काठमाडौं । रवीन्द्र सिंह बानियाँलाई लागिरहन्थ्यो– पैसाको ‘रिस्क’ नलिई सिनेमा बनाउन पाए कस्तो हुन्थ्यो होला त्यो दिन ? न पैसा बजारबाट उठाउने प्रेसर न सुटिङ डेज बढ्ला भन्ने तनाव !
नेपालीमा एउटा आहान छ– तँ आँट म पुर्याउँछु ! संयोगले उनको भेट खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)सँग भयो । उनले ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ (डाकिनी) बनाउने निर्णय गरे । भाग्यवश त्यसमा रवीन्द्र पनि जोडिए । सिनेमा बन्यो । रवीन्द्रले बेलाबेलामा सोचेजसरी नै ।
नत्र साढे नौ करोड कहाँबाट ल्याएर बनाउन सक्नु ! सक्दैन’थे । बनाए पनि कहाँबाट लगानी उठाउन सक्नु !
अक्सर निर्माताको चाह हुन्छ, आफ्नो सिनेमाले भरमार व्यापार गरोस् । प्रशस्त पैसा कमाइयोस् । तर, ‘डाकिनी’का निर्मातालाई यो सिनेमाबाट पैसा कमाउनु छैन । मात्र यस्तो सिनेमा पनि नेपालमा बन्दो रहेछ भनेर देखाउनु छ । सेलिब्रेट गर्नु छ । विश्वका धेरै फिल्म फेस्टिभल घुमिसकेको ‘डाकिनी’ नेपालमा हल रिलिज गर्ने तीव्र चाह पनि निर्मातालाई थिएन । कारण, उनीहरूलाई थाहा छ, यो नेपाली ‘टेस्ट’को सिनेमा होइन । यो सिनेमा आम नेपाली दर्शकले मन पराउँदैनन् । तर पनि कास्ट एन्ड क्रु र सिनेमा लभरलाई लक्षित गरेर सीमित हलमा मात्र रिलिज गर्ने रवीन्द्र र दीपेश खत्री (म्याक्स)को षट्कोण आट्ले निर्णय गर्यो ।
मात्र उनीहरूलाई सिनेमा यस्तो पनि हुन्छ भनेर देखाउनु छ । स्लो पेसको सिनेमा पनि राम्रो हुन्छ भनेर प्रमाणित गर्नु छ ।
जब मान्छेले म बेस्ट काम गर्छु भनेर कुनै कुरालाई आफ्नो अधीनमा राख्ने प्रयास गर्छ, तब त्यो विफल हुनसक्छ । भएको कुरालाई राम्रो बनाउनेतर्फ जानुपर्छ । त्यो हो, लेट गो । “आर्टमा लेट गो जस्तो राम्रो केही हुँदैन । जब मान्छे ढुक्क हुन्छ, तब फक्रिन्छ,” रवीन्द्रले भने, “सिनेमामा पनि खर्च गर्नेदेखि खिच्नेसम्मका कार्य ढुक्कले गर्न सकियो भने राम्रो हुन्छ । डाकिनी त्यसैगरी बनेको राम्रो चलचित्र हो । त्यसैले क्लासको सिनेमा बनेको छ ।”
सुरुमा स्क्रिप्ट हेर्दा यसमा कमर्सियल भ्यालु पनि भएको बुझेका रवीन्द्र बताउँछन् । “तर, पछि यसरी खिचियो, त्यो स्लो पेसको बन्यो । विषय म्यानुपुलेट भएर बिग्रिन्छ भनेर सिनेमेटोग्राफरले आफ्नै हिसाबले खिच्नुभयो,” रवीन्द्र भन्छन्, “यो सिनेमा क्लासको बनेको छ । एभोकाडोजस्तै हो यो सिनेमा । सुरुमा नमिठो लाग्ने, पछि यसको स्वादले लोभ्याउने ।”
‘डाकिनी’ सिनेमेटोग्राफर मार्क ली पिङ बिङले खिचेका हुन् ।
‘डाकिनी’ सिनेमेटोग्राफर मार्क ली पिङ बिङ (बायाँ) ।
उनले २१ अन्तर्राष्ट्रिय अवार्ड हासिल गरिसकेका छन् । ताइवानी छायाकार मार्कले सन् २००० मा वङ कर वाइको फिल्म ‘इन द मुड फर लभ’का लागि कान्स फिल्म फेस्टिभलको ग्रान्ड टेक्निकल प्राइज पाएका थिए । एकेडेमी अफ मोसन पिक्चर एन्ड साइन्सेज (ओस्कर अवार्ड)का सदस्य समेत रहेका मार्क लीले खिचेका चर्चित फिल्ममा ‘इन द मुड फर लभ’सहित ‘द असासियन’, ‘रेनोयर’, ‘नर्वेजियन उड’, ‘फ्लाइट अफ रेड बलुन’लगायत छन् ।
