काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सर्वोच्च अदालतको फैसलाप्रति पुनरवलोकनमा जाने संकेत गरेका छन् । बुधबार डिल्लीबजार कारागारबाट विज्ञप्ति जारी गर्दै उनले टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै पुनरवलोकनको बाटो खुला रहेको बताएका हुन् ।
“जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ । तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न,” विज्ञप्तिमा उनले लेखेका छन्, “टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरवलोकनको बाटो हाम्रा लागि खुला छ ।”
टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि उनले आग्रह गरेका छन् । “मलाई अझै सम्मानित सर्वोच्च न्यायालयप्रति भरोसा छ । हामी अझै न्यायको पर्खाइमा छौँ,” विज्ञप्तिमा उल्लेख छ ।
आफू स्वस्थ रहेको र विचलित नभएको भन्दै पुस्तक लेखिरहेको पनि उनले जानकारी दिएका छन् । केही दिनमै ‘धरातल’ नामक पुस्तक सार्वजनिक गर्ने उनले बताएका छन् ।
सर्वोच्च अदालतले चौधरीलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो । टीकापुर घटनामा उच्च अदालत दिपायलले चौधरीसहितलाई जन्मकैदको फैसला गरेको थियो ।
०७२ भदौ ७ मा कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा संलग्न रहेको अभियोगमा चौधरीले डिल्लीबजारको कारागारमा सजाय काटिरहेका छन् ।
उनी टीकापुर घटनाका मुख्य योजनाकार मानिएका छन् ।