
नेपाली सिनेमा, साहित्य र संस्कृतिका वरिष्ठतम् व्यक्तित्व चेतन कार्कीसँग जोडिएका मेरा केही अनुभूतिहरू छन् । उहाँको नामसित मलाई परिचय गराउने व्यक्ति मेरा दाजु शरदचन्द्र वस्ती नै हुनुहुन्छ । धेरैअघि, सम्भवतः २०४५ सालतिरै होला – उहाँसँग परिचय भएको ।
त्यसबखत एउटा कार्यक्रममा चेतन कार्की भेट हुनुभयो । दाजुले मलाई उहाँसँग चिनाउनुभयो र मलाई देखाउँदै भन्नुभयो, ‘मेरो भाइ सनत ।’
कार्यक्रमपछि भने दाजुले चेतन कार्कीका विषयमा यावत् कुरा बताउनुभयो । उहाँको इतिवृत्त । दाजु पत्रकार पनि र त्यसबखत कामना पत्रिकासँग पनि जोडिनुभएकोले चेतन कार्कीको चलचित्रतर्फको व्यक्तित्वका बारेमा दाजुलाई धेरै थाहा थियो ।
चेतन कार्कीको बहुप्रतिभाका विषयमा दाजुलाई जेजति जानकारी थियो, उहाँले मलाई सुनाउनुभएको थियो । खासमा, चेतन कार्कीलाई संस्कृत भाषाको पनि ज्ञान छ भन्ने थाहा पाएपछि उहाँप्रतिको हाम्रो दृष्टिकोण नै फरक थियो । हामीले पनि संस्कृत अध्ययन गरेकोले होला ।
त्यसबाहेक चेतन कार्की अंग्रेजी, नेपाली, उर्दु, हिन्दी भाषाका ज्ञाता समेत हुनुभएको मैले त्यही समयमा थाहा पाएको थिएँ ।
तथापि, त्यसबीचमा चेतन कार्कीसँग मेरो खासै सम्पर्क र भेटघाट हुन सकेको थिएन । भेट भए पनि पातलो । बाक्लो हुनै सकेको थिएन । किनभने, उहाँको कार्यक्षेत्र बेग्लै थियो, मेरो बेग्लै । चेतन कार्की असल मानिस हुनुहुन्छ, विभिन्न विषयका जानिफकार हुनुहुन्छ भन्ने थाहा हुँदाहुँदै पनि भेटको मेलोमेसो त्यस रूपमा हुन सकेन ।
धेरैपछि, २०६७ सालतिर मात्रै उहाँसँगको भेटघाटले गति पक्डियो । उप्रान्त, निरन्तर मैले उहाँको सानिध्य पाएँ ।
त्यसैताका मैले गजलको एउटा किताब लेखेँ, ‘वाह गजल !’ यो किताब प्रकाशित भयो । मैले दाजुलाई सोधेँ, ‘मेरो किताब कस–कसका हातमा पुर्याउँदा हुन्छ ?’
दाजुले १०/१२ जनाको नाम दिनुभयो । त्यसमध्ये चेतन कार्कीको नाम पनि थियो । र, म किताब लिएर उहाँकहाँ पुगेँ । ‘वाह गजल !’ दिएपछि चेतन कार्कीसँग मेरो प्रगाढता भयो । म उहाँसँग यति नजिक भएँ कि, पछिपछि उहाँसँग कुराकानी हुँदै जाँदा नेपालीबाट कतिखेर हिन्दी भाषा बोल्न थाल्थ्यौँ, थाहा हुन्थेन !
उहाँ देहरादुनमा हुर्किनुभएको, पढ्नुभएको । म बनारस बसेर पढेको । त्यसैले पनि होला, नेपालीमा बोल्दाबोल्दै कति बेला कति बेला हामी हिन्दीमा (अझ उर्दुमिश्रित हिन्दी)मा बातचित गर्न थाल्थ्यौँ । मतलब त्यस किसिमको आत्मीय भइसकेका थियौँ हामी ।
हामीबीच उमेरको ठूलो अन्तर थियो । तथापि, उहाँसँगको सामीप्यता आजपर्यन्त मेरो स्मृतिमा ताजै छ । उहाँले मलाई मात्रै होइन, सबैलाई माया गर्नुहुन्थ्यो, जोजोसँग सम्पर्कमा रहनुभयो ।
हुन त उहाँको स्वभाव नै त्यस्तै थियो, अनुजलाई स्नेह गर्ने । जब यसरी भेटघाटले निरन्तरता पायो, हामीबीच गीत, गजल र काव्यका चर्चा हुन थाले । संस्कृत श्लोकका कुराहरू हुन थाले ।
प्रारम्भिक भेटहरूमा ‘वाह गजल !’ को पनि कुरा हुन्थ्यो । र, कतिपय सन्दर्भमा पुस्तकबारे टिप्पणी पनि गर्नुहुन्थ्यो उहाँ । त्यसै किताबले चेतन कार्की र मबीच प्रगाढता ल्याइदिएको थियो ।
यहाँ एउटा प्रसंग जोड्नु नै पर्छ । ‘वाह गजल !’ को माध्यमबाटै मेरो भेट कवि डा. कृष्णजंग राणासँग भएको हो । विस्तारै डाक्टर साहबसँग घनिष्टता बढ्दै गयो । काव्य विधामा डा. राणाको सक्रियता लोभलाग्दो थियो ।
‘वाह गजल !’ किताब पढेपछि डा. राणाले आफूले पनि गजल लेख्न थालेको मलाई बताउनुभएको थियो । त्यस बेलासम्म उहाँका कविता र गीतका किताबहरू प्रकाशित भइसकेका थिए ।
त्यसपछि उहाँका केही गजलका किताबहरू पनि प्रकाशित भए । उहाँ र मेरो भेट बेलाबखत भइरहन्थ्यो ।
एक दिन डाक्टर राणाले भन्नुभयो, ‘यो किताब छापेर के नै हुन्छ भन्ने लाग्न थाल्यो, के गर्ने होला !’
मैले भनेँ, ‘डाक्टर साहब, गजल भनेको छाप्नेभन्दा पनि सुन्ने र सुनाउने विधा हो । यसको लागि महफिल नै चाहिन्छ । त्यसपछि डाक्टर साहब हौसिनुभयो र महफिलको आयोजन गरौँ भन्नुभयो । यसरी सुरु भयो ‘महफिल–ए–काव्य उपासना’ ।
डा. राणा गजलमा एकदमै प्रतिबद्ध व्यक्ति । त्यसैले पनि उहाँले राम्रा–राम्रा गजलकारहरूलाई महफिलमा निम्त्याउन भन्नुभयो । उहाँको भनाइ थियो, ‘म हिन्दी, उर्दु, नेपाली गजल सुनेर केही सिक्न चाहन्छु ।’
यही सन्दर्भमा आएर चेतन कार्की पनि जोडिनुभयो । डा. राणा र चेतन कार्कीको घर नजिक–नजिकै थियो । दुवै एकापसमा परिचित पनि ।
त्यसपछि चेतन कार्की, डा. राणा र म बसेर महफिलको खाका तयार पार्यौँ । अनि, प्रारम्भदेखि नै कार्यक्रम ‘महफिल–ए–काव्य उपासना’को अघोषित अध्यक्षको जिम्मेवारी चेतन कार्कीलाई सुम्पियौँ । यसरी महफिलको हरेक कार्यक्रमको सभाध्यक्षता कार्कीले नै गर्नुभयो, जबसम्म उहाँ सशरीर हामीबीच हुनुहुन्थ्यो । उहाँले दीप प्रज्ज्वलन गरेर महफिलको उद्घाटन गर्नुहुन्थ्यो । वास्तवमा चेतन कार्की र डा. कृष्णजंग राणा महफिलको मियो हुुनुहुन्थ्यो ।
अझै कमाल त के हुन्थ्यो भने, चेतन कार्कीको मुखारविन्दबाट हिन्दी र उर्दुका एक से एक गजल सुन्ने मौका पाएका थियौँ । फर्राटेदार उर्दु भाषामा अभिव्यक्ति दिनुहुन्थ्यो उहाँले । सबै छक्क पर्दथे उहाँको सम्बोधन सुनेर, स्वयम् उर्दुभाषी कवि गजलकारहरू पनि ।