यो चलचित्रबाट उनले मात्र तीन करोड रुपैयाँ लगे । रवीन्द्र भन्छन्, “तर, त्यो उनको चिया खर्चजस्तो मात्रै हो । उनलाई पारिश्रमिक त हामी कहाँ दिन सक्छौँ र ! कलरिस्टले प्रतिदिन पाँच हजार डलर लिए । ३५ हजार डलर त उनले मात्रै लगे, सात दिनको ।”
खिन्से नोर्बुसँगको सम्पर्कले मात्र उनले यो फिल्म खिचेको रवीन्द्र बताउँछन् । खिन्से बौद्ध धर्मका ठूला धर्मगुरु हुन् ।
४० विदेशीको आउजाउ र लजिङ–फुडिङको खर्च व्यहोरे । पनौती र पाटनमा ४६ दिन सुटिङ भयो । निर्मातामध्येका षट्कोण आर्टसका म्याक्स भन्छन्, “दुईवटा त प्यारलल किचन थिए । एउटा नेपाली र अर्को वेस्टर्न । हरेक सेटको छेउमा स्न्याक्स लाइभ बार हुन्थ्यो ।”
इक्युप्मेन्ट भारत र ताइवानबाट ल्याए । कलर र साउन्डको काम ताइवानमा भयो । इडिटिङ चीनमा भयो ।
त्यो रहस्यमयी ट्रेक
सन् २०१७ मा खिन्से नोर्बुलाई म्याक्सले पुनहिलमा ट्रेक गराएका थिए । म्याक्सले रवीन्द्रलाई यो ट्रेकमा अकाउन्टेन्टका रूपमा छिराएका थिए । रवीन्द्र खिन्सेका फ्यान थिए । एकातिर उनका सिनेमा हेरेर, अर्कातर्फ उनी बौद्ध धर्मका ठूला गुरु थिए । ‘द कप’, ‘ट्राभल्स एन्ड म्याजिसियन्स’, ‘हिमा हिमा : सिङ मी अ सङ ह्वाइल आई वेट’, ‘भरा : अ ब्लेसिङ’ र ‘ब्रिलियन्ट मुन : ग्लिम्पसेस अफ डिल्गो खिन्छे रिम्पोछे’ उनले निर्देशन गरेका चलचित्र हुन् ।
“म भरिया भएर भए पनि जान्छु भनेको थिएँ । म्याक्सले अकाउन्टेट बनाएर लग्यो,” म्याक्सप्रति रवीन्द्र अनुग्रहित सुनिए, “कसरी उसले मिलायो मलाई थाहा छैन, त्यो ग्रुपमा कोर टिमका सदस्य मात्रै थिए ।”
म्याक्सले थपे– त्यो ट्रेकमा जानेमा बिलेनियर्सहरू मात्रै थिए ।
त्यसैले उनले रवीन्द्रलाई भनेका थिए– यहाँ कसैको चियोचर्चो नगर्नू, त्यो गरेको यो गु्रपका कसैले पनि मन पराउँदैनन् । को, किन, नाम, घर कहाँ केही नसोध्नू भनेका थिए । कम्तीमा आफूले मानेको रिम्पोछेसँग हिँड्न मात्र भए पनि त पाइएको छ, त्यसमै धन्य थिए रवीन्द्र । आग्रह शिरोधार्य थियो ।
पुनहिलको जंगलको होटेलमा पुगेका मात्र थिए । होटेलमा रहेका दुई चिनियाँ युवती आफूसँगै रहेको एउटा अग्लो मंगोल फेसका युवक देखेर एकार्कालाई हेरेर कानेखुसी गर्दै बेहोस हूँलाझैँ गरे ।
“मैले कसलाई हेरेर यिनीहरू अचम्ममा परे भनेर पछि हेर्छु कोही छैन । उनीहरूले मसँगै रहेको त्यही मंगोल फेसको युवकलाई देखेर पो बेहोस हुन खोजेका रहेछन्,” रवीन्द्रले स्रेकेट खोले, “के भयो भनेर सोधेको त त्यो युवक त चीनको अनमोल केसी पो रहेछ ! दुई दिन सँगै हिँड्दा पनि उसलाई मैले चिनिनँ ।” ती थिए अभिनेता हुग ।
ट्रेकका क्रममा हुगसँग ‘डाकिनी’ निर्माता म्याक्स (बायाँ) हुग (दायाँ) ।
चीनको सांघाईमा प्लेनबाट ल्यान्ड भएर बाहिर निस्कँदा आफूले त्यो एयरपोर्टको गेटअगाडि सबैभन्दा ठूलो बोर्ड उनै एक्टरको देखेको म्याक्सले बताए । “त्यसपछि पो मलाई काउकुती लाग्न थाल्यो, यो ट्रेकमा को–को छन् भनेर ?,” रवीन्द्र भन्छन् ।
रवीन्द्रले थाहा पाए, यो ट्रेकमा सिंगापुर बैंकको सीईओ थिए । लाइटसम्बन्धी वैज्ञानिक रहेछन् । पब्जीका मालिक रहेछन् । वीच्याटका साहु रहेछन् ।
अनि पक्रिए चोर !
