काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा नेपालले विजयी सुरुआत गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न समूह 'ए' को खेलमा नेपालले कीर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो ।
पहिलो सेटमा २५–११ को सहज जित निकालेको नेपालले दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–११ को जित निकाल्यो ।
प्रतियोगितामा यसअघि आजै भएको पहिलो खेलमा समूह 'बी' को उज्वेकिस्तानले श्रीलंकाविरुद्ध र समूह 'ए' को भारतले बंगलादेशविरुद्ध समान ३–० कै सोझो सेटमा जित निकालेको थियो ।
जितसँगै तीन अंक जोडेको नेपाल समूह 'ए' को दोस्रो स्थानमा उक्लिएको छ । तीन अंक नै जोडेको भारत तालिकाको शीर्ष स्थानमा छ । यस्तै, अंकविहीन कीर्गिस्तान र बंगलादेश तेस्रो र चौथो स्थानमा छन् ।
आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह 'ए' मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् । यस्तै, समूह ‘बी' मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।