चेतन कार्कीले महफिलमा प्रस्तुत गजलहरूमा टिप्पणी गर्नुहुन्थ्यो । यसरी उहाँ महफिल–ए–काव्य उपासना’का लागि भीष्म पितामह भइदिनुभयो । गजलकाररू आफ्ना रचनाका विषयमा उहाँसँग सोध्ने गर्दथे । उहाँले पनि आफूलाई लागेका कुरा बताउनुहुन्थ्यो ।
आफैँमा स्नेहशील, संवेदनशील सर्जक र गहिरो समालोचनात्मक दृष्टि भएको कार्की भावका गहिराइमा उत्रिनुहुन्थ्यो । महफिल जब सुरु हुन्थ्यो, कार्की ध्यानपूर्वक काव्यरचना सुन्नुहुन्थ्यो । एक÷एक शब्दमा ध्यान दिनुहुन्थ्यो । अनि, टिप्पणी गर्दा होस् अथवा तारिफ गर्दा, भाका मिलाएर बोल्नुहुन्थ्यो ।
एउटा प्रसंग मेरो सम्झनामा छ । सबैलाई थाहा छ, म तरन्नुम (लय)मा गजल सुनाउँछु । गुनगुनाउँछु । गजल गेयात्मक विधा भएकोले तरन्नुम खोज्दछ यसका शब्द रचनाहरूले ।
एक पटक मैले एउटा गजल गाएँ–
एउटा फूल फक्रिदिन्छ अर्को फूल झरे पनि
जिन्दगानी गुनगुनाउँछ जस्तोसुकै परे पनि ।
यो सुनिसकेपछि चेतन कार्कीले भन्नुभयो, ‘त्यस्तो होइन डाक्टर साहब, —अर्को फूल फक्रिदिन्छ एउटा फूल झरे पनि— लेख्नुस् । किनभने, एउटा फूल झरेपछि अर्को फूल फक्रिन्छ ।’
चेतन कार्कीका साना पुस्तकहरू प्रकाशित भएको थियो । गीत र गजलहरूको संग्रह, कविताको कृति । उहाँले ती पुस्तकका बारेमा बोल्नका लागि मलाई र दाजुलाई भन्नुभयो । अर्थात्, उहाँले एउटै कार्यक्रममा किताबको मुख्य वक्ताका रूपमा हामी दाजुभाइलाई जिम्मा लगाउनुभएको थियो ।
चेतन कार्की प्रकाशित किताब लिएर आफैँ मकहाँ आइपुग्नु भयो, कवि मुरारी सिग्देलजीसँग । उहाँले किताब दिनुभयो । मैले ‘म हजुरकै घरमा आउँछु’ भन्दा पनि उहाँ मान्नु भएन र आफैँ आउनुभयो । त्यही निहुँमा मैले चेतन कार्कीलाई आफ्नो घरमा स्वागत गर्न पाएको थिएँ ।
उहाँ साहित्यिक कृतिहरूमा गहिरो समालोचनात्मक दृष्टि राख्नुहुन्थ्यो । उहाँमा अभिव्यक्ति शिल्प पनि उस्तै उच्च थियो । हास्यव्यंग्य चेतका साथै ज्ञानको अधिकतम गहिराइ र संस्कृतिको व्यापकता पनि थियो ।
जुनसुकै विषयमा पनि बोल्न सक्ने उहाँ हँसाउँदै हँसाउँदै सम्बोधन गर्नुहुन्थ्यो । अद्भुत क्षमता थियो उहाँमा ।
उहाँसँग कुराकानी हुँदा बेलाबखत भारतीय फिल्ममेकर गुरुदत्तको कुरा गर्नुहुन्थ्यो । ‘प्यासा’ फिल्मको खुब चर्चा हुन्थ्यो । नेपाली फिल्मको त उहाँ स्वयं नै सर्वेसर्वा हुनुहुन्थ्यो ।
उहाँले लेखेका गीतहरू आज पनि चलेका छन् । आउट डेटेड भएका छैनन् । जहिल्यै बज्ने तीजको गीत उहाँकै हो– तीजको रहर आयो बरी लै...।
जहाँसम्म चेतन कार्कीको गजलकारिताको प्रसंग छ, उहाँले धेरैपछि मात्रै गजलसंग्रह निकाल्नुभयो । मेरा एक साथी हुनुहुन्छ, प्रा. डा. काशीनाथ न्यौपाने । उहाँले एकपटक चेतन कार्कीलाई सिधै भनिदिनुभयो, ‘चाचाजी, तपाईंजस्तो लेखकले यति सानो–सानो किताब लेखेर हुन्छ ? तपाईंले लेख्ने त अथाह र अगाध विषयहरू छन् । तर, तपाईं केही गर्नु हुन्न । खाली कुरा मात्रै गर्नुहुन्छ !’
