
काठमाडौं । चलचित्र ‘डाकिनी’ नेपाली हलमा जेठ ५ गतेबाट रिलिज हुँदै छ । अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको या चलचित्रको नेपाली नाम डाकिनी हो ।
यसलाई केही नेपाली मल्टिप्लेक्स हलमा मात्रै रिलिज गरिनेछ । चलचित्रको ग्राण्ड प्रिमियरमा यो चलचित्रका निर्देशकसमेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) सहभागी हुनेछन् । उनी बौद्ध धर्मका गुरुसमेत हुन् । गुरु रिम्पोछेको यो पाँचौ फिल्म हो ।
रिम्पोछे अमेरिकाबाट नेपाल आउन लागेका हुन् । रिम्पोछेले पर्यटन बोर्डमा ‘ब्युटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास सञ्चालन गर्दै छन् ।
‘डाकिनी’को सबै छायांकन पाटन र पनौतीमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियालगायत नेपाली कलाकारले पनि अभिनय रहेको छ ।