site stats
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरण : ‘हाइ प्रोफाइल’ बालकृष्ण र टोपबहादुर नै ! 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइ प्रोफाइल’हरूमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँण हुन् । यसबाहेक अन्य केही ‘हाइ प्रोफाइल’को पनि संलग्नता रहेको आशंका गरिए पनि प्रमाणको अभावमा पक्राउ गर्न नसकिएको प्रहरी स्रोतको भनाइ छ । 

“नक्कली भुटानी प्रकरणका हाइ प्रोफाइल बालकृष्ण र टोपबहादुर नै हुन् । इन्द्रजित राईलगायतले बयान दिएको भए अन्य केही नेतासँग नाम जोडिएका पात्र तानिन सक्थे । तर, प्रमाणको अभावमा आशंका भए पनि हामी अगाडि बढ्न सकेनौं,” अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “इन्द्रजित राईलगायतले मुख नखोलेपछि प्रमाणको अभावमा आशंका गरिएका व्यक्तिसम्म पुग्न सकिएन ।” 

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धान सकिएको छ । प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ । यो प्रकरणमा १६ जना पक्राउ परेका छन् ।

Himalayan Bank
Agni Group

प्रहरीप्रधान कार्यालयका अनुसार अनुसन्धानमा थप १६ जना फरार रहेको उल्लेख छ । उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । फरार हुनेमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा पनि छन् ।

प्रहरीले संगठित अपराधअन्तर्गत भएको ठगी र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउनुपर्ने राय जिल्ला सरकारी वकिलको कार्यालयलाई दिएको छ । आईजीपी वसन्त कुवँरका अनुसार भोलिसम्म सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा अभियोजन गर्ने तयारी छ । उनले अनुसन्धानका विषयमा अन्य कुरा बोल्न नमिल्ने बताए ।

Global bank

पक्राउ परेका १६ जनालाई थुनामा राख्न आज पुनः म्याद थप गरिने

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । यो प्रकरणका योजनाकार एवं बिचौलिया भनिएका केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ र सागर थुलुङलाई प्रहरीले गएको चैत १२ गते पक्राउ गरेको थियो । उनीहरूको बयान र प्रमाणका आधारमा प्रहरीले यो प्रकरणमा जोडिएका अरू व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले सानु भण्डारीबाट घटनाको अनुसन्धान सुरु गरेको थियो । प्रहरी अनुसन्धानकै क्रममा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणको संलग्नता देखिएपछि उनीहरु पनि पक्राउ परेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन संगठित रूपमा सांसद, सरकारी कर्मचारी, बिचौलियालगायत गिरोहको समूहले करिब सात वर्षअगाडिदेखि प्रक्रिया सुरु गरेको खुलेको छ ।

यो प्रकरणमा एक अर्बभन्दा बढीको कारोबार भएको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय