site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘आविष्कार केन्द्र आविष्कार गर्ने कारखाना हैन’
Ghorahi CementGhorahi Cement

काठमाडौं । महावीर पुन र राष्ट्रिय आविष्कार केन्द्र झन्डै–झन्डै पर्यायवाची शब्द बनेका छन् । सन् २००६ मा म्याग्दीका केही दुर्गम गाउँमा ताररहित इन्टरनेट सेवा पुर्‍याउनका लागि गरेको योगदान र रेमन म्यागसेसे पुरस्कारबाट सम्मानित पुनको यो बलियो चिनारी हो ।

अनुसन्धानकर्ता एवं सामाजिक उद्यमी पुनले नेपालमा अनुसन्धान, प्रविधि र इनोभेसनको विकासका लागि २०१२ मा गैरनाफामुखी संस्था राष्ट्रिय आविष्कार केन्द्रको थालनी गरेका थिए । नवप्रवर्तन अथवा इनोभेसनका लागि पारदर्शिता, इमानदारी र निष्ठापूर्वक काम गर्ने यसको उद्देश्य हो ।

अझै सरल शब्दमा भन्नुपर्दा राष्ट्रिय आविष्कार केन्द्रमा गएर जोसुकैले आफ्नो आइडियाअनुसार काम गर्नका लागि स्रोत–साधन प्राप्त गर्न सक्छन् । काठमाडौंको कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयले ठाउँ दिएपछि वि.सं २०७६ साल कात्तिक १ गते त्रिवि परिसरमै यो केन्द्रको उद्घाटन गरियो । 

Agni Group

पुनले लामो समयदेखि आविष्कार केन्द्रका लागि सरकारसँग ठाउँ र लगानीको माग गर्दै आएका थिए । त्रिविले ठाउँ उपलब्ध गराएपछि उनले लगानीको माग गरिरहेका छन् । तर, हालसम्म सरकारबाट कुनै किसिमको सहयोग नपाएको आविष्कार केन्द्र बोर्डले जनाएको छ ।

रुद्र पाण्डे र महावीर पुनबीच चर्काचर्की : ‘कवाडी सामान मर्मत गरेर आविष्कार हुन्न’

Global Ime bank

आविष्कार केन्द्रको विषयका कारण उनी विवादमा पनि आइरहन्छन् । उक्त केन्द्रले ‘आविष्कार’ गरिरहेको हो/होइन भन्नेमै कतिपय व्यक्तिमा संशय छ । त्यहाँको ‘आविष्कार’ कत्तिको प्रभावशाली र वर्तमान समयको आवश्यकताअनुरूप कार्य गर्न सक्ने/नसक्ने विषयमा पनि प्रश्न गर्ने गरिएको छ ।

कतिपयले ‘चप्पल पड्काएर हिँड्दैमा आविष्कार नहुने र कवाडी सामान मर्मत गर्नुलाई आविष्कार भन्न नमिल्ने’ भन्दै उनको चर्काे आलोचना गर्ने गरेका छन् । सामाजिक सञ्जालमा आफ्नै अभिव्यक्तिका कारण पनि पुन विवादमा तानिने गरेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रलाई कसरी बुझ्ने ?

पुनकै भनाइअनुसार राष्ट्रिय आविष्कार केन्द्र कुनै पनि आइडिया लिएर आउने व्यक्तिले त्यो आइडियालाई व्यावहारिक रूपमा उतार्ने थलो हो । यसकारण यसले आफैँ नयाँ आविष्कार गर्नेभन्दा पनि यहाँ आएर कसैले आविष्कार गर्छ भन्नु उचित हुने उनको भनाइ छ ।

अहिलेसम्म के गरियो ?

आविष्कार केन्द्र थालनी भएको एक दशकभन्दा बढी समय भइसक्यो । तर, यसले करिब चार वर्षअघिदेखि मात्र त्रिवि परिसरबाट स्थिर रूपमा काम थालेको थियो । त्यति बेला केन्द्रमा २० प्रोजेक्टमा काम भइरहेको संस्थापक पुनले बताएका थिए । अहिले पनि काम भइरहेको प्रोजेक्टको संख्यामा कमी नभएको उनले बताए ।

दुर्गम ठाउँहरूमा औषधि पुर्‍याउनका लागि ड्रोन, नवजात शिशु राखिने बेबी वार्मर, डिजेल र पेट्रोलका सवारीसाधनलाई विद्युतीय सवारीमा रूपान्तरण, बायोमेडिकल, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न प्रोजेक्टमा त्यति बेला काम सुरु गरिएको उनले बताएका थिए । करिब चार वर्षपछि अहिले पनि उक्त ड्रोन निर्माण सकिएको छैन । त्यसको करिब ७० प्रतिशत काम सम्पन्न भएको केन्द्रमा ड्रोन प्रोजेक्टमा काम गरिरहेका एक व्यक्ति बताउँछन् ।

