
खरगोन । मध्य प्रदेशको खरगोन जिल्लामा मंगलबार एक निजी यात्रीवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।
सो दुर्घटना मंगलबार बिहान दसंगा क्षेत्रनजिकै डोंगरगाउँ पुलमा भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरिएको थियो ।
खरगोनका प्रहरी उपरीक्षक (एसपी) धरमवीर सिंहले भनेका छन्, “खरगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । उद्धार कार्य जारी छ ।”
प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई चार लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई २५ हजार भारु तत्काल उपलब्ध गराउने घोषणा गरेको छ । घटनाबारे अनुसन्धान जारी छ । रासस/एएनआई