site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
जताततै किरण
Sarbottam CementSarbottam Cement

काठमाडौं । मदनकृष्ण श्रेष्ठका नेवारी गीत उक्त समुदायमा त लोकप्रिय छ नै । त्यो समुदायको चौघेरा नाघेर अरूले पनि उत्तिकै रुचाएका छन् । तिनै गीत सुनेर हुर्किए, किरण केसी । ती कालजयी गीत सुनेर उनलाई लोभ लाग्थ्यो । यस्तै गीत गाउने पाए ? किरणको मनमा रहरले घर गर्‍यो ।

पाक्कपुक्क बोलिहाल्ने, मन लागेको भनिहाल्ने स्वभावका उनले मदनकृष्णलाई आग्रह गरे– दाइ, मलाई पनि एउटा कालजयी हुने नेवारी गीत लेखिदिनुपर्‍यो । 

मदनकृष्णले भने– हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई महिनामा मदनकृष्णले एउटा होइन, किरणलाई आठ गीत लेखेर पठाइदिए । त्यसमध्येको एउटा गीतले भन्छ– तलाईं देखेर तेरो नेवारी गीत गाइरहन मन लाग्छ ।

किरणले ‘तपाईंको जस्तै युगयुगान्तर बाँचिरहने गीत मलाई चाहियो’ भनेका थिए । मदनकृष्णले किरणको मनमा खेलिरहेको भावनालाई नै गीतमा उतारिदिए । आठमध्ये त्यही गीतचाहिँ किरणलाई मन पर्‍यो । मदनकृष्णले नै संगीत भरिदिए । र, किरणले गाए–"> छन्त खँ साँ निरोँ...।

Global Ime bank

गीतको भिडियोको सुरुमा किरणले मदनकृष्णको सम्मानमा उनका दुइटा लोकप्रिय गीतलाई स्थान दिए । त्यसपछि आफ्नो गीत राखे । भिडियोमा देखिन पनि किरणले छोडेनन् । उनलाई साथ दिइन् शोभा महर्जनले । भिडियो निर्देशन गरे सुरेन्द्र तुलाधरले ।

किरण क्षेत्रीको छोरो । नेवारी गीत गाए । गीतले नेवारी संस्कार र संस्कृतिको प्रशंसा गरेको छ । “गीत त मैले गाएँ, तर सहज भएन । मदन दाइले मलाई बालखलाई हात समाएर डोर्‍याएर गाउन लगाएजस्तो भयो । मलाई उहाँले एक/एक शब्दमा रोकेर यसरी गाऊ, यसरी गाउनुपर्छ भन्दै सिकाउनुभयो,” किरण भन्छन्, “तिमीले गाउन सक्छौ, स्वर राम्रो सुनिएको छ, तर अझै राम्रो मिठास निकाल, अझै बढी फिल गरेर गाऊ भनेर सम्झाउनुभयो । नौ घण्टाभन्दा धैरै लाग्यो रेकर्डिङमा ।” यो गीतको भिडियोमा मदनकृष्णले पनि अभिनय गरेका छन् ।

गएको शनिबार किरणले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरे । उनले गीत सार्वजनिक गर्न काठमाडौंमा औपचारिक कार्यक्रम नै आयोजना गरेका थिए । त्यहाँ उनले ‘छन्त खँ साँ निरोँ...’ मात्र होइन, अरू दुइटा गीत पनि सार्वजनिक गरे । ती दुई गीत भने युट्युबमा आउन बाँकी छ ।

पारस अधिकारीले एक दिन अमेरिकामा किरणका छोरा सुदीपलाई भनेछन्– तिम्रो बुवा त कलाकार, मेरो ममीले एउटा स्याड सङ लेख्नुभएको छ, भिडियो बनाएर तिम्रो बुवाले खेल्दिनुहुन्थ्यो कि !