उक्त ड्रोनको विभिन्नपटक परीक्षण समेत गरिएको छ । तर, औषधि बोक्न सक्षम भइसकेको छैन । बरु, देशका कैयौँ दुर्गम भूभागमा पछिल्ला पाँच वर्षमा सडक सञ्जाल पुगिसकेको छ । त्यसले औषधि ढुवानीमा सहज भएको छ ।

डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्ने योजनामा पनि काम भइरहेको केन्द्रले जनाएको छ । हाल करिब पाँच किलोमिटर रेन्जको रकेट प्रक्षेपणका लागि काम भइरहेको र केही समयपछि नेपाली सेनासँग मिलेर त्यसको परीक्षण गर्ने तयारी रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका आविष्कार बजारमा आउनेमा शंका

आविष्कार केन्द्रमा कुनै योजना परीक्षणमा सफल देखिए पनि त्यसको व्यावसायिक उत्पादनका लागि निजी क्षेत्र वा थप लगानी चाहिने केन्द्रको भनाइ छ ।

अर्थात्, कोही व्यक्तिले नयाँ आइडियाको ‘प्रोटोटाइप’ बनाएपछि बजारमा ल्याउन त्यसको व्यावसायिक उत्पादनका निम्ति उसले लगानी जुटाउनुपर्ने हुन्छ । यसो हुँदा केही सम्भावना भएका प्रोजेक्ट पनि अघि नबढ्ने स्थिति उत्पन्न हुन्छ ।

विज्ञान र प्रविधिका क्षेत्रमा काम गरिरहेको सरकार मातहतकै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले करिब डेढ वर्षअघि बनाएको विद्युतीय स्कुटरले समेत कुनै अस्तित्व पाएको छैन । उक्त स्कुटर दुई किलोवाट लिथियम आयन ब्याट्रीबाट बनाइएको हो । एकपटक चार्ज गर्दा ५० किलोमिटरसम्म गुड्न सक्ने क्षमता रहेको बताइन्छ ।

उक्त स्कुटर धेरै संख्यामा उत्पादन गर्दा ५० हजारदेखि दुई लाख रुपैयाँमै बजारमा ल्याउन सकिने नास्टका प्रमुख प्राविधिक अधिकृत, प्रवक्ता एवं त्यति बेला विद्युतीय स्कुटर निर्माण कार्यक्रमका प्रमुख रहेका रवीन्द्रप्रसाद ढकाल बताउँछन् ।

नास्टको स्कुटर एउटा उदाहरण हो । देशभर विभिन्न सम्भावित इनोभेसन वास्तविक रूपमा बजारमा आउन नसकेको अवस्था छ । त्यसैले पुनको नेतृत्वमा रहेको केन्द्रका प्रोटोटाइपले सहजै बजार पाउने सम्भावना न्यून देखिन्छ ।

केही आशा

राष्ट्रिय आविष्कार केन्द्रमा बनाइएको अन्नबाली वा अरू सामग्री सुकाउने ड्रायरहरू बजारमा बिक्री भएको केन्द्रका बोर्ड सदस्य डा. डम्बर नेपालीले जानकारी दिए । यस्तै, बाँसको चोया र सिन्का निकालेर कुचो र बस्ने मुढा बनाउने मेसिन पनि बजारमा गइसकेको उनले बताए ।

आविष्कार केन्द्रको अर्काे उत्पादन माछाको कत्ला निकाल्ने मेसिन हो । यो आइडियामा काम गरेका राजु थापाले अहिलेसम्म करिब दशथान यो मेसिन बजारमा गइसकेको बताए ।

“अहिलेसम्म आठ/दशवटा बजारमा गइसकेको छ । यसको जानकारी मानिसहरूलाई हुन जरुरी छ । जत्ति पनि बेचिएको छ, गुनासो आएको छैन,” उनी भन्छन्, “त्यसको अर्थ यो मेसिनले सजिलै माछाको सबै कत्ला निकाल्न सक्छ भन्ने हो ।”

कुचो बनाउने मेसिन धादिङमा लगेर त्यहाँ उत्पादन गरिरहेको उनले बताए । “पाम तेलको बोटबाट बन्ने झाडु (कुचो) विदेशबाट आयात हुनेरहेछ,” थापा भन्छन्, “हाम्रो देशमै बनाएको ५० रुपैयाँ पर्ने झाडुले बजार पाइरहेको छैन । विदेशी आयात रोकिनुपर्छ ।”

काठ चिर्ने र प्लास्टिकको फोहरलाई ‘रिसाइकल’ गरेर फेरि प्रयोग गर्न सकिने सामग्री बनाउने मेसिन समेत केन्द्रमा निर्माण भइरहेको बताइएको छ ।

