केही दिनअघिमात्रको कुरा हो । स्थानीय एउटा छापाखानाका साहुजी रमेश मलाई भेट्न आएका थिए । औपचारिकतावश हालखबर सोध्दा भने- “सब ठीकठाक बा !”। तर, उनको अनुहारमा बाह्र बजेको थियो । कुरोको चुरो बुझ्न खोज्दा उनले मनको बह पोखे - “प्रेसको काम खासै चलेको छैन । बैंकको ब्याज र स्टाफको खर्च तिर्नसम्म जेनतेन भ्याएको छु । धन्न, आफ्नै मकानमा प्रेस छ । अन्यथा त्यसको भाडाको भार थपिन्थ्यो । एउटा सानो जग्गा छ, त्यो बेच्न सकेको भए पनि बैंकको चर्को ब्याजबाट मुक्ति पाउने थिएँ । तर, खै ! कुनै भाउमा पनि किन्ने मान्छे भेटेको छैन । घरखर्च कसरी धान्ने भनेर कुनै जुक्ति फुर्न सकेको छैन । बस एतने समस्या बा । ना त, औरी सब ठीकठाक बा ।”
“बस एतने समस्या बा । ना त, औरी सब ठीकठाक बा !” - सुनेर म सोच्न बाध्य भए।कुनै जवाफ नै फुरेन । दुई दिनअगाडि एक जना युवकले पनि यिनै शब्दावली प्रयोग गरेका थिए । वास्तवमा उनी काम खोज्दै मकहाँ पाइपुगेका थिए । कुरो गर्दै जाँदा थाहा भयो - उनले दस वर्षदेखि आफ्नै स्टेसनरी पसल चलाउँदै आएका छन् । तर अचेल पसल घाटामा छ ।
मैले कारण जान्न खोज्दा उनले मुख बिगार्दै कुरो खुलाए - “लगानी के कुछ भाग कोरोनाकाल मे स्वाहा हो गइल, कुछ भाग बैंक के दोब्बर ब्याज मे । साहुहरूलाई पुरानै उधारो भुक्तानी गर्न सकिएको छैन, नयाँ मालसामान कसरी पाउनु ? बजारमा भंसार चोरीका मालसामान पनि त्यत्तिकै फालाफाल छन् । घरबेटीलाई पसलको भाडा नतिरी सुखै भएन । घरपरिवारको खर्च नै धान्न अप्ठेरो भयो । बस यही समस्या छ, अरू सबै ठीकठाक छ ।”
“मकहाँ त ठाँउ खाली छैन । अन्यत्र कतै कुनै व्यवस्था लाग्यो भने भन्छु” - उनलाई रित्तो आश्वासनबाहेक मैले केही दिन सकिन । “खै, के भन्ने ? बीसौं ठाउँमा धाई सकेँ । सबैजना यस्तै जबाफ फर्काउँछन् । कुनै सीप नलागे म पनि कुनै खाडी मुलुकतिर हिँड्ने छु ।” भन्दै ऊ हिड्यो ।