यसरी किरणसँग प्रभा अधिकारीको गीत ठोक्किन आइपुग्यो । प्रभाको रचना रहेको ‘ए रात...’ बोलको गीत सुरेश ढुंगानाले गाएका छन् । सत्यस्वरूपले संगीत भरेको गीतको भिडियो सुदन केसीले निर्देशन गरेका छन् । किरणसँग स्क्रिन सेयर गरेकी छन्, शर्मिला मल्लले ।

प्रभाले यो सांसारिक संसारलाई बिदाइको हात हल्लाइसकिन् । यो गीतमार्फत उनी सांसारिक संसारमा रहिरहने किरण बताउँछन् । 

० ० ०

किरणले मदनकृष्णलाई भनेका थिए– दाइ, तपाईंको ‘हे भगवान् मेरो खल्तीको घाउ...’ जस्तै मलाई पनि एउटा प्यारोडी गीत बनाइदिनुपर्‍यो । 

मदनकृष्णले उसैगरी भने– हुन्छ ।

ती आठमा उनले ‘होला होला भन्दै...’ बोलको प्यारोडी गीत समेत लेखिदिए । शब्द मात्र होइन, संगीत पनि भरिदिए । योसहितका गीत किरणले शनिबार सार्वजनिक गरेका हुन् । किरण स्वयंको स्वर रहेको गीतको भिडियोमा मदनकृष्ण आफैँ देखिएका छन् । भिडियो निर्देशन सुदन केसीले नै गरेका छन् । जे काम गर्न लाग्दा पनि सफल होला/नहोला भन्ने शंका गर्ने मानवीय प्रवृत्ति यो गीतको मुख्य कथा हो ।

‘ए रात...’ जेठ १९ गते किरणको जेठो नाति क्यानलियो केसीको जन्मदिनको अवसर पारेर युट्युबमा सार्वजनिक गरिँदै छ ।

‘होला होला होला...’ को भिडियो किरणले आफ्नो जन्मदिनको अवसर पारेर असार १५ गते आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने तयारी गरेका छन् ।

किरण पछिल्लो समय म्युजिक भिडियोमा धेरै आउने कलाकारमध्ये हुन् । कुनै गीतमा बुवा चाहियो, किरण । अलि मात्तिएको मान्छे चाहियो, किरण । नाच्न जान्ने अधबैँसे मान्छे चाहियो, किरण । कमेडियन चाहियो, किरण । रमाइलो मान्छे चाहियो, किरण । त्यसैले हिजोआज धेरै म्युजिक भिडियोमा किरण देखिन्छन् । त्यसो त उनी अहिले मात्र होइन, पहिला पनि गीतमा प्रशस्तै देखिने अनुहार हुन् ।

शिव रेग्मी, अशोक शर्मा, राजकुमार राईलगायत निर्माताले सिनेमामा किरणका लागि भनेर छुट्टै गीत बनाउँथे । एउटै चलचित्रमा चार/पाँच गीत हुन्थे । त्यसमा पनि कमेडियनको भूमिकामा किरण हुँदा उनका लागि एउटा गीत छुट्ट्याइएकै हुन्थ्यो ।

चलचित्रका गीतमा रौसे किरण, तीजका गीतमा पनि अफर आउन थाल्यो । यो क्रम बाक्लिँदै गयो । परिणाम, हरेक तीजमा किरण नाचेका गीत आउन थाले । यसरी सुरु भएको किरणको डान्सिङ यात्रा म्युजिक भिडियोसम्म छाएको छ ।

कोरोना संक्रमणको समयमा घरमै बसेका बेला किरण टिकटकमा रत्तिए । उनको टिकटक मोहलाई अरूले मन पराए । त्यो पनि उनलाई म्युजिक भिडियोमा बाक्लै लिने एउटा कारण बन्यो ।

किन लिन्छन् किरणलाई म्युजिक भिडियोमा ? उनकै शब्दमा– किरण फ्लेक्जिबल छ ।

निर्देशकले जस्तो भन्यो त्यस्तै डान्स गरिदिन्छन् । उनको डिमान्ड ठूलो छैन । सुटिङमा रमाइलो गर्छन् । काम गर्ने वातावरण रमाइलो बनाइदिन्छन् । त्यो पनि उनलाई रुचाइनुको कारण हो ।