अर्को रात बास बसेको ठाउँमा खिन्से नोर्बुले आफू काठमाडौंमै बसेर पढेको बताए । आफ्ना हजुरबुवाले काठमाडौं डाकिनी र देवीको भूमि भएको बताएको सुनाए । कतिपय बौद्ध गुरुहरू काठमाडौं देव भूमि भएकाले पाउले टेक्नु हुँदैन भनेर नुवाकोटको डाँडोमा गएर काठमाडौंलाई ढोगेर त्यहीँबाट फर्कने गरेको खिन्सेले बताए । काठमाडौंका कणकणमा देवीदेवता भएकाले टेक्न हुँदैन भन्ने उनीहरूको मान्यता रहेछ ।
खिन्से नोर्बुले भने– यहाँ डाकिनी चिन्नै सकिँदैन । चिया पसलमा डाकिनीहरू चिया बेचेर बसिरहेका हुन्छन् ।
सानोमा हामीलाई हजुरबुवाले होमवर्क दिनुहुन्थ्यो– पाटनमा एकजना डाकिनी चिया बेचिरहेकी छन्, चिनेर खुट्टाको पानी खाएर आऊ ।
त्यही ट्रेकमा खिन्सेले भने– म यो विषयमा सिनेमा बनाउँछु ।
हिँड्दाहिँड्दै उनले बाटोमै स्क्रिप्ट लेख्न थाले । खिन्सेले भने– यो सिनेमाको नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्टाच’ हुनेछ ।
म्याक्सलाई लाग्यो– वर्किङ टाइटल होला, यति लामो त सिनेमाको नाम कहाँ हुन्छ ?
खिन्सेले भने– यो फिल्म तिमीले प्रोड्युस गर्नुपर्छ ।
‘जात्रा’ बनाउँदैदेखि म्याक्स रवीन्द्रका मिल्ने साथी थिए । सँगै उठबस पनि थियो । तर, सिनेमाको काममा उनी प्रत्यक्ष संलग्न थिएनन् । रवीन्द्र र म्याक्सको छुट्टाछुट्टै कर्म थियो ।
ब्रेकफास्टको समय थियो । सबै सँगै थिए । रवीन्द्र र म्याक्स सँगै बसेका थिए । जब ‘तिमीले सिनेमा प्रोड्युस गर्नुपर्छ’ भने, खिन्सेले चोर समाते । “तपाईं फिल्म बनाउने भए प्रोड्युसर छ त, यी यहीँ छ भनेर मैले रवीन्द्रलाई देखाएँ । मैले त्यो समय ट्रेकको ग्रुपमा अकाउन्टेन्ट बनाएर घुसाएको कुरा त बिर्सिएछु,” म्याक्सले भने ।
त्यसपछि म्याक्स र रवीन्द्रले आफ्नो कुरा बताए । सिनेमासम्बन्धी कम्पनी षट्कोण आर्टस रहेको सुनाए । खिन्सेले भने– नेपाली कथा हो, नेपालीले नै यो सिनेमा बनाउनुपर्छ ।
‘मेरो सिनेमा हेरेर हलमा दर्शक निदाउँछन्’
खिन्से भन्थे– मेरो फिल्म हेरेर मान्छे हलमा निदाएर उठ्ने हो । मैले सिनेमा बनाउने नै त्यस्तै हो । म कमर्सियल सिनेमा बनाउँदिनँ । कमर्सियल सिनेमा त सबैले बनाउँछन् ।
‘डाकिनी’ पनि उनले कमर्सियल उद्देश्यले बनाएको सिनेमा होइन । उनले चाहेको भए जो कसैले उनको सिनेमामा एक्लै पैसा लगानी गर्ने थियो । तर, उनले त्यसो गरेनन् । क्राउड फन्डबाट सिनेमा बनाउने निर्णय गरे । क्राउड फन्डिङका लागि ओपन गरेको एक घण्टामा बन्द गर्नुपरेको रवीन्द्रले स्मरण गरे ।
“नेपाली कथा भएकाले यसको स्वामित्व नेपालीले नै लिनुपर्छ भनेर उहाँले यो सिनेमा हामीलाई गिफ्ट गर्नुभएको हो,” रवीन्द्र फेरि एकपटक उनीप्रति अनुग्रहित सुनिए, “श्रमबाहेक हाम्रो एक रुपैयाँ पनि परेको छैन । हामीले कामको व्यवस्थापन मात्रै गरेका हौँ । उहाँहरूका लागि त यो (साढे नौ करोड रुपैयाँ) नो बजेट हो । वान मिलियनभन्दा कममा सिनेमाको काम सकिनु अचम्म हो रे !”
छायांकनका क्रममा ‘डाकिनी’का कलाकार ।
रवीन्द्रका दृष्टिमा डाकिनी गहिरो अध्ययन भएको फिल्म हो । “पुराण, वेद भनेजस्तै गहिरो विषय समेटिएको सिनेमा हो भन्ने मलाइ लाग्छ । शून्यताको कुरा छ, त्यसमै सिकाइ छ । डाकिनी भनेको नेचर अफ माइन्डको कुरा रहेछ,” रवीन्द्र भन्छन् ।
संसारभर देवी खोज्न हिँड्नु पर्दैन, तिमी आफैँ र तिम्रो वरपर रहेका व्यक्ति नै देवी हुन् भन्ने ‘डाकिनी’को मूल कथा हो । सत्य परेलाभन्दा नजिक हुन्छ, तर मान्छेले त्यसलाई देख्दैन । उल्टै खोज्दै हिँड्छ भन्ने मान्यता यो सिनेमाको सूक्ष्म सन्देश हो ।
बौद्ध ग्रन्थमा ‘डाकिनी’ भन्नाले बज्रयोगिनी, ताराजस्ता देवीका थुप्रै मिथक छन् । यो सिनेमा यस्तै देवीको खोजीको कथा हो ।
अमेरिकी फिल्म निर्देशक मार्टिन स्कोर्सेसले ‘डाकिनी’बारे एक पेज प्रशंसाका शब्द लेखेका छन् । त्यो अहिले पनि म्याक्ससँग सुरक्षित छ ।
चिल्ड खिन्से
अक्सर मेकरले सिनेमा बिग्रिन्छ भनेर कुनै सम्झौता गर्न चाहँदैन । सिनेमा बिग्रिन्छ भनेर बजेटले भ्याएसम्म राम्राराम्रा कलाकार र प्राविधिक लिने गरिन्छ । तर, खिन्सेको उद्देश्य नै अर्कै हुने गरेको रवीन्द्रले अनुभूत गरे । पैसा र ‘एक्सपोजर’का कारण कसैको इच्छा नमरोस् भनेर काम दिने गरेको उनले अनुभव गरे ।
“फिल्म बिग्रिए केही हुँदैन, मान्छेचाहिँ बिग्रिनु हुँदैन भन्नुहुन्थ्यो । सिक्दै जाने हो भन्नुहुन्थ्यो । त्यसैले मुख्य प्राविधिक बाहिरबाट ल्याए पनि असिस्ट गर्न सबै नेपाली प्राविधिकलाई दिनुभयो । कारण, सबैले सिक्नुपर्छ, एक्सपोजर पाउनुपर्छ भन्ने उहाँको मान्यता हुँदो रहेछ,” रवीन्द्र अगाडि थप्छन्, “कामका आधारमा कसैलाई विभेद गर्नु हुन्न । नवराज उप्रेतीले फोकस पुल गरेको देखेर उहाँले भन्नुभयो, ‘मेरो अर्को फिल्म म तिमीलाई दिन्छु ।’ त्यो फिल्मपछि उसको प्रगति कति भयो, सबैलाई जगजाहेर छ ।”
डाकिनीको कथा सांराश
काठमाडौंमा क्याफे चलाएर बसिरहेका तिब्बती मूलका युवकलाई एक दिन सपनामा संकेत मिल्छ । उसको साथीले सपनाको अर्थ खुलाइदिँदै भन्छ, ‘तिमी अब जम्मा सात दिन बाँच्छौ ।’ जब उसले यो संकट डाकिनीले हटाउन सक्ने थाहा पाउँछ, अनि सुरु हुन्छ – जुँगा र दाह्रा भएकी डाकिनीको खोजी । उसले डाकिनी कहाँ फेला पार्छ ? उसको जीवन बच्छ कि बच्दैन ? यसकै सेरोफेरोमा सिनेमाको कथा घुमेको छ ।
शुक्रबार (हिजो)देखि सीमित नेपाली हलमा रिलिज यो चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेल छन् । भारतमा जन्मिएका यी दुवै कलाकार तिब्बती मूलका हुन् । नेपालका रवीन्द्र सिंह बानियाँ, दिव्यदेव, कर्मालगायत कलाकारको अभिनय छ ।