नेपाली कांग्रेसमा यतिबेला गहिरोे हलचल सुरु भएको छ । मुलुको जेठो र इतिहासको सशक्त राजनीतिक दल कांग्रेस आन्तरिक रुपमा यतिविघ्न छटपटिएको यसपटक नै हुनुपर्छ । अहिलेको उकुसमुकुसले कांग्रेसको भावी दिन कस्तो बन्नेछ ? यो प्रश्नले सबैको चेतमा महत्त्व पाएको छ ।
यो महत्त्वको प्रश्नको उत्तर कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको जमर्काेले खोज्न सक्ला वा देला ? कांग्रेसी मनभित्र हलचल जिज्ञासा छ । नेपाली राजनीतिलाई परिमार्जित गरेर टल्काउने दुई महामन्त्रीको जमर्कोमा अर्का युवा राजनीतिज्ञ प्रदीप पौडेल सशक्त जोडिनुको सन्देशार्थ पनि परीक्षणको कठघरामा छ ।
अर्थात्, कांग्रेसको युवा ऊर्जा र पुस्ता परीक्षणको कठघरामा छ जसको प्रतिनिधित्व यिनै पदाधिकारी नेताले काँध थाप्ने वाचा सार्वजनिक गरेका छन् । स्मरणीय इतिहासले शोभित कांग्रेसलाई सैद्धान्तिक, सांगठनिक र न्यायिक आदर्शको उचाइमा पुनःस्थापित गर्ने र जीवन्त बनाउने यिनको उद्देश्यले सामाजिक साथ पनि पाउनुपर्छ । समाज आलोचनामा मात्रै रमाउने होइन असल उद्देश्यलाई साथ दिने शक्ति पनि हो ।
यो प्रयत्नशील पुस्ता ऊर्जालाई नेताहरु डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहहरुको कस्तो साथ र सहयोग रहन्छ ? यो पनि राजनीतिक समाजको चासोको विषयमा छ ।
त्यस्तै पारम्पारिक संस्कारजन्य जिज्ञासामा अब पार्टी मूली को बन्ला ? भन्ने हेराइ पनि छ । वा नेतृत्वको आआफ्नै प्रयत्नले कांग्रेसलाई थप छिन्नभिन्न पार्ने हो कि ? भन्ने भयप्रद प्रश्नको परिणाम पनि समाजले घोरिएर हेरिरहेको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवा सहभागिता उल्लेखनीय नै छ । यसरी नै सबै जिल्ला शाखा र भातृसंस्थामा जोडिने युवा शक्तिलाई महामन्त्री दुई र पौडेलले कसरी एकीकृत आकर्षित र आफ्नो प्रयत्नमा जोड्न सक्षम हुने हुन् ? उनीहरुको व्यक्त विचारले चासो उत्पन्न भएकै छ । यतिबेला कांग्रेसमा युवाको कमी छैन । कमी चाहिँ प्रजातान्त्रिक यात्रामा युवापुस्तालाई थप आकर्षित र जोडिरहने कौशल र संगठन व्यवस्थापनको हो । यो विषय सम्बद्ध सबैको जानकारीमा छ ।
शासन प्रणाली वंश परम्पराको आधारमा चल्दै आएको नेपाल उतिबेला सिद्धान्त शून्य थियो । त्यतिबेला राज्यसंयन्त्रलाई सिद्धान्त वा संगठनको बाटोमा हिँड्न नेपाली कांग्रेसले नै सिकाएको हो । तर अहिले यही दल बाटो बिराएर सिद्धान्तहीन र झन्डै गतिहीन भएको आरोप खेप्दैछ । आरोप यथार्थमा प्रकटसमेत छ ।
राजनीतिक दलहरुलाई पहिचान दिने सिद्धान्त नै पहिलो माध्यमसूत्र हो । त्यसपछि व्यवहार । अर्थात्, सिद्धान्त र व्यवहारमा सन्तुलित सामञ्जस्य । कांग्रेस यतै कतै खलबलिएको छ । समालिएन भने कांग्रेसको भविष्य थप धुमिल र कमजोर, गतिहीन हुँदै जानेछ ।
गतिहीन मात्रै होइन कांग्रेस उल्टो ओरालोतिर जाँदै गरेको भय प्रजातान्त्रिक नेपाली समाजमा छ । भूराजनीतिक दबाबप्रति सधैँ सतर्क र सधैँ स्वतन्त्र मुलुक नेपालको वर्तमान अवस्थाप्रति अन्तर्राष्ट्रिय चासो प्रत्यक्ष व्यक्त भइनसके पनि गम्भीररुपमा खिचिएको भने हुनुपर्छ ।
स्थापनादेखि अहिलेसम्म सात दशक लामो अवधिमा क्रमशः आधा दर्जन पुस्ताको समय कांग्रेससँग जोडिएको छ । प्रजातान्त्रिक मान्यताको सुन्दर सपना बोक्न दीक्षित पुस्ता राजनीतिक योगदानबाट देशलाई सुसज्जित गर्ने नीतिप्रेरणाले कांग्रेससँग जोडिएको हो । अत्यन्त उज्यालो विगतले भरिएको कांग्रेस केही वर्षदेखि भने अँध्यारो गर्ततिर धकेलिएको उकुसमुकुस चिन्ताले हलचल पैदा भएको छ । यसको परिणाम कांग्रेसमा कस्तो परिमार्जनसहित उज्यालो प्रकट हुने हो ? अनिश्चित नै छ ।
