काठमाडौं । स्वर्णिम वाग्लेको ‘लण्डन स्कुल अफ इकोनोमिक्स’को स्नातक र ‘हार्वर्ड विश्वविद्यालय’बाट अन्तर्राष्ट्रिय विकासमा गरेको स्नातकोत्तरको डिग्री नेपाली जनताबाट पनि अनुमोदन भएको छ ।
उनको एसएलसीको ‘बोर्ड सेकेन्ड’देखि अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा गरेको विद्यावारिधी पनि तनहुँ–१ का मतदाताबाट अत्यधिक मतले पारित भएको छ ।
उपचुनावको उमेदवारी दर्ताको दिन चैत २० गते कांग्रेस महामन्त्री गगन थापाले दमौली पुगेर एउटा राजनीतिक बहसको उठान गरेका थिए– ‘देश निर्माणका लागि विदेशमा पढेका व्यक्ति योग्य हुन् कि विदेश पढ्ने अवसरको खोजी नगरी देशमै बसेर लोकतन्त्रका लागि लडेका ?’
त्यसपछिको दुईसाता देश–विदेशका पढेलेखेका व्यक्तिहरू दुई कित्तामा बाँडिएका थिए । करिब तीन सातासम्म संसारभरि छरिएका नेपालीबीच यो बहस चलेको थियो ।
देश निर्माणमा विदेश पढेका व्यक्ति योग्य देख्नेहरू स्वर्णिम वाग्लेको पक्षमा देखिए ।
अनि लोकतन्त्रका लागि इमान्दारीपूर्वक लड्नुमात्रै राज्यसत्ताको नेतृत्व गर्न पर्याप्त योग्यता हो भन्ठान्नेहरूले स्वर्णिमको तीव्र आलोचना गरे ।
अनि तनहुँ–१ का कांग्रेस उमेदवार गोविन्द भट्टराईलाई समर्थन गरे ।
गगनको अभिव्यक्तिको बचाऊ गरे । यो बहसको २० दिनपछि तनहुँ–१ का मतदाताले निर्णय दिए– स्वर्णिमको पक्षमा ।
उपनिर्वाचनमा कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार बनेका उनी अत्यधिक मतसहित विजयी भएका छन् ।
चुनावमा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालसहित आठ जना पराजित भएका छन् ।
राजनीतिक छवि नभएका पूर्वप्रहरी महानिरीक्षक खनालले एमालेको शक्तिभन्दा निकै कमजोर मत पाए । सायद् खनालको विवादित विगतको दण्ड एमालेले राम्ररी पाएको छ ।
कांग्रेस महामन्त्री गगन थापा तनहुँ–१ का उमेदवार थिएनन् । उनी पार्टीले आफ्ना उमेदवार जिताउन खटाएका ‘कमाण्डर’ थिए ।
स्वर्णिमसँगको उनको विगतको सानिध्यता हेर्दा यो जिम्मेवारी स्वीकार्नु एउटा राजनीतिक भूल थियो ।
अझ व्यक्तिगतरूपमै आक्षेप लाग्ने गरी आमसभामा बोल्नु गल्ती थियो । यसै कारण उनी उमेदवार नभए पनि उनले नै हारेजसरी आम रूपमा सन्देश प्रवाह भएको छ । यो गगनको राजनीतिक भविष्यका लागि अशुभ संकेत हो ।
गगन सडकबाट आन्दोलन गर्दागर्दै नेता भएका हुन् । उनी कसैले तानेर होइन, संस्थापनसँग जुधेर नेता भएका हुन् । त्यसैले पार्टीबाहिरको लोकतान्त्रिक जमात उनको सबैभन्दा ठूलो शक्ति थियो । पार्टीभित्रको तल्लो तप्काबाट पाएको समर्थनले उनलाई महामन्त्री बनाएको थियो ।
अहिले सत्तामा रहेको पार्टीभित्र ‘दाइ–भाउजू समूह’ भनेर आलोचित कांग्रेसको संस्थापन पक्षले त गगनको हारका रूपमा प्रचार गर्ने नै भयो ।
किनकि, सो क्षेत्रको चुनावी कमाण्डर बनाएर गगनलाई खटाउनुको अन्तर्निहीन उद्देश्य नै त्यही थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
कांग्रेसका महामन्त्री गगन थापाले विदेश पढेर आएका कुशल अर्थशास्त्री डा. स्वर्णिम वाग्लेतर्फ लक्ष्यित गर्दै गोविन्द भट्टराईको उम्मेदवारी दर्तापछिको चुनावी सभालाई सम्बोधन गर्दा भनेका थिए, “मैले विदेशमा बसेर यो गरेर आएको, यत्तिको जागिर छोडेर आएको भन्नुहुन्छ भने मलाई भन्न मन लाग्छ– मैले त जागिर नखाएको, तिमिले त खाएर छोडेर आएको । मलाई त भन्न मन लाग्छ– तिमी त जागिर खाएको, घर बनाएको, पेन्सन पकाएको अनि आएको हो । म त त्यो बेलामा सडकमा लडेर बसेको हो, छातीमा ढुङ्गा खाएर बसेको हो। (विदेश) जान नसक्ने भएर होइन, जाने क्षमता नभएर होइन ।”
यो सम्बोधनको भिडियो अहिले पनि सामाजिक सञ्जालभरि बजिरहेको छ ।
चैतको डढेलो फैलिए जसरी सामाजिक सञ्जालमा फैलिएको यो भिडियोले उनको साख घटाएको छ । सामाजिक सञ्जालमा आएका गाली हेर्दा लाग्छ– त्यो साख छिटै फर्किन मुस्किल हुनेछ ।
उपचुनावबाट गगनप्रति सहानुभूति राख्ने कांग्रेसबाहिरका लोकतन्त्रवादी समूह उनीसँग चिढिएका छन् ।
अनि विगतमा गगनलाई साथ दिँदै आएको प्रबुद्ध वर्गले उपचुनावमा स्वर्णिमलाई समर्थन जनाएको छ । गगनको निन्दा पनि गरेको छ ।
अहिले गगनको निन्दा गर्ने वर्ग त्यही हो, जो हिजोदेखि उनको भलो चिताउँथ्यो । त्यसैको बलमा कांग्रेसभित्र उनलाई स्थापित हुन सहज हुन्थ्यो ।
काठमाडौं महानगरको चुनावमा वालेन साहको समर्थन जनाएको पछिल्लो पुस्ताले पनि गगनको भूमिकाप्रति असन्तोष देखाएको छ ।
अनि स्वर्णिमसँग निकटतम प्रतिद्वन्द्वी भएर फराकिलो मतान्तरले पराजित भट्टराईलाई भन्दा कयौँ गुणा बढी गगनलाई क्षति गरेको छ ।
विगतमा कांग्रेसभित्र वैकल्पिक नेतृत्वको आशामा गगनप्रति सहानुभूति राख्ने समूह अहिले कांग्रेस पार्टीकै विकल्प खोज्ने ठाउँमा पुगेको छ । यसको असर कांग्रेस पार्टीको भावी राजनीतिमा समेत पर्नसक्छ ।
गत निर्वाचनमा कांग्रेसको चुनावी घोषणापत्रका मुख्य मस्यौदाकार थिए– अर्थशास्त्री वाग्ले । उनले उमेदवारी दर्ताको तीन दिनअघि मात्र कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीको उमेदवार बनेका थिए ।
कांग्रेसका उमेदवार बनेर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले छ पटक संसदीय चुनाव जितेको र ०७४ सालमा एकपटक मात्र एमालेसँग हारेको क्षेत्रबाट भारी मतान्तरले स्वर्णिम विजयी भएका छन् । कांग्रेसले पाँच महिनाअघि आफूले जितेको सिट गुमाएको छ । एमालेले पनि विगतमा जितेको क्षेत्रमा जन–समर्थन गुमाएको छ । कमजोर तेस्रो भएको छ ।
उपचुनाव कि ‘मिनी–जनमतसंग्रह’ ?
अहिलेको १६५ मध्ये तीनवटा क्षेत्रमा मात्र उपचुनाव भएको हो तर यसप्रतिको चासो देशव्यापी रह्यो ।
पाँच महिनापछि भएको यो चुनावलाई यस अर्थमा ‘मिनी–जनमतसंग्रह’का रूपमा हेरियो कि विशेषतः नेपाली कांग्रेसले यसलाई जीवन–मरणको विषय बनायो ।
उपचुनावमा पनि कांग्रेसले नेकपा (माओवादीकेन्द), जसपा, नेकपा (एस), लोसपासँग गठबन्धन ग¥यो, जुन आवश्यक थिएन ।
यो चुनावको परिणामबाट प्राप्त हुने संख्याले संसदीय अंकगणितमा फेरबदल हुँदैनथ्यो तर पनि प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधव नेपाल, बाबुराम भट्टराई प्रतिपक्षी दलका उमेदवार हराउन समूह बनाएर चुनाव प्रचारमा गए ।
अनि तीनवटा क्रान्ति गरेको र साढे सात दशकको इतिहास बोकेको दाबी गर्ने कांग्रेस, अहिलेको परिवर्तन आफ्नो तागतले मात्र भएको दाबी गर्ने माओवादी–जसपा–लोसपा सबै मिल्दा पनि, पद र राज्यशक्तिको दुरुपयोग गर्दा पनि एक वर्ष पनि नपुगेको एक्लै लडेको कान्छो पार्टीका उमेदवारसँग पराजित भएका छन्– गठबन्धनका उमेदवार ।
चुनाव प्रचार गर्न हिँडेका प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए– तपाईं चुनाव जिताएर पठाइदिनुस्, म मन्त्री बनाइदिन्छु ।
कांग्रेस सभापति देउवाले पनि त्यही आश्वासन दोहो¥याए । यदि यो देशको निर्वाचन आयोगमा पनि भारतका चर्चित निर्वाचन आयुक्त टीएन सेसनजस्तो व्यक्तित्व भइदिएको भए क–कसको उमेदवारी रद्द हुन्थ्यो, को–को दण्डित हुन्थे ? यो कल्पनामात्र गर्न सकिने विषय हो ।
प्रधानमन्त्रीसहितको सत्तारुढ गठबन्धनका पूर्वप्रधानमन्त्रीहरू दमौली गए, भरतपुर पनि गए ।
अनि बाराको गढीमाई पनि पुगेर संयुक्त रूपमा आश्वासन बाँडे– हाम्रो उमेदवार जिताएर पठाइदिनुस्, मन्त्री बनाइदिन्छौँ, यो क्षेत्रको विकास गरिदिन्छौँ । त्यसका बाबजुद उनीहरूका उमेदवार पराजित हुनु भनेको उनीहरूको पराजय हो ।
उपचुनाव भएका तीन क्षेत्रमध्ये पाँच महिनाअघिको चुनावमा तनहुँ–१ कांग्रेसले, बारा–२ जसपाले र चितवन चाहिँ रास्वपाका अध्यक्ष रवि लामिछानेले स्वयम्ले जितेको क्षेत्र हो ।
कांग्रेसले आफ्नो क्षेत्र जोगाउन सकेन । जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताउन बारामा शक्तिको दुरुपयोग गरेको आरोप सत्ता–गठबन्धनकै जनमत पार्टीका अध्यक्ष सीके राउतले लगाएका छन् ।
चितवनमा भने रास्वपा अध्यक्ष रवि लामिछानेको वर्चश्व कायमै रहने देखिन्छ । उपचुनावलाई ‘मिनी–जनमतसंग्रह’ मान्ने हो मंसिर ४ को जनमत फेरबदल भइसकेको देखिन्छ ।
अहिलेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल दुवैले आफ्नो स्थान गुमाएको देखिन्छ । पुराना राजनीतिक दललाई नयाँले प्रतिस्थापन गर्दै गएका छन् ।
राजनीतिक नैतिकता हुने हो भने यसले मुख्य दलका नेतृत्वको राजीनामाको माग गर्दछ । अनि सत्तारुढ दलले जनमत गुमाएका कारण नयाँ जनादेशको समेत माग गर्दछ, जुन आर्थिक रूपमा जर्जर हुँदै गएको देशको अहिलेको आवश्यकता होइन ।
कांग्रेस–एमालेसामु चुनौतीका पहाड
सामान्यतः उपचुनावको परिणाम सत्तारुढ दलको पक्षमा जानुपर्ने हो किनकि सत्तरुढ दलले जितेमा क्षेत्रमा अवसर प्राप्त हुनछ भनेर ।
तर, उपचुनावको परिणामले विपरीत सन्देश दिएको छ– सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले दुवैप्रति जनताको आकर्षण छैन ।
परिस्थितिमा कुनै ‘मिराकल’ नभएमा कांग्रेस–एमाले दुवै दललाई आगामी चुनावको सबैभन्दा चुनौती रास्वपा नै हो ।
उपचुनावमा एउटा पनि क्षेत्रमा उमेदवारसम्म नउठाएका नेकपा (माओवादीकेन्द्र), नेकपा (एस), लोसपाको त आगामी निर्वाचनसम्म पुग्दा अस्तित्व नै लोप हुने खतरा बढेको छ ।
०७४मा एमालेले र ०७९मा कांग्रेसले अस्तित्व जोगाइदिएको माओवादीलाई आगामी चुनावमा यी दुवै दलले जोगाउनसक्ने अवस्था हुने छैन भन्ने तनहुँको परिणामले देखाएको छ ।
गत मंसिरको निर्वाचनपछि कांग्रेस–एमाले दुवै दलले राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मतबारे टिप्पणी गरेका थिए– “त्यो ‘नो भोट’ हो, पानीको फोकाजस्तै अर्को चुनावसम्ममा हराएर जान्छ ।”
उपचुनावको परिणामले देखाएको छ– राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आशा घटेको छैन । स्वर्णिमको विजयले देखाएको छ– यसको ‘क्रेज’ कायम छ । योप्रतिको आकर्षण बढेको छ ।
आगामी दिनमा लोकप्रिय र विद्वत् छवि भएका कांग्रेस–एमालेका कार्यकर्ता पेलिएर पनि त्यहीँ खुम्चिएर बस्ने छैनन् ।
‘कम्युनिष्ट’ नामका कारण एमाले बन्न नसकेका उदार प्रजातन्त्रका पक्षधर कांग्रेसलाई आकर्षक वैकल्पिक लोकतान्त्रिक पार्टी तयार भएको छ । ठूलो नेताको चेपुवामा परेर अवसरबाट बञ्चित भइरहेका एमालेको तेस्रो पुस्ताका लागि पनि विकल्पको ढोका खुलेको छ ।
मंसिरको चुनावमा चितवन–१ मा सुरेन्द्र पाण्डेलाई पराजित गरी जित्ने हरि ढकाल वा रुपन्देही–२ मा विष्णु पौडेलसँग प्रतिस्पर्धी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दुवै एमाले पृष्ठभूमिका युवा थिए ।
एमालेभित्र अवसर नआउने देखेपछि जोखिम मोलेर रास्वपाबाट चुनाव लडेका थिए । मतदाताबीच आकर्षण गुमाउँदै गएको मधेशको क्षेत्रीय शक्ति जसपालाई जनमत पार्टीले प्रतिस्थापन गर्ने खतरा उपचुनावको परिणामले देखाएको छ ।
अनि कांग्रेस र एमालेले पनि पार्टीलाई पुनर्संगठित गरी आन्तरिक लोकतन्त्रको अभ्यास नगर्ने हो भने आगामी दिन सहज हुने छैन ।