो बिस्तारै समयसँगै हराउँदै गएको हुन्छ ।
सम्झनाहरू निर्माण गर्न र तिनलाई जोगाइराख्न मानव मस्तिष्कमा संकेत निर्माण, एकत्रीकरण र पुनःस्मरणको एउटा अन्तर्सम्बन्धित जटिल प्रक्रिया हुन्छ । नयाँ सूचना दिइएपछि मस्तिष्कले यसका खण्डहरूलाई भावनात्मक स्मृतिका विभिन्न खण्डमा प्रशोधन गर्छ । स्मृतिका यी सबै खण्डले ‘एनग्राम’ भनिने सम्झनाका ठोस आकारको प्रतिनिधित्व गर्छन् । सम्झनाका रूपमा मस्तिष्कमा संग्रहित हुनुभन्दा पहिले एकत्रीकरण भएनन् भने बिर्सिइन सक्छन् । प्रायः निदाएका बेला सूचनाहरू स्मृतिका रूपमा एकत्रीकरण हुन्छन् जुन पछि लामो समयसम्म सम्झनामा बस्छन् । यस प्रक्रियामा मस्तिष्कको भण्डारण क्षेत्रले स्मृतिहरूको पुनरावृत्ति गरिरहन्छ र बाहिरी प्रयोजनमा प्रयोग गर्न न्युरोनहरूमा वितरण हुन्छ । पुनरावर्तनको अन्तिम चरणमा स्मृति खण्डहरू पुनः क्रियाशील हुन्छन् ।
दिनहुँ हाम्रो मस्तिष्कमा लाग्ने सूचनाको ओइरो स्मृतिमा राख्न कठिन हुन्छ । सूचनाको विस्मृति र स्मृति एकआपसमा जेलिँदा बिर्सने प्रवृत्तिमा वृद्धि हुन्छ । यस अतिरिक्त जोखिम मूल्याङ्कन गर्ने मस्तिष्कको प्रक्रिया नितान्त वैयक्तिक हुने हुनाले यसमा सूचनाका साथै हाम्रा पूर्वाग्रह र आवश्यकताले पनि प्रभावित गरेका हुन्छन् ।
हाम्रो सामूहिक अवचेतनबाट कोभिड-१९ को सम्झना धमिलो हुँदै जाँदा सन् १९१८ को इन्फुएन्जाको महामारी तुरुन्तै बिर्सेर छिटै ‘रोअरिङ ट्वेन्टिज’ अर्थात् बीसको दशको चमकदमक र उमङ्गको सम्झना हुन्छ । तर, सामूहिक विस्मृतिका कारण हामी भविष्यमा आइलाग्न सक्ने हावाबाट सर्ने रोगको सामना गर्ने तयारीबाट चुक्नसक्छौँ । फलस्वरूप, हामीले मास्क लगाउने, भेन्टिलेसन र सङ्क्रमण रोक्न कतिपय क्रियाकलाप घरभित्रै गर्ने पाठ फेरि सिक्नुपर्ने हुनसक्छ ।
सन् १९१८ को महामारीमा विश्वको एक तिहाइ जनसङ्ख्या सङ्क्रमित भएको थियो भने पाँच करोडको मृत्यु भएको थियो । अर्थात्, पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका सैनिकको सङ्ख्या जोड्दा भन्दा पनि धेरै मारिएका थिए । यति ठूलो मानवीय क्षति भएको भए पनि ती पीडितहरूको सम्झनामा न त कुनै स्मारक छ न कुनै स्मृति दिवस नै तोकिएको छ । सन् २०२० भन्दा पहिले कसैलाई बीसौं शताब्दीको सबैभन्दा घातक घटनाका सम्बन्धमा सोध्दा बिरलैले मात्र भाइरसको नाम लिन्थे । हालैमात्र गाए बेनिएरजस्ता इतिहासकारहरूले विस्मरणको प्रवृत्ति उत्खनन गर्न थालेका छन् । कोभिड-१९ बाट ज्यान गुमाउने लाखौं जनाको स्मृति दिवस मनाउन नथाल्ने हो भने विस्मृतिकै चक्रले निरन्तरता पाउने जोखिम हुनेछ ।