यस्तै, मकै छोडाउने, धान र गहुँ झाट्ने (झार्ने), मकैलगायत अन्न भुट्ने, कफी भुट्ने मेसिन पनि आविष्कार केन्द्रमा निर्माण भइरहेको जनाइएको छ । यी मेसिनहरूको निर्माण र उत्पादन नेपालका लागि उपयोगी बन्न सक्ने देखिन्छ ।

‘आविष्कार केन्द्र आविष्कार गर्ने कारखाना हैन’

आविष्कार केन्द्र आफैँले आविष्कार नगर्ने कुरामा स्पष्ट हुनुपर्ने नेपाली सेनाका अवकाशप्राप्त कर्नेल एवं हाल राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक रहेका सञ्जय झा बताउँछन् ।

महावीर पुनको पुरानै भनाइलाई थप स्पष्ट पार्दै उनले भने, “हाम्रो उद्देश्य आविष्कार केन्द्र आफैँमा एउटा ठूलो कारखाना बन्ने हैन । हाम्रो उद्देश्य भनेको कुनै पनि नेपालीलाई, युवाहरूलाई जो ट्यालेन्ट हुनुहुन्छ, दुर्गम ठाउँमा बस्नुहुन्छ, तर उहाँसँग आइडिया छ, सोच छ र केही गरौँ भन्ने भावना छ, त्यहाँ व्यक्तिलाई यहाँ ल्याएर उहाँको प्रपोजल, आइडिया हेरेर उहाँले भविष्यमा नेपाली अर्थतन्त्रमा ठूलो योगदान दिन सक्नेछ र उहाँले बनाएको कुराले भोलि गएर मार्केट लिन सक्छ भने त्यस्ता व्यक्तिलाई यहाँ ल्याएर आविष्कार गर्न दिएर, प्रोटोटाइप बनाएर उहाँलाई एउटा उद्यमी बनाउने हाम्रो लक्ष्य हो ।”

केन्द्रमा आउने मान्छे सधैँका लागि त्यहाँ नबस्ने उनको भनाइ छ ।

केही नहुनुभन्दा हुनु राम्रो

हुँदै नहुनुभन्दा आविष्कार केन्द्रबाट केही काम भइरहेको र त्यो नै राम्रो पक्ष भएको महाप्रबन्धक झा बताउँछन् । उनी भन्छन्, “समथिङ इज बेटर द्यान नथिङ ।”

उनले थपे, “अहिलेको समयमा हाम्रा छिमेकीहरू कहाँ पुगिसकेका छन्, उहाँहरूको इकोनोमी, टेक्नोलोजी कहाँबाट कहाँ पुगिसकेको छ । हामी सानो राष्ट्र हो, हामीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने त कुरै आउँदैन । अहिले हामीले खाली बीउ मात्रै रोप्ने हो । बीउ रोपेपछि फल प्राप्त गर्न समय लाग्छ । तर, अहिले नै हामीले कसैले बीउ रोप्ने प्रयास गरेनौँ, फल मात्रै खान खोज्यौँ भने त हुँदैन ।

आइडिया भएकालाई आविष्कार केन्द्रले अवसर दिएको उनले सुनाए । “आविष्कार केन्द्रले अहिले गर्न खोजेको भनेको चाहे दुईजना होस्, चारजना होस्, १० जना होस्, हामीले उनीहरूलाई प्रविधिको क्षेत्रमा त लगायौँ इनोभेट गर भनेर,” उनले भने ।

गैरनाफामुखी संस्था भएकाले सहयोगीहरूबाट प्राप्त रकमले आविष्कार केन्द्रको खर्च चलाउने गरिएको उनले बताए । त्यसैले यो केन्द्र आविष्कार गरेर उत्पादन बजारमा बेच्ने कारखानाना नभई आविष्कार गर्न चाहनेहरूलाई ठाउँ र सामान उपलब्ध गराउने थलो भएको उनले स्पष्ट पारे ।

विदेशमा के छ ?

भारतमा सरकारी पहलअन्तर्गत परम्परागत प्रणालीलाई बलियो बनाउन र तल्लो तहका प्राविधिक ‘आविष्कार’को संरक्षणका लागि राष्ट्रिय नवप्रर्वतन प्रतिष्ठान छ । यसको उद्देश्य ग्रामीण र तल्लो तहका स–साना इनोभेसनहरूको प्रवद्र्धन गर्नु हो ।

बेलायतमा सन् २०१९ मा सरकार र न्युकासल विश्वविद्यालयको सहयोगमा नेसनल इननोभेसन सेन्टर फर डाटाको स्थापना भएको छ । यसले डाटा स्किलमा काम गर्ने जनशक्ति उत्पादन एवं डाटाका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC