site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको प्रश्न– अमरेशले सरकारविरुद्ध बोल्दा अख्तियारमा उजुरी दिइयो, विपक्षीको मुख थुन्ने ? 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध बोल्दा अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी दिइएको भन्दै सरकारले विपक्षीको मुख थुन्ने काम गरेको आरोप लागाएका छन् ।

बिहीबार च्यासलमा पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले विपक्षीको मुख थुनेर भ्रष्टाचारको ढाकछोप नहुने बताए ।

“अमरेशले भ्रष्टाचारविरुद्ध बोल्यो भनेर अख्तियारमा उजुरी दिइयो,” ओलीले भने, “विपक्षीले भ्रष्टाचारको विरुद्धमा बोल्यो भने मुख थुन्ने ?”

Argakhachi Cement Island Ad

उनले अहिले पनि सरकारले विभिन्न नाममा भ्रष्टाचारका धन्दा चलाइरहेको आरोप लगाए । विगतदेखि एमाले भ्रष्टाचारको विरुद्धमा रहेको भन्दै उनले थप खरो रूपमा उत्रने समय आएको बताए ।

“पञ्चायतकालमा हामी शासनसत्ताको नजिक पनि पुग्दैनथ्यौँ । भ्रष्टाचार देख्थ्यौँ । तर, व्यवस्थाकै विरोधमा हामी केन्द्रित थियौँ,” ओलीले विगत सम्झँदै भने, “बहुदल आएपछि अनेक प्रकारका भ्रष्टाचार आउन थाले । कांग्रेसमा लागेबापत पैसा बाँड्न थालियो ।”

उनले आफूलाई पनि जेल बसेको भन्दै पैसा आएको तर फिर्ता गरेको बताए ।

“मलाई पनि ७५ हजार दिइएको थियो । त्यस बेलाको त्यो पैसाले यतैतिर पनि एक रोपनी जग्गा आउँथ्यो । अहिले पनि साँच्चै जाँच गर्ने हो भने त्यति बेला राहत बाँडिएकाहरू पीडित थिएनन् । मैले त्यो समितिको खातामा पैसा फिर्ता गरेको थिएँ,” उनले भने, “धेरैलाई त्यसरी पैसा बाँडिएको थियो । ०७५ हजारमा २५ हजार कमिसन आएर ५० हजार मात्र दिइन्थ्यो । तपाईंहरूले दिएको पैसा भ्रष्टाचारीहरूको लाइनमा उभिनुपर्ने देखेर मैले फिर्ता गरेँ ।”

उनले पछिल्लो समय त्यस्तै प्रकारका भ्रष्टाचारको स्वरूप देखिएको बताए ।

“पछिल्लो समयमा त अयोग्य लडाकुलाई बाँड्ने भनिएको छ । घाइते अपांगलाई बाँड्ने भनिएको छ । अनेक नाममा भ्रष्टाचार आइरहेका छन्,” उनले भने, “दुई लाख बाँड्ने भनेर सरकार उद्दत छ । बहिर्गमित लडाकुलाई बाँड्ने भनेर । माओवादीले एक लाख ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ राख्ने । राज्यको ढुकुटी रित्याएर व्यक्ति वा संस्थाले लिन मिल्छ ? त्यो भ्रष्टाचार होइन ?”

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्