न्यौपानेजीले यसरी मिठो ढंगले डाँट्नुहुँदा चेतन कार्कीले केही भन्न सक्नु हुन्थेन । प्रतिवाद गर्न सक्नु हुन्थेन । खाली मुसुमुसु हाँसिदिनुहुन्थ्यो ।
गजलकारिताको कुरा गर्दा उहाँले उर्दु, नेपाली र अंग्रेजी तीनै भाषामा गजल लेख्नुभएको छ । उहाँका गजल स्तरीय पनि छन् । उहाँले उच्चस्तरको साहित्य अध्ययन गरेर आफूमा आत्मसात् गर्नुभएको थियो । उहाँको चेतनामा साहित्यको स्तरीय आदर्श विद्यमान थियो । उहाँ हल्काफुल्का छिपछिपे लेख्नु हुन्थेन ।
उहाँले नेपाली भाषामा नयाँ विधा पनि सुरु गर्नुभएको थियो, त्यो हो कुण्डली । काव्यको यो शैली हिन्दी साहित्यमा चर्चित छ । कवि काका हाथरसीहरूले यो शैलीमा लेख्थे । त्यही शैलीलाई चेतन कार्कीले नेपाली काव्यमा भित्र्याउनुभएको थियो ।
वास्तवमा उहाँ समुद्रजस्तो मानिस हुनुहुन्थ्यो । उहाँको साहित्यिक सांस्कृतिक विद्वताको आदि कता अन्त्य कता हामीले के भेउ पाउन सक्नु र ! समग्रमा एक असल र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो, चेतन चाचा ।
मैले चेतन चाचा भन्नुमा एउटा अर्को स्मृति गाँसिएको छ । चेतन कार्कीसँग निकटता बढ्दै गएपछि उहाँलाई के सम्बोधन गरूँ भन्ने भयो । पत्रकारहरूजस्तो ‘दाइ’ पनि भन्न सक्दिनथेँ । म एउटा यस्तो सम्बोधनको खोजीमा थिएँ, जसले उहाँको सम्मान पनि पूर्ण रूपमा गरोस् र मेरा लागि सहज पनि होस् ।
एक दिन मैले आफैँ सोधेँ, ‘तपाईंलाई के भनेर सम्बोधन गरूँ ?’ अनि, उहाँले मुसुक्क हाँस्दै भन्नुभयो, ‘आप हमे चाचा कहेँ ।’ यो सुनेर म यति खुसी भएँ यति खुसी भएँ, शब्द छैन मसँग । त्यसपछि मैले उहाँलाई चेतन चाचा भन्न थालेँ । र, देखासिकी धेरैले उहाँलाई चेतन चाचा भन्न सुरु गरे ।
अन्त्यमा, चेतन चाचाको ऊर्जस्वी व्यक्तित्व र सिर्जनशील जीवन देख्दा प्रोफेसर वशीम वरेलबी साहबको यो शेर अनायास मेरो ओठमा सल्बलाउन लाग्थ्यो, अनि म चाचालाई समर्पित गर्दै यी दुई पंक्ति गुनगुनाउँथेँ–
हर साल नये पत्ते बदल देते हैँ तेवर,
बूढा है, मगर पेड पुराना नहीँ लगता !
(हरेक साल पलाउने हरिया पालुवाले सम्झाउँछन्, यो रुख बूढो त देखिन्छ, तर पुरानो जस्तोचाहिँ लाग्दैन !)
वास्तवमा ८४ वर्षको ढल्दो वयमा पनि उहाँको जीवन्त व्यक्तित्व देख्दा उहाँ अझै तन्नेरी नै लाग्नुहुन्थ्यो ।
(प्रा. डा. वस्तीसँग गरिएको कुराकानीमा आधारित ।)