किरण राजनीतिक विषयमा चासो राख्छन् । आफ्नो मनमा लागेका कुरा निशंकोच बताउँछन् । उनी कुनै राजनीतिक दलका कार्यकर्ता भने होइनन् । एमाले, माओवादीलगायत दलले बोलाउँदा नगएका उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको आग्रहलाई पनि बेवास्ता गरे । कुनै राजनीतिक दलमा छैनन्, त्यसैले त उनी निर्धक्क बोल्न सक्छन् । आफ्नो कलाका माध्यमबाट व्यंग्य गर्न सक्छन् । यो स्वतन्त्रता कुनै दलविशेषको झोला बोकेर हिँडेपछि कहाँ पाइन्छ !

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणका कारण समग्र नेपाली राजनीति र राजनीतिज्ञप्रति नै आम नागरिकले प्रश्न उठाइरहेका छन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायत व्यक्ति समातिएका छन् । यही सन्दर्भमा उनी टिप्पणी गर्छन्–नेताहरूले मिलेमतोमा भित्रभित्रै देश सखाप पारिसकेका छन् ।

अन्तर्राष्ट्रियजगत्मा नेपालको शिर झुकेको बताउँदै किरण भन्छन्, “अनुसन्धानले को कति दोषी भोलि देखाउला, तर प्रहरी अनुसन्धानमा नै राजनीतिक हस्तक्षेप नहोला भन्न कहाँ सकिन्छ र ?”

कलाकारका हजार व्यंग्य र नागरिकका हजार गुनासाले पनि नसुध्रिने भ्रष्टको पक्षबाट वकालत गर्ने वकिल नै नहुनुपर्ने किरणको धारणा छ । उनी भन्छन्, “म त भन्छु– यस्ता भ्रष्ट नेताको पक्षबाट हामी वकिलले पनि मुद्दा नलडौँ न, ता कि हामी कति भ्रष्ट भइसकेछौँ र हामीप्रति जनताको वितृष्णा कति रहेछ भन्ने अनुभूत गरून् ।”

वकिलहरूको छाता संस्था नेपाल बार एसोसिएसनले औपचारिक रूपमै भ्रष्ट नेताहरूका पक्षबाट वकालत नगर्ने निर्णय गर्नुपर्नेमा उनी जोड दिन्छन् । कलाका माध्यमबाट भ्रष्ट नेता र प्रवृत्तिको विरोध र व्यंग्य गर्न आफूले नछोड्ने उनको प्रतिबद्धता छ । सिनेमामार्फत आफूले पटक–पटक राजनीतिक विषय उठाउँदै आएको उनी सुनाउँछन् ।

“राजनीतिक विषयका सिनेमा त्यति धेरै दर्शकले नरुचाएको हो कि जस्तो लाग्छ । त्यसैले करोडौँ रुपैयाँ लगानी जोखिममा राख्ने कि नराख्ने भन्ने प्रश्न पनि आउँछ,” किरण गफको बिट मार्छन्, “तर, जसरी हुन्छ, हामीले भ्रष्टारमुक्त देश बनाउनुपर्छ । हाम्रो शिर उचो राख्नुपर्छ । यसका लागि कसले के योगदान गर्नुपर्छ, हामी सबैले आ–आफ्नो ठाउँबाट गरौँ ।”

भ्रष्टाचारका खबर सुनेर दिक्क लाग्ने गरेको भन्दै किरण भन्छन्, “यी दल भन्दा त विप्लभ समूह ठीक छ भनेर जनताले भन्ने बेला भयो ।” भ्रष्टाचार जसले गरेको छैन र त्यसको मोह राखेको छैन जनताले त्यही दललाई रुचाउने उनको भनाइ छ । भ्रष्टाचारबाट देशलाई मुक्त गराउने दलको खोजीमा जनता रहेको र त्यसकै परिणामस्वरुप रवि लामिछानेको रास्वपाको उदय भएको किरणको बुझाइ छ । दलहरु अब पनि नसच्चिए आउँदो निर्वाचनमा रास्वपाले सबै दललाई बडार्ने उनको विश्वास छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC