
काठमाडौं । बुङमतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहनेछ । शुक्रबार बिहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो ।
निर्माण समूहले शुक्रबार बिहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ । निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने निर्माण पक्षले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइने निर्देशक गुरुङले जानकारी दिए । चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्ज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको श्रृंगार रहनेछ ।