संघर्षको लामो अवधिमा नेपाली कांग्रेस पटकपटक चोइटिएर टुक्रिएको छ । विगतदेखि अहिलेसम्म सयौं जना यो पार्टी त्यागेर अन्यत्र पलायन भएका छन् । फेरि त्यस्ता केहीहरु जोडिनसमेत आएका छन् । यस्ता उहापोहबीच पनि कांग्रेसको ऊर्जा मरेको थिएन । निरन्तर नेपाली राजनीतिमा कांग्रेस नै प्रभावी रह्यो । अहिले भने कांग्रेसको छाती निकै दुःखेको ऐयाआथ्थु सुनिदै छ । परिणाम के आउला ? सबैको राजनीतिक आँखा यतातिर सोहोरिनु सान्दर्भिक छ ।
कांग्रेसको अहिलेको स्थितिले नेपाली राजनीतिमा राम्रो प्रभावलाई पुनस्र्थापित र निरन्तरता दिनसक्नेछैन, दिएन । यसमा जबर्जस्त परिमार्जन आवश्यक भइसकेको छ । सिद्धान्तमा परिमार्जन । संगठनमा परिवर्तन र पुनर्ताजगी । भावी अग्रणी इतिहास कायमको लागि समेत कांग्रेसले यतिबेला मागेको केन्द्रीय ध्येय हो भन्ने लागेको छ ।
कांग्रेस बचाउन प्रयत्न गर्नेहरुलाई यो समय निर्मम छ । तर, यही निर्मम चुनौती प्रयत्नशीलहरुको लागि अवसर पनि हो । असफल पुस्ताबीच घर्षण गरेर जीवन्त परिणाम निकाल्नु निर्मम चुनौती हो । महामन्त्री दुई र कांग्रेसको भविष्य बचाउन खोज्ने युवाले यो चुनौती पक्कै बुझेका छन् ।
ध्यान दिनुपर्ने कठोरता कांग्रेसमा युवाबीच नै बेमेल पनि हो । जहाँ आफूमात्रै हुने हाँडीघोप्टे र आहारिसे प्रवृत्तिका पात्र पनि छन् । यिनीहरु स्वार्थलाई हेरेर असफल तर अहिले पनि फल दिनसक्ने पदीय हैसियतमा रहेकाबाट ‘झर्ला र खाम्ला’ भन्ने दौडमा यताउता जतिबेला पनि लाग्ने गर्छन् ।
देखिएकै छ, अहिलेको पदासीन उपल्लो दर्जाका कांग्रेसी नेताले पद र स्वार्थको लागि सबै मान्यता तीलाञ्जलि दिएको प्रवृत्ति, संस्कार पनि । तहगत धेरै युवाले यस्तै प्रवृत्तिको पाठ पढेका छन् । यस्तो जोखिमबाट जोगिनुजत्तिकै खाँचो यिनलाई पर्गेल्नुमा पनि रहनेछ ।
प्रतिस्पर्धाको सौहार्द यात्रामा अद्भूत मिल्ती बीपीको युगपछि अहिले गगन, विश्वमा देखिएको छ । यसको भविष्य कति, कस्तो र कहाँसम्म सँगै रहला वा के, कस्तो परिणामदायी होला ? अथवा यो समूह मिल्तीको आकृति र ऊर्जा शक्ति कति ‘भोल्ट’मा निःसृत होला ? प्रतीक्षित जिज्ञासा छ ।
कांग्रेसभित्र उकुसमुकुसको प्रयत्न कांग्रेस सुधारको लागिमात्रै साँघुरो परिणाममा केन्द्रित हुने होइन । लोकतन्त्रको सुदृढीकरणको लागि हुनुपर्छ । देश र जनताको हितमा केन्द्रित हुनुपर्छ । नेपाली राजनीतिको समग्र घीन लाग्दो फोहरी स्वरुप र पहिचानलाई सफा गरेर उजिल्याउने परिणाममा अनुदित हुनुपर्छ । राजनीतिमा सिद्धान्त र व्यवहारको समायोजनको लागि हुनुपर्छ । समग्रमा देशको सुन्दर मुहार चित्र निर्माण गर्न केन्द्रित हुनुपर्छ ।
यिनै लक्ष्य प्रेरित उद्देश्यमा कांग्रेसको आन्तरिक संघर्ष मुखर रहने प्रत्याभूतिले महामन्त्री दुई र पौडेललाई साथ, सहयोग जुट्नेछ । सबैलाई विश्वासमा लिने प्रत्याभूतिको पहिलो सर्त सबैलाई समेट्नुमा नै छ । आफ्नै झुन्डको घेरा र लालसामा घेरियो तथा घोषित ध्येयमा प्रमाणित देखिएन भने यो पुस्ताले प्रदर्शन गरेको प्रत्यनसमेत पुस्ता नै सकिनेछ । बदनाम हुनेछ ।
कांग्रेस त्यो विन्दुमा पुगेको छ जहाँ असफल प्रवृत्तिसँग समर्पण गर्ने कि वा वैध विद्रोहको शक्तिले विकल्प स्थापित गर्ने र उज्यालो भविष्य कोर्ने ? साच्चै कांग्रेसको लागि यो समय कठोर छ ।