मानसिक उत्थानका उपायका रूपमा मानिसहरूको विगतभन्दा भविष्यतर्फ हेर्ने दृष्टिकोण बढी सकारात्मक हुन्छ । बदल्न नसकिने विगतभन्दा भविष्य अनन्त सम्भावनायुक्त हुने भएकाले ‘भविष्यमुखी सकारात्मक आग्रह’ मानिसमा उत्पन्न हुन्छ । तर, भविष्यतर्फ मात्र हेर्ने हाम्रो बानीले महामारीको पूर्वतयारीजस्ता मामिलामा प्रगति हुन दिँदैन र हामी पहिलेभन्दा राम्रो अवस्थामा भएको विश्वास दिलाउँछ । थुप्रै प्राज्ञिक संस्था, चिन्तन प्रतिष्ठान, जनस्वास्थ्य संगठनहरू र सरकारहरूले महामारीको पूर्वतयारीका लागि विस्तृत सिफारिसहरू सार्वजनिक गरेका छन् । तिनको कार्यान्वयनका लागि न समन्वय गरिएको छ न कुनै एकीकृत प्रयत्न नै भएको पाइन्छ । महामारी सुरु भएको तीन वर्षपछि पनि जनस्वास्थ्यका निकायहरूमा किन कर्मचारी र पैसाको अभाव छ भन्ने स्पष्ट उत्तर पाइएको छैन भने आपूर्ति शृङ्खला किन विफल भयो, सामाजिक सञ्जालहरू र सञ्चार माध्यममा कोभिड-१९ सम्बन्धी भ्रम किन फैलाउन दिइयो र जनस्वास्थ्यसम्बन्धी निकायहरू पूर्वक्रियाशील नभएर किन प्रतिक्रियाशील हुन पुगे भन्ने प्रश्नहरू पनि अनुत्तरित नै छन् ।
भविष्यमा देखिनसक्ने महामारीको सामना गर्ने राम्रो तयारी हुने सुनिश्चित होस् भनेर अमेरिकामा चिकित्सा र विज्ञान क्षेत्रका प्रबुद्ध हस्तीहरूले ९/११ कमिसनकै ढाँचामा कोभिड-१९ महामारी राष्ट्रिय कार्यदल बनाउने प्रस्ताव गरेका थिए । तर, त्यो प्रस्तावलाई संसद्ले निस्तेज बनाइदियो । अरू समस्याहरू हेरेर धेरैले महामारीले समाजमा गरेको विनाश बिर्सेर सामान्य अवस्थामा फर्कन रुचाएजस्तो देखियो ।
नरसंहार, महामारीजस्ता त्रासदीहरू बिर्सन सक्षम बनाउने सामान्यीकरणको चक्र कठिन भए पनि तोड्नु आवश्यक छ । हामीले हाम्रा पूर्वाग्रहहरूले हाम्रो र भावी पुस्ताको जीवनलाई सङ्कटमा पार्ने यथार्थ स्वीकार गर्नुपर्छ । बन्दुकबाट हुने हिंसा कम गरेर र महामारीको पूर्वतयारीमा सुधार गरेर असङ्ख्य जीवन बचाउन तथा मानवीय अकलल्पनीय विपत्ति कम गर्न प्रमाणमा आधारित स्पष्ट नीतिगत मार्गचित्रले सहयोग गर्न सक्छ । यस्ता उपायहरू सफलतापूर्वक कार्यान्वयन गर्न भने विभाजन र विचलनको पासोबाट उम्कनुपर्छ ।
आयरल्यान्डलाई सन् १८४० को दशकको भयानक भोकमरीको असरको सम्झना दिलाउने स्मारक र सग्रहालय बनाउन १५० वर्षभन्दा बढी लाग्यो । कोभिड - १९ का हकमा पनि त्यसै हुनदिन सकिँँदैन । महामारीले सिकाएको पाठमा हाम्रो ध्यान पुगेको सुनिश्चित गर्न हामीले यसका असरहरूलाई संस्मरणमा राख्नुपर्छ, स्मृति दिवस तोक्नुपर्छ, विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा परिमार्जन गर्नुपर्छ, प्रदर्शनीका लागि स्थायी संग्रहालय निर्माण गर्नुपर्छ र स्मारकहरू बनाउनुपर्छ । विगतलाई स्मरण गर्ने हाम्रो क्षमताले भविष्यमा अर्बौं जनजीवनमा प्रभाव पर्नेछ ।
(अध्यक्ष, एक्सेस हेल्थ इन्टरनेसनल)
Copyright: Project Syndicate, 2023.