‘अधिनायकवादी व्यवहारका प्रमुख चार सूचक’ शीर्षकमा स्टेवन लेविन्सकी र डेनियल जिबाल्टको पुस्तक ‘हाउ डेमोक्रेसिज डाई’ मा अधिनायकवादी शासकको उदयसम्बन्धमा विशद चर्चा गरिएको छ । अधिनायकवादीलाई कसरी चिन्ने भन्ने प्रश्नको उत्तरमा लेखिएको छ - '' १. कुनै राजनीतिकर्मीले वचन वा कर्मले खेलको लोकतान्त्रिक प्रक्रिया अस्वीकार गर्छ, २. विपक्षीको वैधता मान्यता दिँदैन, ३. हिंसालाई दुरुत्साहित गर्छ वा स्वीकार गर्छ र ४. सञ्चार माध्यमलगायत विपक्षीको नागरिक स्वतन्त्रतामा प्रतिबन्ध लगाउने चाहना व्यक्त वा सङ्केत गर्छ ।
यीमध्ये एउटामात्र मापदण्ड पूरा गर्ने राजनीतिकर्मी पनि सन्देहको पात्र बन्छ । कस्तो प्रकारको राजनीतिकर्मी अधिनायकवादको कसीमा जाँच्दा 'सकारात्मक' परिणाम निस्कन्छ ? धेरैजसो मूलधारको राजनीतिबाहिरको 'पपुलिस्ट राजनीतिकर्मी' अधिनायकवादी निस्कन्छन् । 'पपुलिस्ट'हरू जनताको आवाजको प्रतिनिधित्व गरेको दाबी गर्ने संस्थापनविरोधी राजनीतिकर्मी हुन् जो विपक्षीलाई भ्रष्ट र षड्यन्त्रकारी 'ठालु'का रूपमा चित्रण गर्छन् र तिनका विरुद्ध युद्धको घोषणा गर्छन् ।
'पपुलिस्ट'हरूले मूलधारका राजनीतिक दलहरूलाई अलोकतान्त्रिक र अराष्ट्रिय भन्दै तिनको वैधता नै अस्वीकार गर्न खोज्छन् । उनीहरु मतदातासँग विद्यमान शासन व्यवस्था वास्तविक लोकतन्त्र नभएर शासकहरूद्वारा अपहरण गरिएको वा भ्रष्ट पारिएको पद्धति हो भन्छन् । साथै उनीहरू शासकहरूलाई सखाप पारेर शासन शक्ति जनतालाई नै फर्काउने वाचा गर्छन् । पपुलिस्टले चुनाव जितेपछि तिनले धेरैजसो लोकतान्त्रिक संस्थामाथि प्रहार गर्छन् । उदाहरणका लागि ल्याटिन अमेरिकाको बोलिभिया, इक्वेडर, पेरु र भेनेजुयलामा सन् १९९० देखि २०१२ सम्ममा निर्वाचित १५ राष्ट्रपतिमध्ये पाँच जना पपुलिस्ट बाहिरिया थिए : अल्बर्टो फुजिमोरी, ह्युगो चावेज, एभो मोरालेस, लुसियो गुटेरेज र राफेल कोरिया । यी पाँचै जनाले लोकतान्त्रिक संस्थाहरू कमजोर बनाए ।''
अवचेतनमा पञ्चायत
‘अधिनायकवादी व्यवहारका प्रमुख चार सूचक’ दिइएको तालिकामा यी विषय स्पष्ट पार्ने थप प्रश्नहरू गरिएको छ । ती प्रश्नलाई कसीका रूपमा प्रयोग गर्ने हो भने अहिले देखिएका सबै दलका नेतामा केही न केही गुण देखिन्छ । यसको अर्थ हुन्छ - अधिनायकवादी मनोकांक्षाबाट अहिलेका प्रायः सबै नेता ग्रस्त छन् । स्वाभाविकै पनि होला कारण ठूला भनिएका सबै दलका शीर्ष नेता पञ्चायत भोगेर हुर्केका हुन् । तिनको अवचेतनमा पञ्चायती शासन हुनु अस्वाभाविक होइन ।
अहिले चर्को स्वरले 'पुराना पार्टी'को विरोध गर्नेहरू धेरै अधिनायकवादी शासनको दमन नभोग्नेहरू नै छन् । तिनलाई लोकतन्त्रका प्रति खासै मोह नहुनु पटक्कै आश्चर्यको विषय होइन । तत्कालीन राजा ज्ञानेन्द्रको शासनका दिनहरूमा पनि दमन त मूलतः नेपाली कांग्रेसका केही कार्यकर्ता र माओवादीले न भोगेका हुन् । अहिले कांग्रेसमा भएकै केही त सत्ताको नजिक पुगेका थिए । उतिबेलाको नेपाली कांग्रेस (प्रजातान्त्रिक) सत्तामै गएको थियो । एमाले पनि सरकारमै पुगेको थियो । यसैले पछिल्लो अधिनायकवादी दमन भोगेकाहरूसमेत अहिले अल्पसङ्ख्यामा परिसकेका छन् ।
बालेन वा रविलाई धाप मार्नेहरूमा प्रतिगमनको सपना देख्ने अनुहार धेरै नै देखिन्छन् । अर्कातिर समर्थकहरूको ठूलो समूह यिनीहरूबाट समाज अगाडि बढ्ने सपना देख्छन् । विदेशमा बसेर अर्ती, उपदेश दिने र क्रान्तिकारी गालीपुराण बक्नेहरूको आफ्नै रोइलो छ । दोहोरो नागरिकता अमान्य हुने पछिल्लो निर्णयले कतै पैत्रिक सम्पत्ति गुम्ने त होइन भन्ने झस्को मनमा पसेको छ । अनि नेपाल सम्झन्छन् बेलाबेला ।
रवि लामिछानेलाई समर्थन गर्ने अर्को जमातका लागि भने दोहोरो नागरिकता र अधिकार 'राष्ट्रघात' लाग्छ । मधेसमा जन्मेका वा बाबु वा आमामध्ये एक नेपालीका सन्तानले नागरिकता पाउँदा नेपालै समाप्त हुने ठान्छन् । रास्वपाका वाचाल सांसदहरूले यस्ता विषयमा पार्टीको धारणा स्पष्ट पारेको सुनिएको छैन । यस्तै, अर्थतन्त्रका बहसमा पनि उनीहरू मौन नै छन् । खुद्रा मसिना प्राविधिक विषयबाहेक अरूमा तिनको बोली फुट्न गाह्रै छ ।
लोकतन्त्रको बदख्वाइँ !
खुसीको कुरा कम्युनिस्ट वा दक्षिणपन्थी कट्टरवादीप्रति जनता आकर्षित भएनन्। चिन्ताको विषय राजनीतिक प्रतिबद्धता र स्पष्टता नभएको 'पपुलिस्ट' नाराप्रति मतदाता एकोहोरिन थाले ।
पहिले सबै लोकतान्त्रिक संस्था र लोकतन्त्रका लागि सङ्घर्ष गरेका नेताहरूको साख समाप्त पार्ने । त्यसपछि लोकतान्त्रिक प्रक्रिया, विधि र अभ्यासको विश्वसनीयतामा प्रहार गर्ने र अनि अन्ततः लोकतन्त्र नै गलत पद्धति हो भन्ने । यसले अहिले रजगज गरिरहेको वर्गको हित रक्षा हुन्छ ।
त्यसपछि लोकतन्त्रमाथि नै प्रहार गर्ने 'मिसन' बनाएरै लागेकाहरू सायद अब दोस्रो चरणमा प्रवेश गर्दैछन् ।
लोकतान्त्रिक पृष्ठभूमिका दलहरू कमजोर हुँदा के हुन्छ भन्ने उदाहरण त भारतमा देखिइसकेको छ । भारतीय राष्ट्रिय कांग्रेस कमजोर भएपछि संसारमै स्वतन्त्र र निर्भीकमध्येको मानिने त्यहाँको प्रेस 'गोदी मिडिया' बनेको छ । कांग्रेसका पछिल्ला पुस्ताका नेताको आचरण पनि पूरै लोकतान्त्रिक थिएन । तर, तिनको शासनमा प्रेस आतङ्कित भएको थिएन । नेपालमै पनि कांग्रेसको वा कांग्रेससमेतको सरकार हुँदा र नहुँदाका सञ्चार सामग्रीको विश्लेषण गरे यसको उदाहरण पक्कै देखिनेछ ।
भ्रामक भाष्य निर्माण
'देश कुनै एक जनाको आर्जन हो । कसैको पूर्खा कुनै दिन शासक भएकाले सधैँ तिनैले शासन गर्नुपर्छ । राष्ट्रियता भनेको ढुंगामाटो हो । बहुसङ्ख्यक जनताले होइन सीमित कुलीनहरूले मात्र राष्ट्र जोगाउन सक्छन् । लोकतन्त्र देश र जनताका हितमा छैन । पञ्चायतमा विकास भएको थियो र लोकतन्त्रपछि केही भएन ।' कुनै तथ्य वा तर्कले पुष्टि नगर्ने र आँखाले देखेको यथार्थलाई समेत झुटो बनाउन खोज्ने यस्तै अनर्गल भाष्य अहिले स्थापित गरिएको छ ।
यस्तै, 'वैदेशिक रोजगारीमा जानु राम्रो होइन । विदेश जाने सबै बाध्य भएर गएका हुन् । उनीहरूलाई रोजगारी सरकारले उद्योग खोलेर दिनुपर्थ्यो । नेताहरूले भ्रष्टाचार गरेकाले बजारमा महँगी बढेको हो । रवि वा बालेनहरूसँग जादूको छडी छ र तिनले जनताको मत पाएकाले विधिको सम्मान नगरे पनि हुन्छ ।' यस्तै भाष्य गाउँगाउँसम्म स्थापित गर्न खोजिएको छ ।
चिन्ताको विषय अहिले कथित पढेलेखेका भनिएकाहरू नै भ्रम फैलाउन र त्यसलाई पत्याउन अभिशप्त देखिएका छन् । जनताले पत्याउन थाल्नु कुन आश्चर्य भयो र ? भ्रमलाई सही ठान्नेहरूमध्ये अधिकांश लहैलहैमा लागेका हुन् र तिनको आँखा खुल्न सक्छ । तर जानाजान भ्रम फैलाउने ध्येयबाटै परिचालित भएकाहरू त लागिरहने नै भए ।अनर्गल प्रचार नेपालको राजनीतिमा नौलो होइन । प्रायः संस्थापनको हितका लागि त्यस्ता भ्रम फैलाइने गरेको हुन्छ ।
अहिलेको कांग्रेस संस्थापनकै अङ्ग बनेको छ । तर पहिले नेपाली कांग्रेस विद्रोहको पर्याय थियो । त्यसैले संस्थापनको प्रहार कांग्रेसविरुद्ध भइरह्यो । 'कांग्रेसले गाई काटेर खान्छ' भन्नेदेखि 'धर्मकर्म लोप गर्छ' भन्ने नरहरि नाथहरू । 'कांग्रेसले देश बेच्छ' भने मूर्ति चोरहरूले । उतिबेला पनि केहीले केही बेर पत्याउँथे । ती प्रायः अशिक्षित थिए ।
विडम्बना, यस्तो भाष्य स्थापित गर्न लोकतन्त्र विरोधी पृष्ठभूमिका पूर्वकर्मचारी, सञ्चारकर्मी, उद्यमी, व्यापारी, शिक्षकलगायत समाजमा प्रबुद्ध देखिने वर्गका सदस्यहरूसमेत संलग्न छन् । एकथरी त राजनीतिकर्मीको आवरणमा मैदानमै उत्रेका छन् । यी कसैमा पनि लोकतन्त्रप्रति भावनात्मक लगाव छैन । चिन्ताको विषय यही हो । सोझै भन्न सक्तैनन् लोकतन्त्र खराब भनेर । अनि लोकतान्त्रिक विधि, अभ्यास, पात्र, संस्था सबैको उछित्तो काडेर मनसुवा पूरा गर्छन् ।
प्रक्रिया आवश्यक वा महत्त्वपूर्ण होइन परिणाम भए पुग्छ भन्ने मान्यता देङको बिरालो कालो वा सेतो जस्तो भए पनि मुसा मारे पुग्छ भन्ने भाष्यकै प्रतिविम्ब हो । यो लोकतान्त्रिक मान्यता होइन । अधिनायकवादकै अर्को रूप हो । के यस्तै शासन, चरित्र र प्रवृत्ति खोजिएको हो ?
खोजी भएकै हो त अधिनायकको ? छाँटकाँट त त्यस्तै देखिन्छ ।